निक्षेपमा बढी ब्याज दिएपछि एनआइसी एशियालाई बैंकर्स संघको चेतावनीपत्र



काठमाडौं । तोकिएको भन्दा बढी ब्याज दिएपछि बैकर्स संघले एनआईसी एशियालाई स्पष्टिकरण सोधेको छ ।

संघले बिहीबार एनआईसी एशिया बैंकलाई पत्र पठाएर नियमविपरित तोकिएको भन्दा बढी ब्याजदर लिएकोमा आपत्ति जनाएको हो । अहिले बैंकहरुले व्यक्तिगततर्फ एक वर्षको मुद्दती निक्षेपमा ११.०३ प्रतिशत र संस्थागततर्फ ९.०३ प्रतिशत ब्याजदर दिने गर्छन् ।

रेमिट्यान्स खाता अन्तर्गत १२.०३ प्रतिशत ब्याजदर दिन पाउने व्यवस्था छ । बैंकर्स संघले नै भद्र सहमति गरेर ब्याजदर निर्धारण गरेको हो।

एनआईसी एशिया बैंकले केही व्यक्तिको निक्षेप १३.०३ प्रतिशतमा उठाएको प्रमाणसहितको उजुरी संघमा परेको थियो । संघले यसरी नियमविपरित निक्षेप उठाउने हो भने सदस्य बैंकहरुले एनआईसीसँग अन्तरबैंक कारोबारसमेत नगर्ने चेतावनी दिएको छ ।

‘नियमविपरित बढी ब्याजदर दिएर निक्षेप तानेर अस्वस्थ प्रतिस्पर्धा गर्ने बैंकसँग अरु सदस्य बैंकले अन्तर बैंक लगायत किन कारोबार गर्ने भन्दै पत्र पठाएका छौं ?’ स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

एनआइसी एशिया बैंकका सीइओ रोशन न्यौपाने बैंकर्स संघको कार्यसमिति सदस्यसमेत छन् । कार्यसमितिमै भएको बैंकले भद्र सहमति तोडेपछि एनआइसी एशियासँग अन्य बैंक रिसले चुर भएका हुन् ।

यसअघि बैकर्स संघ र एनआईसी एशियाबीच २०७४ साल चैतमा पनि विवाद भएको थियो । त्यो बेला संघको पूर्णबैठकले एनआईसी एशिया बैंकसँग कुनैपनि कारोबार नगर्ने निर्णय गरेको थियो ।

२०७४ सालको चैतमा संघ बचतमा ८ प्रतिशतसम्म र मुद्दति निक्षेपमा ११ प्रतिशतभन्दा बढी ब्याज प्रदान नगर्ने सहमति गरेका थिए । तर, संघको निर्णयविपरित एनआइसी एशिया बैंकले बचतमा १० प्रतिशत र मुद्दतिमा १२ प्रतिशत ब्याज दिने योजना सार्बजनिक गरेको थियो । त्यो बेला संघको अध्यक्ष ज्ञानेन्द्र ढुंगाना थिए ।

एनआईसी एशियाले भद्र सहमतिविपरित ब्याजदर प्रकाशित गरेपछि संघको बैठकमा केही सीइओले १८ प्रतिशतसम्ममा ब्याजदर दिएर निक्षेप उठाउने चेतावनी दिएका थिए । संघका सदस्यले अन्तरबैंक कारोबार नगर्ने सहित बहिष्कार गर्ने धम्की दिएपछि एनआईसी एशिया बैंक ब्याक भएको थियो ।


क्लिकमान्डु