निर्जीवन बीमा कम्पनीले कर्मचारी बोनसका लागि छुट्याए ६८ करोड, कुनको कति ?



काठमाडौं । गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरूले कर्मचारी बोनस व्यवस्थाका लागि ६८ करोड रूपैयाँ बोनस छुट्याएका छन् ।

१८ निर्जीवन बीमा कम्पनीहरूले गत आवको कर्मचारी बोनस व्यवस्थाका लागि ६८ करोड १५ लाख २९ हजार रूपैयाँ बोनस छुट्याएका हुन् ।

अघिल्लो आवको तुलनामा कर्मचारी बोनस व्यवस्थाका लागि छुट्याएको रकम ९.९७ प्रतिशतले बढेको हो ।

अघिल्लो आवमा यी कम्पनीहरूले कर्मचारी बोनस व्यवस्थाका लागि ६१ करोड ९७ लाख १९ हजार रूपैयाँ छुट्याएका थिए ।

नेकोका कर्मचारीलाई ८ करोड बोनस

कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणअनुसार १८ कम्पनीमध्ये कर्मचारीका लागि नेको इन्स्योरेन्सले धेरै रकम छुट्याएको छ ।

गत आवमा कर्मचारी बोनसका लागि नेको इन्स्योरेन्सले ८ करोड १८ हजार रूपैयाँ छुट्याएको हो । अघिल्लो आवको तुलनामा ११.०६ प्रतिशतले बढेको हो ।

अघिल्लो आवमा नेकोले कर्मचारी बोनसका लागि ७ करोड २० लाख ४८ हजार रूपैयाँ छुट्याएको थियो ।

गत आवमा नेकोले ५५ करोड १ लाख २८ हजार रूपैयाँ खुद नाफा कमाएको छ ।

नेको पछि सगरमाथा इन्स्योरेन्सका कर्मचारीले बढी बोन पाउने भएका छन् । सगरमाथाले गत आवमा कर्मचारी बोनसका लागि ६ करोड ३६ लाख ३६ हजार रूपैयाँ छुट्याएको छ । अघिल्लो आवको तुलनामा यो ८.७० प्रतिशतले कम हो । अघिल्लो आवमा सगरमाथाले कर्मचारी बोनस व्यवस्थाका लागि ६ करोड ६९ लाख ९९ हजार रूपैयाँ छुट्याएको थियो । गत आवमा इन्स्योरेन्सले ४४ करोड २२ लाख ७८ हजार रूपैयाँ खुद नाफा कमाएको छ ।

शिखर इन्स्योरेन्सका कर्मचारीले ५ करोड ८७ लाख ३ हजार रूपैयाँ बोनस पाउने भएका छन् । अघिल्लो आवको तुलनामा शिखरका कर्मचारीले पाउने बोनस रकम १५.६२ प्रतिशतले बढेको हो । अघिल्लो आवमा शिखरले कर्मचारी बोनसका लागि ५ करोड ७७ लाख ४ हजार रूपैयाँ छुट्याएको थियो ।

गत आवमा शिखरले ४० करोड १४ लाख ३९ जहार रूपैयाँ खुद नाफा कमाएको छ ।

गत आवमा नेपाल इन्स्योरेन्सले कर्मचारी बोनसका लागि ५ करोड २७ लाख ९५ हजार रूपैयाँ, प्रिमियर इन्स्योरेन्सले ५ करोड १२ लाख ३९ हजार रूपैयाँ र सिद्धार्थ इन्स्योरेन्सले ५ करोड ३९ लाख २३ हजार रूपैयाँ छुट्याएका छन् ।

यी बाहेकका अन्य कम्पानीले भने कर्मचारी बोनसका लागि ५ करोड रुपैयाँभन्दा तल रकम छुट्याएका छन् ।

५ निर्जीवन बीमा कम्पनीको कर्मचारी बोनस घट्यो

तथ्यांकअनुसार गत आवमा ५ कम्पनीको कर्मचारी बोनस व्यवस्थाका लागि छट्याएको रकम घटेको छ ।

एभरेष्ट इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, नेपाल इन्स्योेरेन्स, सिद्धार्थ इन्स्योरेन्स प्रिमियर इन्स्योरेन्सको कर्मचारी बोनस व्यवस्थाका लागि छुट्याएको रकम घटेको हो ।

१३ कम्पनीको कर्मचारी बोनस रकम बढ्यो

१८ कम्पनीमध्ये १३ कम्पनीको कर्मचारी बोनस व्यवस्थाका लागि छुट्याएको रकम बढेको छ । गत आवमा ९८.६४ प्रतिशतले व्यवसाय बढाएको सानिमा जनरल इन्स्योरेन्सको कर्मचारी बोनस व्यवस्थाका २ करोड ७ लाख ३१ हजार रूपैयाँ छुट्याएको छ । अघिल्लो आवको तुलनामा कम्पनीको कर्मचारी बोनस व्यवस्थाका लागि छुट्याएको रकम १८१.९४ प्रतिशतले बढेको हो । अघिल्लो आवमा कम्पनीले कर्मचरी बोनस व्यवस्थाका लागि ७३ लाख ५३ हजार रूपैयाँ छुट्याएको थियो ।

अघिल्लो आवको तुलनामा कर्मचारी बोनस व्यवस्थाका लागि छुटयाएको रकम अजोड इन्स्योरेन्सको ५८.२५ प्रतिशत, हिमालयन जनरलको ४४.०९ प्रतिशत, यूनाइटेड इन्स्योरेन्सको ३९.९९ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १७.१३ प्रतिशतले बढेको छ ।

यस्तै, एनएलजी इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्सको वृद्धिदर भने २५ प्रतिशत रुपैयाँभन्दा कम छ ।

बोनस ऐन २०३० मा कुनै पनि प्रतिष्ठानले कर्मचारीलाई वितरण गर्नुपर्ने बोनसको प्रतिशत खुद मुनाफाको १० प्रतिशत हुनुपर्ने उल्लेख छ । सोही व्यवश्था बमोजिम बीमा कम्पनीहरुले कर्मचारी बोनसका लागि उक्त रकम छुट्टयाएका हुन् ।


क्लिकमान्डु