नबिल र इन्भेष्टमेन्ट बैंकले नाफा कमाउँदा नेपाल बैंकका सेयरधनीलाई फाइदा



काठमाडौं । नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले गर्ने नाफा तथा दिने लाभांशको फाइदा नेपाल बैंकका सेयरधनीले पाउँदै आएका छन् ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई अर्को वाणिज्य बैंकमा सेयर लगानी गर्न रोक लगाए पनि घुमाउरो बाटोबाट लगानी गर्दा नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको नाफाबाट आउने प्रतिफलको फाइदा नेपाल बैंकका सेयरधनीलाई हुने देखिएको हो ।

नेपाल बैंकले राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा सेयर लगानी गरेको छ । नेपाल बैंकको बीमा संस्थानमा १६.६७ प्रतिशत सेयर स्वामित्व छ । यस्तै राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा ९.६० प्रतिशत सेयर स्वामित्व छ ।

नेपालका ठूला वाणिज्य बैंकहरु नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको ठूला संस्थागत लगानीकर्तामा राष्ट्रिय बीमा कम्पनी र बीमा संस्थान पर्छन् ।

नबिल बैंकमा एनबी इन्टरनेशनलपछि दोस्रो ठूलो सेयरधनी राष्ट्रिय बीमा कम्पनी लिमिटेड हो ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेडको नबिल बैंकमा ९.४२ प्रतिशत सेयर स्वामित्व अघिल्लो वर्षसम्म थियो । गतवर्ष असार २७ गते एनबी बैंकलाई गाभेपछि नबिल बैंकमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडको स्वामित्व ७.५७ प्रतिशत छ ।

कुल २२ अर्ब ८३ करोडको चुक्ता पुँजी रहेको नबिल बैंकमा राष्ट्रिय बीमा कम्पनीको नाममा १ अर्ब ७२ करोड बराबरको सेयर राष्ट्रिय बीमा कम्पनीको नाममा छ । पछिल्लो १० वर्षमा नबिल बैंकबाट मात्र राष्ट्रिय बीमा कम्पनीले नगद लाभांश मात्र १ अर्ब हाराहारीमा लगेको देखिन्छ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको सबैभन्दा ठूलो सेयरधनी राष्ट्रिय बीमा संस्थान हो । बीमा संस्थानको नाममा नेपाल इन्भेष्टमेन्ट बैंकमा १५ प्रतिशत सेयर स्वामित्व छ ।

अहिले नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ छ । १५ प्रतिशत सेयर स्वामित्वको हिसाबले बीमा संस्थानसँग २ अर्ब ७४ करोड रुपैयाँ सेयर नेपाल इन्भेष्टमेन्ट बैंकमा छ ।

इन्भेष्टमेन्ट बैंकबाट पछिल्लो १० वर्षमा करिब ५० करोड नगद लाभांश राष्ट्रिय बीमा संस्थानले बुझेको छ । नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले २० प्रतिशतभन्दा बढी नगद लाभांश दिएको खण्डमा बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीको सञ्चालन खर्च करिब धान्न मिल्छ ।

लेखापरीक्षण छैन

नेपाल स्टक एक्सचेन्च (नेप्से)मा सूचिकृत कम्पनीमा दोस्रो बजारमा सेयर मूल्यको हिसाबले दोस्रो कम्पनीमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड पर्छ ।

२६ करोड ६६ लाख चुक्ता पुँजी भएको राष्ट्रिय बीमा कम्पनीको दोस्रो बजारमा सेयर मूल्य १३ हजार ८०० रुपैयाँ छ ।

राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०७१/७२ देखि लेखापरीक्षण गरेको छैन । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब तोक्दा समेत समयमा कम्पनीले पुर्याउन सकेको थिएन ।

अहिले बीमा समितिले आगामी चैत मसान्तभित्र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी साढे २ अर्ब पुर्याउनुपर्ने नीति लिएको छ । लेखापरीक्षण नभएको हुँदा बीमा कम्पनीले तोकिएको समयमा चुक्ता पुँजी पुर्याउने छैन । सेयरधनीलाई लाभांश घोषणा समेत गर्ने छैन । र, कम्पनीले बीमा समितिमा पुँजी वृद्धिको योजना समेत पेश गरेको छैन ।

सरकारकै लगानी रहेको राष्ट्रिय बीमा संस्थानले आर्थिक वर्ष २०६९/७० देखि लेखापरीक्षण गरेको छैन । बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब तोक्दा समेत संस्थानले तोकिएको पुँजी पुर्याउन सकेको थिएन ।

संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ छ । बीमा समितिले चैत मसान्तसम्म ५ अर्ब चुक्ता पुँजी पुर्याउनुपर्ने नीति लिएको छ । राष्ट्रिय बीमा कम्पनी जस्तै बीमा संस्थानले पनि तोकिएको समयमा चुक्ता पुँजी पुर्याउने भने छैन ।

नेपाल बैंकका एक वरिष्ठ अधिकारी बीमा संस्थान र बीमा कम्पनीले लेखापरीक्षण नगर्दा सेयरधनीलाई घाटा भएको बताउँछन् ।

‘दुई कम्पनीको सेयर स्वामित्व आकर्षक लाभांश दिने वाणिज्य बैंकमा छ, जसले उनीहरुको करिब सञ्चालन खर्च धान्न पुग्छ, बीमा कम्पनीले लेखापरीक्षण नगर्दा नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकबाट भएको फाइदा नेपाल बैंकका सेयरधनीले उठाउन सकेनन्,’ नेपाल बैंकका वरिष्ठ अधिकारीले भने ।

केही दिनअघि बीमा कम्पनीको वार्षिकउत्सवमा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले तोकिएको समयमा लेखापरीक्षण सक्न कम्पनीलाई निर्देशन दिएका थिए । बीमा समितिको अध्यक्ष दुई कम्पनीलाई लेखापरीक्षण गर्न चेतावनी दिएपनि तोकिएको समयमा दुबै कम्पनीले लेखापरीक्षण गर्न सकेका छैनन् ।


क्लिकमान्डु