गौतम अडानीले एनडीटीभीको सेयर खरिद गरेको हल्ला चलेपछि…



एजेन्सी । मंगलबार भारतीय सञ्चार माध्यममा एउटा समाचारले चर्चा पायो । त्यसको केन्द्रमा थिए, गौतम अडानी ।

विश्वका अर्बपतिको सूचीमा चौथो स्थानमा रहेका र एसियाकै धनी व्यक्ति भारतीय व्यापारी अडानीले एक चर्चित टेलिभिजन नेटवर्क खरिद गरेको विषय हटकेक बन्यो ।

अडानी समूहले मिडिया कम्पनी एनडीटीभीको २९ दशमलव १८ प्रतिशत सेयर अप्रत्यक्ष रूपमा किनेको समाचार सार्वजनिक भएपछि भारतमा यो विषयले प्राथमिकता पायो ।

भारतमा विपक्षीको आवाजमाथि नियन्त्रण गर्ने क्रम बढीरहेको आरोप लागिरहेको बेला सत्तासँग नजिक रहेका
अडानीले नै एनडीटीभीको सेयर खरिद गरेको सार्वजनिक भएपछि त्यसमा चासो व्यक्त हुनु स्वभाविक नै थियो ।

कम्पनीले बम्बे स्टक एक्सचेन्ज (बीएसई) र नेसनल स्टक एक्सचेन्ज (एनएसई) लाई एनडीटीभीमा थप २६ प्रतिशत सेयर किन्नको लागि खुला प्रस्ताव ल्याउने बताएको छ ।

एक्सचेन्जलाई दिएको जानकारी अनुसार अडानी इन्टरप्राइजेजको सहायक कम्पनी एएमजी मिडिया नेटवर्कस् लिमिटेडले कमर्सियल प्राइभेट लिमिटेड (भीसीपीएल) को सेयर खरिद गरेको अवस्थामा अर्को त्यस्तै खबर आएको छ ।

अडानी समूहले एक्सचेन्जलाई भीसीपीएलको मात्रै ११४ करोड भारुमा सेयर किनेको जनाएको छ । एनडीटीभीको प्रर्वद्धक समूह कम्पनी आरआरपीआर होल्डिङ्स प्राइभेट लिमिटेडमा वीसीपीएलले २९.१८ प्रतिशत इक्विटी सेयर रहेको थियो ।

एनडीटीभीका प्रवद्र्धकहरूले सन् २००९ मा आरआरपीआरमार्फत् आफ्नो सेयरमा ऋण लिएका थिए । यो ऋण १० वर्षको लागि लिइएको थियो र यसको कार्यकाल २०१९ मा समाप्त भएको थियो ।

एक्सचेन्जलाई दिइएको जानकारी अनुसार ती सबै कम्पनीको थप २६ प्रतिशत बराबरको सेयर खरिदका लागि खुला प्रस्ताव गर्ने बताइरहेको छ ।

यो खुला अफरप्रति सेयर २९४ रुपैयाँ बराबर रहेको छ । जुन हालको सेयर मूल्यभन्दा करिब २० प्रतिशत कम हो । मंगलबार एनडीटीभीको सेयर ३६६ भारतीय रुपैयाँमा कारोबार बन्द भयो । अर्थात्, अडानी समूहले थप २६ प्रतिशत सेयर किन्न ४९३ करोड भारतीय रुपैयाँ खर्च गर्नेछ ।

अर्कोतर्फ एनडीटीभीले स्टक एक्सचेन्जलाई भीसीपीएलले यस सम्बन्धमा कुनै जानकारी नदिएको जनाएको छ । एनडीटीभीले भनेको छ, ‘ हाम्रो संस्थापक र कम्पनीले यो स्पष्ट गर्न चाहन्छ कि भीसीपीएलले हाम्रो परामर्श र हाम्रो सहमति बिना ऋणलाई इक्विटीमा रूपान्तरण गर्ने अधिकारको प्रयोग गरेको छ । हामीले आजमात्र यस कदमको बारेमा थाहा पाएका छौं ।संस्थापकहरूको सेयर होल्डिंगमा कुनै परिवर्तन भएको छैन ।’

एनडीटीभीका लगानीकर्ता प्रणय रोयको कम्पनीमा १५.९४ प्रतिशत बराबरको सेयर हिस्सेदारी छ । जबकि उनकी पत्नी राधिका रोयको कम्पनीमा १६.३२ प्रतिशत हिस्सेदारी छ । प्रणय र राधिका एनडीटीभीमा २९.१८ प्रतिशत शेयर भएको आरआरपीआरका पनि लगानीकर्ता थिए ।

धितोपत्र बजारको नियामक निकाय सेबीको नियमअनुसार २५ प्रतिशत वा सोभन्दा बढी सेयर भएको मुलुकमा सूचीकृत कुनै पनि कम्पनीले बढी सेयर खरिद गर्न खुला प्रस्ताव अनिवार्य गर्नुपर्ने हुन्छ । जसका कारण अल्पसंख्यक सेयरधनीले सेयर बजारबाट कम्पनीको पूर्वनिर्धारित मूल्यमा आफ्नो सेयर खरिद गर्न सक्छन् ।

कृषि व्यापार र बन्दरगाहबाट आफ्नो व्यवसाय सुरु गरेका गौतम अडानी यस वर्ष सबैभन्दा बढी सम्पत्तिका साथ भारतीय अर्बपतिको शीर्ष स्थानमा छन् ।

पछिल्ला केही वर्षहरूमा, अडानीले द्रुत रूपमा आफ्नो व्यवसाय विस्तार गरेका छन् । विमानस्थल, डाटा सेन्टर, सिमेन्टदेखि पावर, कोइला र ग्यास व्यापारका साथै खाद्य तेलको व्यवसायमा प्रवेश गरेको अडानी समूहको सञ्चार उद्योगको प्रवेशको विषयमासमेत अनेकन आंशका पैदा भएको छ ।

अदानी समूहले यसै वर्षको मार्चमा डिजिटल व्यापार समाचार प्लेटफर्मको पनि ४९ प्रतिशत सेयर खरिद गरेको थियो । गत वर्षको सेप्टेम्बरमा पनि अदानी समूहले एनडीटीभी किनेको हल्ला फैलिएको थियो र एनडीटीभीको सेयर केही दिनदेखि बढिरहेको थियो ।

एशियाका सबैभन्दा धनी व्यापारी गौतम अडानीले एनडीटीभीको २९ दशमलव १८ प्रतिशत सेयर किन्ने समाचारले भारतमा अब स्वतन्त्र सञ्चारको युग सकिएको जानकारहरुले टिप्पणी गरेका छन् ।

अडानी समूहले मंगलबार साँझ यो घोषणा गरेपछि नरेन्द्र मोदीको अर्को प्रवक्ता बजारमा आउने तयारीमा रहेको आलोचकहरुको टिप्पणी छ ।

अदानी समूहले एक पत्रमार्फत् एनडीटीभीको २९.१८ प्रतिशत सेयर खरिद गरेको जानकारी दिएको छ ।

एएमएएलका सीईओ सञ्जय पुगलियाका अनुसार यस खालको अधिग्रहण एउटा कोसेढुंगा हो । भारतीय नागरिक, उपभोक्ताहरू र भारतमा रुचि राख्नेहरूलाई सूचना र ज्ञानको साथ सशक्त बनाउन खोज्छ ।एनडिटीभी हाम्रो दृष्टि पूरा गर्नको लागि उत्तम प्रसारण र डिजिटल प्लेटफर्म भएको उनको भनाइ छ ।

अडानीले घोषणा गरेको दुई घण्टापछि एनडीटीभीका सीईओले भने–हामीलाई यसबारेमा केही पनि थाहा छैन ।

अडानी समूहले साँझ लगभग ६.१० बजे एनडीटीभीमा आफ्नो हिस्सेदारी घोषणा गर्यो । त्यसको करिब दुई घण्टा पछि, एनडीटीभीका सीईओले एक आन्तरिक मेल जारी गरे र भने, ‘अडानीले मिडिया समूहमा हिस्सेदारी लिएको खबर स्तब्ध पार्ने खालको छ । यसबारे न त हामीलाई जानकारी गराइएको छ न त छलफल नै भएको छ ।’ समूहका प्रमुख कार्यकारी अधिकृतले यस विषयमा नियामक र कानुनी कदम चाल्ने कुरा पनि गरेका छन् ।

एनडीटीभीसँग हाल ३ टिभी च्यानलहरू छन् र बलियो अनलाइन उपस्थिति छ । यो भारतको एक अग्रणी मिडिया हाउस हो । जसले तीनवटा राष्ट्रिय समाचार च्यानलहरू सञ्चालन गर्दछ । त्यसमा एनडीटीभी, एनडीटीभी इण्डिया र एनडीटीभी प्रोफिट । योसँग एक बलियो अनलाइन उपस्थिति पनि छ र विभिन्न प्लेटफर्महरूमा ३५ मिलियन भन्दा बढी फलोअरहरूको साथ समाजिक सञ्जालमा सबैभन्दा धेरै फलो गरिएको समाचार ह्यान्डलहरू मध्ये एक हो ।

अडानी समूहले पछिल्लो एक वर्षमा १.३१ लाख करोड भारतीय रुपैयाँको ३२ वटा सम्झौता गरेको छ । लामो समयसम्म कोइला र पूर्वाधार परियोजनाहरूमा लगानी गरेपछि, अदानी समूहले चामलदेखि लिएर ट्राभल पोर्टल, मिडिया, हरित ऊर्जा र सिमेन्टसम्मका कम्पनीहरू अधिग्रहण गरेर आफ्नो व्यवसायलाई विविधीकरण गरिरहेको छ ।

ब्लूमबर्गद्वारा संकलित तथ्यांक अनुसार, समूहले गत वर्षमा १.३१ लाख करोड रुपैयाँको ३२ भन्दा बढी सम्झौताहरू गरेको छ । यो अहिले एशिया–प्रशान्त क्षेत्रको सबैभन्दा ठूलो व्यापारिक समूह हो ।

गत वर्ष अदानी समूहले गरेका अधिकांश सम्झौताहरूमा पूर्वाधार र हरित ऊर्जा कम्पनी थिए । यसमा सिमेन्टदेखि बन्दरगाह र ऊर्जा परियोजनाहरू समावेश छन् । भर्खरै, अडानी समूहले विश्वको सबैभन्दा ठूलो सिमेन्ट कम्पनी होल्सिमबाट अम्बुजा र एसीसी सिमेन्ट कम्पनीहरूको हिस्सेदारी करिब ८१ हजार करोड रुपैयाँमा किनेको थियो ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार अडानीको कुल सम्पत्ति हाल करिब ११ लाख करोड भारतीय रुपैयाँ बराबर छ । उनी विश्वका चौथो धनी व्यापारी हुन् । एलन मस्क (टेस्ला), जेफ बेजोस (अमेजन) र बर्नार्ड अर्नाल्टको कुल सम्पत्तिको हिसाबले उनीभन्दा माथि छन् ।

यसै वर्षको अप्रिलमा मिडिया व्यवसायका लागि एएमजी कम्पनी स्थापना भएको थियो । अदानी समूहले अप्रिल २६, २०२२ मा एएमजी मिडिया नेटवर्क लिमिटेड नामक कम्पनी स्थापना गरेको हो ।

यसमा मिडिया व्यवसाय सञ्चालन गर्न प्रारम्भिक अधिकृत र चुक्ता पुँजी एक लाख रुपैयाँको व्यवस्था गरिएको छ । यसमार्फत् प्रकाशन, विज्ञापन, प्रसारणलगायतका सञ्चारमाध्यमसँग सम्बन्धित धेरै परियोजनाहरू सञ्चालन हुनेछन् । बनेका छन् ।


क्लिकमान्डु