एक महिनामै साढे ७ अर्बको खाद्यान्न, तरकारी र फलफूल आयात



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै नेपालले साढे ७ अर्ब रुपैयाँको खाद्यान्न, तरकारी र फलफूल आयात गरेको छ।

भन्सार विभागको तथ्याङ्कअनुसार साउन महिनामा मात्रै नेपालले ७ अर्ब ३८ करोड ९८ लाख २६ हजार रुपैयाँको १६ करोड १९ लाख ३७ हजार केजी खाद्यान्न, तरकारी तथा फलफूल आयात गरेको हो ।

गत वर्षको सोही अवधिमा नेपालले १२ अर्ब ६२ करोड ८ लाख रुपैयाँको २९ करोड ६३ लाख ८६ हजार केजी खाद्यान्न, तरकारी तथा फलफूल आयात गरेको थियो ।

नेपालले साउन महिनामा ३ अर्ब ५९ करोड ४० लाख रुपैयाँको ७ करोड ९१ लाख ४० हजार केजी खाद्यान्न आयात गरेको छ ।

आयात भएको खाद्यान्नमध्ये नेपालले सबैभन्दा बढी धान तथा चामल आयात गरेको छ । नेपालले साउन महिनामा मात्रै २ अर्ब ४२ करोड ५८ लाख ६५ हजार रुपैयाँको ४ करोड ८४ लाख ३० हजार केजी धान तथा चामल आयात गरेको छ ।

त्यसैगरी, नेपालले १ अर्ब ११ करोड ५३ लाख रुपैयाँको मकै र ५० करोड ४० लाखको कोदो, १४ करोड २१ लाख रुपैयाँको जौ आयात गरेको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

चालु आर्थिक वर्षमा गहुँ आयात हुन नसक्दा खाद्यान्न आयात करिब ५० प्रतिशतले घटेको देखिन्छ । भारत सरकारले गत जेठबाट गहुँ निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालले आयात गर्न सकेको छैन । भारत सरकारले युक्रेन र रुसबीचको युद्धका कारण गहुँको मूल्य अचाक्ली बढेको र बजारमा कालोबजारी हुन सक्ने भन्दै सरकारको खाद्य सुरक्षाको लागि निर्यात बन्द गरेको थियो ।

भारत सरकारले गहुँ निर्यात बन्द गरेसँगै नेपालले आयात गर्न सकेको छैन । जसले गर्दा खाद्यान्न आयात निकै कम भएको तथ्याङ्कले देखाउँछ । नेपालले गत वर्षको सोही अवधिमा ६ अर्ब ७० करोड ९७ लाख २४ हजार रुपैयाँको १८ करोड २२ लाख ९२ हजार ५२३ केजी खाद्यान्न आयात गरेको थियो ।

साथै,सो अवधिमा ५५ करोड ४२ लाख रुपैयाँको १ करोड ८६ लाख ७ हजार केजी गहुँ आयात गरेको थियो । तर, यो वर्ष नेपालले एक केजी पनि गहुँ आयात गर्न सकेको छैन ।

साढे २ अर्बको तरकारी आयात

नेपालले साढे ३ अर्बको खाद्यान्न आयात गर्दा २ अर्ब ४६ करोड १९ लाख ८२ हजार रुपैयाँको ५ करोड ८१ लाख ९ हजार केजी तरकारी आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

सो अवधिमा ६७ करोड ३२ लाखको आलु, ३ करोड ९० लाख ७० हजारको गोलभेडा, ५१ करोड ४१ लाख २० हजारको प्याज र ८ करोड ५० लाख ३५ हजारको लसुन आयात गरेको छ ।

त्यसैगरी, १ करोड १६ लाख ७९ हजार रुपैयाँको च्याउ, २ करोड ५२ लाख ६८ हजारको फ्रोजन आलु, १ अर्ब १३ करोड ७२ लाख रुपैयाँको सुकेको प्याज, १ अर्ब ४८ करोड ८४ लाख रुपैयाँको अन्य सुकेको तरकारी, २५ करोड ४९ लाख ९० हजार रुपैयाँको चना, २० करोड ६९ लाख ५९ हजार रुपैयाँको बोडी, ३२ करोड ७८ लाख ३६ हजार रुपैयाँको दाल, १३ करोड ३७ लाख १८ हजार रुपैयाँको केराउ र अन्य तरकारी ११ करोड ५३ लाख ११ हजार रुपैयाँको आयात गरेको छ ।

१ अर्ब ३३ करोडको फलफूल आयात

त्यसैगरी, नेपालले साउन महिनामा मात्रै १ अर्ब ३३ करोड ३८ लाख रुपैयाँको २ करोड ४६ लाख ८६ हजार केजी फलफूल आयात गरेको छ । साउनमा नेपालले ७ करोड ८६ लाख ३६ हजार रुपैयाँको केरा, ५ करोड ६४ लाख रुपैयाँको भुइँकटहर, १ करोड १५ लाख रुपैयाँको एभोकाडो, १८ करोड ५ लाख ६९ हजार रुपैयाँको अम्बा र आँप आयात गरेको छ ।

त्यस्तै, ६ करोड १० लाख रुपैयाँको कागती, ५ करोड २० लाख ८१ हजार रुपैयाँको खरबुजा, ३ करोड २७ लाख रुपैयाँको मेवा, ६९ करोड ८७ लाख रुपैयाँको स्याउ, १ करोड ८४ लाख रुपैयाँको नस्पाती, १० करोड २ लाख रुपैयाँको अनार र अन्य विभिन्न प्रकारका फलफूल आयात गरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।


क्लिकमान्डु