परीक्षा पास भएपछि मात्रै अभिकर्ताको लाइसेन्स पाइने



काठमाडौं । बीमा समितिले लिएको परीक्षा पास भएपछि मात्रै बीमा अभिकर्ताको लाइसेन्स पाइने भएको छ । अभिकर्ताको परीक्षा अनलाइनमाध्यमबाट लिने तयारीमा बीमा समिति जुटेको हो ।

गुणस्तरमा ध्यान दिन अभिकर्ताको लाइसेन्स वितरणमा परीक्षा प्रणाली लागू गर्ने तयारी गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

उनकाअनुसार समितिले निश्चित समयको तालिम लिन्छ । समय १ घण्टाको हुने गरी तयारी गरिएको छ । परीक्षामा सामेल भएकाहरूमध्ये उत्तीर्ण हुने परीक्षार्थीलाई लाइसेन्स दिइने उनको भनाइ छ ।

‘गुणस्तरमा ध्यान दिँदै परीक्षा पास भएकालाई मात्रै लाइसेन्स दिन लागिएको छ,’ पौडेलले क्लिकमाण्डूसँग भने,‘परीक्षा अनलाइन माध्यमबाटै हुन्छ । र, नतिजा पनि अनलाइनबाटै हुन्छ ।’ उनले अनलाइनमाध्यमबाट परीक्षा लिनका लागि समितिले सफ्टवेयर निमार्ण गरिरहेको जानकारी दिए । निमार्णाधीन सफ्टवेयर सञ्चालनमा आएपछि परीक्षा लिई लाइसेन्स दिन शुरू गरिने उनको भनाइ छ ।

हाल अभिकर्ताको लाइसेन्स लिन इच्छुक व्यक्तिले कम्पनीले लिएको तालिममा सहभागी हुन सक्छन् । तालिममा सहभागी भएकाहरूलाई लाइसेन्स दिनका लागि कम्पनीले समितिमा सिफारिस गर्छन् । कम्पनीले सिफारिस गरेका व्यक्तिलाई समितिले लाइसेन्स वितरण गर्छ ।

कम्पनीहरूको सिफारिसमा समितिले लाइसेन्स वितरण गर्न थालेपछि यसको दुरूपयोग हुन थालेको सरोकारवालाहरू बताउँछन् ।

पछिल्लो समय जीवन बीमामा विकृतिका घटना देखिन थालेका छन् । केही घटनाहरूमा अभिकर्ता पनि संलग्न भएका छन् । बजारमा दक्ष अभिकर्ता ल्याउनका लागि परीक्षा प्रणाली लागू गर्न खोजिएको समितिको भनाइ छ ।

बीमा समितिद्वारा जारी बीमकले संचालन गर्ने बीमा अभिकर्ताको तालिम निर्देशिका, २०७२ अनुसार बीमकले संचालन गर्ने तालिमको अवधि कम्तिमा ७२ घण्टा हुनुपर्ने उल्लेख छ ।

यस्तै, कृषि बीमाअन्तर्गत कृषि प्राविधिकहरूका लागि १ दिने तालिम कम्तीमा ५ घण्टा संचालन गर्नुपर्ने निर्देशिकाले व्यवस्था गरेको छ ।

बीमा ऐन २०४९ का अनुसार बिमा अभिकर्ता भन्नाले बीमकको तलबी कर्मचारी नभइ कमिसनको आधारमा बीमकको तर्फबाट काम गर्ने इजाजतपत्र प्राप्त व्यक्ति सम्झनुपर्छ । बीमा बिक्री गर्ने व्यक्ति अभिकर्ता हुन् ।

बीमा ऐनअनुसार कम्तीमा एसएलसी वा सो सरह परीक्षा उत्तीर्ण गरेको र समिति वा समितिबाट मान्यता प्राप्त गरेको संस्थाले बीमा अभिकर्ताको लागि संचालन गरेको सम्बन्धित बीमा व्यवसायसम्बन्धी तालिममा सहभागी भई प्रमाणपत्र प्राप्त गरेकाले बीमा अभिकर्ताको इजाजतपत्रको लागि निवेदन दिन सक्ने व्यवस्था छ ।

बीमा अभिकर्ता तथा सर्भेयरहरूको इजाजतपत्र प्रत्येक चैत मसान्तभित्रमा नवीकरण गरिसक्नु पर्ने कानूनी व्यवस्था छ ।

म्यादभित्र कुनै सर्भेयर वा अभिकर्ताहरूले आफ्नो इजाजतपत्र नवीकरणको लागि निवेदन दिन नसकेको कारण खुलाई समितिको कार्यालयमा निवेदन दिएमा नवीकरणको म्याद नाघेको पहिलो दुई महिनासम्म र त्यसपछिको ४ महिनासम्म थप दस्तुर तिरी नवीकरण गर्न सक्ने व्यवस्था छ ।

सर्भेयरहरूको म्याद नाघेको पहिलो २ महिनासम्म ५ सय रूपैयाँ र त्यस पछिको ४ महिनासम्मको लागि प्रति दिन ५० रूपैयाँ थप दस्तूर लिई त्यस्तो इजाजतपत्र नवीकरण गरिदिन सक्ने व्यवस्था छ ।

यस्तै, म्यादभित्र कुनै बीमा अभिकर्ताले आफ्नो लाइसेन्स नवीकरणको लागि निवेदन नदिएमा नवीकरणको म्याद नाघेको पहिलो २ महिनासम्मको १ सय रूपैयाँ र त्यसपछिका ४ महिनासम्मको लागि प्रतिदिन ५ रूपैयाँ थप दस्तुरसहित निवेदन दिनसक्नेछन् ।


क्लिकमान्डु