नगद मार्जिनको व्यवस्थाले कुन वस्तुको आयात बढ्यो, कुनको घट्यो ?



काठमाडौं । उच्च आयातको कारण विदेशी विनिमय सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंकले गत पुस ५ गते २० वटा वस्तुको आयातमा एलसी (प्रतितपत्र) नगद मार्जिनको व्यवस्था गर्यो ।

२० वटा वस्तुको आयातमा कडाइ गरेको महिना दिनपछि माघ २६ गते थप २७ वटा वस्तुको आयातमा मार्जिनको व्यवस्था गरियो ।

राष्ट्र बैंकले आयात निरुत्साहित गर्नका लागि अत्यावश्यक वस्तुबाहेक अन्य सामग्रीमा शतप्रतिशत र ५० प्रतिशत मार्जिनको व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले पहिलो चरणमा चकलेट, चुइङगम, इनर्जी ड्रिंग्स, चुरोट, अत्तर, श्रृंगार सामग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामग्री र फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, ट्वाइलेट र भान्छाकोठाका सामग्री, चाँदी, फलामका फर्निचर, प्लास्टिकका फर्निचर जस्ता वस्तु आयात गर्दा ५० देखि १०० प्रतिशतसम्म मार्जिन बैंकमा राख्नुपर्ने व्यवस्था गरेको थियो ।

त्यसैगरी, माघ २६ गते राष्ट्र बैंकले हाल समुन्द्री जीवका माछा मासु, दुधको धुलो, अण्डा, गुलाफलगायतका फून, सु्केको तरकारी, सुपारी, केरा, छोकडा, मरिच, ससेज, कोका पाउडर, अचार सोया सस, जुस, कुकुरका खानालगायत पिठो, प्लास्टिकको सामान, ट्वाइलेट सप र अन्य, मेडिकल पञ्जा, एप्रोन र अन्य, ह्यान्ड ब्याग, कार्पेट, पर्दा, ब्लयाङ्केट, सुनका गरगहना, घडीलगायत अन्य वस्तुको आयातमा कडाइ गरेको थियो ।

राष्ट्र बैंकले आयातमा निरुत्साहित गर्ने उद्देश्यका साथ कडाइ गरे पनि आयात नघटेपछि सरकारले वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गरी १० वटा वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

तर, सरकारले कडाइ निरुत्साहित गर्ने भनिए पनि मार्जिनको व्यवस्था गरेको मध्ये केही वस्तुको आयात घटेको छ भने केही वस्तुको आयात झनै बढेको छ । त्यस्तै, ४७ वस्तुमध्ये १५ वटा वस्तुको तथ्याङ्क हेर्दा केही वस्तुको आयात कम हुँदासमेत मूल्यवृद्धिले गर्दा उच्च रकम बाहिरिएको छ ।

चारपांग्रे सवारी
सरकारले बिलासिताको वस्तु जीप, कार र भ्यान आयातमा निरुत्साहन गर्न खोजिएको छ । सरकारले कडाइ गर्ने नीति लिएसँगै सवारी साधनको आयात भने केही कमी भएको देखिन्छ ।

नेपालले गत वर्षको मंसिरसम्ममा ८ हजार ८०९ वटा जीप, कार, भ्यान आयात गरेको थियो । त्यस्तै, पुसमा १ हजार ७४ वटा, माघमा ८०३ वटा, फागुनमा १ हजार २० वटा, चैतमा ७०५ वटा, वैशाखमा ९७० वटा, जेठमा १२ सय ६० वटा र असारमा १२५ वटा जीप, कार र भ्यान आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । जसमा सरकारले प्रतिबन्ध नै लगाएको अवस्थामा समेत जेठमा उच्च सवारी साधन आयात भएको देखिन्छ ।

नेपालले अघिल्लो वर्षको सोही अवधिमा मंसिरसम्ममा ६ हजार ४४५ वटा, पुसमा ८६४ वटा, माघमा १३ सय २८ वटा, फागुनमा १४ सय ५५ वटा, चैतमा १८ सय ११ वटा, वैशाखमा ९६८ वटा, जेठमा ३८६ वटा र असारमा १४ सय ६९ वटा सवारी साधन आयात भएको थियो ।

समग्रमा हेर्ने हो भने नेपालले अघिल्लो वर्षको तुलनामा गत वर्ष ४० वटा बढी जीप, कार र भ्यान आयात गरेको छ । अघिल्लो वर्षको पुसदेखि असारसम्ममा ७ हजा ४१७ वटा सवारी साधन आयात भएकोमा गत वर्ष ४ हजार ८८३ वटा आयात गरेको छ ।

मोटरसाइकल
सरकारले कडाइ तथा प्रतिबन्ध गरेकोमध्ये अर्को वस्तु हो मोटरसाइकल । मोटरसाइकलमा कडाइ गरेपनि मासिक हेर्दा झनै आयात बढेको छ ।

नेपालले पुसमा १९ हजार २८८ वटा, माघमा २३ हजार ६२७ वटा, फागुनमा १८ हजार ८६४ वटा, चैतमा १६ हजार ९३० वटा, वैशाखमा १३ हजार ४७५ वटा, जेठमा १८ हजार ४४० वटा र असारमा २० हजार ८४६ वटा आयात गरेको थियो ।

राष्ट्र बैंकले पुसदेखि ५० प्रतिशत मार्जिनको व्यवस्था गरेको थियो भने वैशाखमा प्रतिबन्ध गरेको थियो । तर, सो व्यवस्था लागू भएपनि आयात झनै बढेको छ ।

नेपालले अघिल्लो वर्षको सोही अवधि पुसमा २४ हजार २१९ वटा, माघमा ३३ हजार ३४६ वटा, फागुनमा ३७ हजार ३०४ वटा, चैतमा ३८ हजार ७२० वटा, वैशाखमा ३४ हजार ३०५ वटा, जेठमा २० हजार २५२ वटा र असारमा ३० हजार ७४ वटा सवारी साधन आयात भएको छ । उक्त तथ्याङ्क हेर्दा अघिल्लो वर्षको तुलनामा भने गत वर्ष कम आएको छ । सो अवधिमा गत वर्ष ८१ हजार ८१९ वटा सवारी साधन कम आयात भएको छ ।

चिनी तथा सख्खर
नेपालले मासिक ८० लाखको हाराहारीमा चीनी तथा सख्खर आयात गर्ने गरेको विभागको तथ्याङ्क छ । जसमा सरकारले कडाइ गरेसँगै आयात घटेको देखिन्छ । नेपालले आव २०७७/७८ मा ९ करोड केजी चीनी तथा सख्खर आयात गरेकोमा गत वर्ष ३ करोड मात्रै आयात गरेको छ । जसमा सरुकारले कडाइ गरेको अवस्थामा सबैभन्दा उल्लेख्य रुपमा घटेको छ ।

मदिरा
सरकारले कडाइ गरेको मदिराजन्य वस्तुको आयात पनि घटेको छ । नेपालले आव २०७७/७८ को पुसदेखि असारसम्ममा ४६ लाख ४२ लिटर मदिराजन्य आयात वस्तु आयात गरेको थियो । त्यस्ते, गत वर्षको सोही अवधिमा नेपालले ४२ लाख १२ हजार लिटर मात्रै मदिरा आयात गरेको तथ्याङ्कले उल्लेख गर्दछ । उक्त वस्तु आयातका लागि नेपालबाट १ अर्ब ५९ करोड २८ लाख रुपैयाँ बाहिरिएको छ ।

जुत्ता तथा कच्चा पदार्थ
आत्मनिर्भर हुन सक्ने सम्भावित क्षेत्र जुत्ता तथा जुत्ता बनाउने सामग्री आयात कडाइ गर्दासमेत उच्च भित्रिएको छ ।

नेपालले आर्थिक वर्ष २०७७/७८ को पुसदेखि असारसम्ममा २ करोड १० लाख ९७ हजार जोर जुत्ता चप्पल आयात गरेको थियो । त्यस्तै, गत वर्षको सोही अवधिमा २ करोड १८ लाख ३५ हजार जोर जुत्ताचप्पल आयात गरेको छ । जसमा सरकारले कडाइ गरेको सो अवधिमा अघिल्लो वर्षको तुलनामा ८ लाख जोर बढी आयात भएको छ ।

सि फूड
सरकारले कडाइ गर्ने नीतिले ७ महिनाको अवधिमा माछालगायत सामुन्द्रिक जीवको आयातमा ५० प्रतिशतले कमी आएको छ ।
आव २०७७/७८ मा नेपालले पुसदेखि साउनसम्ममा ३३ लाख ५१ हजार केजी माछालगायत सामुन्द्रिक जीव आयात गरेको थियो । त्यस्तै, गत वर्षको सोही अवधिमा नेपालले १७ लाख ५९ हजार केजी मात्रै आयात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १५ लाख ९२ हजार केजीले कम आयात भएको छ ।

चकलेट
नेपालले अघिल्लो वर्षको तुलनामा गत वर्ष कडाइ गरेको अवस्थामा पनि १ लाख २१ हजार बढी चकलेट आयात गरेको छ । नेपालले आव २०७७/७८ को पुसदेखि असारसम्ममा २६ लाख ७० हजार केजी आयात गरेको थियो भने गत वर्ष २६ लाख ९१ हजार केजी चकलेट आयात गरेको छ ।

जाम, सस, भेनेगर, जुसलगायत रोस्टेट ड्राई फ्रुुट
एलसी मार्जिनको व्यवस्थाले झनै जाम, सस, भेनेगर जुललगायत ड्राई फ्रुटको आयात झनै बढेको छ । नेपालले आव २०७७/७८ को पुसदेखि असारसम्ममा ७८ लाख ६० हजार केजी वस्तु आयात गरेको थियो ।

तर, आव २०७८/७९ को सोही अवधिमा ७८ लाख ८ हजार केजी/लिटर सो वस्तु आयात भएको छ । तथ्याङ्कअनुसार कडाइका बामजुद ९ लाख ४८ हजार केजी/लिटर कम वस्तु आयात भएको विभागको तथ्याङ्कले उल्लेख गर्दछ ।

इस्ट, सस, अचारलगायत दालमोठ, पापड
त्यसैगरी, इस्ट, सस, अचारलगायत दालमोठ, पापडको आयातमा पनि कमी आएको छैन । राष्ट्र बैंकले मार्जिनको व्यवस्था गरेको समय अवधिदेखि असारसम्ममा नेपालले १ करोड ३९ लाख ७० हजार केजी विभिन्न वस्तु आयात गरेको छ ।

जसमा नेपालले अघिल्लो वर्षको सोही अवधिमा १ करोड २९ लाख ९ हजार इस्ट, सस, अचारलगायत दालमोठ, पापड आयात गरेको छ । राष्ट्र बैंकले उच्च आयात भएको भन्दै गत वर्षको सो वस्तुको आयातमा माघदेखि आयातमा मार्जिनको व्यवस्था गरेको थियो । तर, सो अवधिमा आयात भएको वस्तु र अघिल्लो वर्षसँग तुलनामा गर्दा १० लाख ६० हजार केजी बढी उक्त वस्तु आयात गरेको छ ।

दाना
नेपालले गत वर्षको पुसदेखि असारसम्ममा १४ अर्ब १५ करोड ६६ लाख रुपैयाँको १९ करोड ५२ लाख ४७ हजार केजी विभिन्न वस्तुको दाना आयात गरेको थियो । आव २०७७/७८ को सोही अवधिमा नेपालले ११ अर्ब ४१ करोड ६५ रुपैयाँको २१ करोड ९९ लाख ४१ हजार केजी दाना आयात गरेको थियो । जसमा गत वर्ष २ करोड ४६ लाख ९४ हजार कम केजी दाना आयात भएको छ । तर, परिमाणमा कम दाना आयात भएपनि महंगीका कारण भने २ अर्ब बढी रकम बाहिरिएको छ ।

पेन्ट्स, रङ तथा पेन्टस्को कच्चा पदार्थ
पेन्ट्स, रङ तथा पेन्टस्को कच्चा पदार्थको आयात १८ लाख ६४ हजार केजीले कम आयात भएको छ । गत वर्ष नेपालले उक्त परिमाणमा कम वस्तु आयात गरेपनि २२ करोड ६० लाख रुपैयाँले बढी रकम बाहिरिएको छ ।

नेपालले आव २०७७/७८ को पुसदेखि असारसम्ममा २ करोड ३७ लाख ६१ हजार केजी पेन्टस्, रङ तथा कच्चा पदार्थ आयात गरेको थियो । उक्त वस्तु आयात गर्न नेपालले ४ अर्ब ९६ करोड रुपैयाँ खर्चेको थियो । तर, आव २०७८/७९ मा २ करोड १८ लाख ९७ हजार केजी पेन्ट्स, रङ तथा पेन्टस्को कच्चा पदार्थ आयात गर्न ५ अर्ब १९ करोड रुपैयाँ खर्चेको छ ।

झोला
कडाइ गरिएको ब्याग तथा झोलाको आयात भने झनै बढेको छ । नेपालले गत वर्ष १ करोड १० लाख ६९ हजार वटा ब्याग तथा झोला आयात गर्दा अघिल्लो वर्षको सोही अवधिमा नेपालले ९३ लाख वटा ब्याग तथा झोला आयात गरेको छ ।

कार्पेट
गत वर्ष आयातमा कडाइ गरेकोमध्ये कार्पेटको आयात घटेको छ । अघिल्लो वर्षको पुसदेखि असारसम्ममा १५ लाख ७५ हजार स्क्वारमिटर कार्पेट आयात भएकोमा गत वर्षको सोही अवधिमा १५ लाख ३ हजार स्क्यारमिटर कार्पेट आयात भएको छ ।

रेडिमेड गार्मेन्ट
सरकारले लिएको कडाइ नीतिले गार्मेन्ट आयात भने घटेको छ । नेपालले आव २०७७/७८ को पुसदेखि असारसम्ममा ४ करोड ६३ लाख ४४ हजार पिस गार्मेन्ट आयात गर्दा ४ अर्ब ४० करोड ४६४ लाख रुपैयाँ खर्चेको थियो । त्यस्तै, नेपालले गत वर्षको सोही अवधिमा ३ करोड ६५ लाख ७३ हजार पिस मात्रै गार्मेन्टका वस्तु आयातमा ४ अर्ब ४२ करोड ५० लाख रुपैयाँ खर्चेछ । जसमा आयात करिब १ करोड पिसले घट्दासमेत बढी रकम बाहिरिएको छ ।

रेनकोट, ब्लेजर, ज्याकेट, सल, मफलर
गत वर्ष रेनकोट, ब्लेजर, ज्याकेट, सल, मफलरलगायत अन्य लुगाको आयात पनि घटेको । नेपालले अघिल्लो वर्षको पुसदेखि असारसम्मको तुलनामा गत वर्षको सोही अवधिम १ करोड ६४ लाख पिस कम आयात भएको छ । राष्ट्र बैंकले माघको अन्त्यबाट उक्त वस्तुको आयातमा एलसी मार्जिनको व्यवस्था गरेको थियो ।

जसमा नेपालले गत वर्षको पुुसदेखि असारसम्ममा ६ करोड ९६ लाख ५६ हजार पिस लुगाका लागि १० अर्ब खर्चेको थियो भने आव २०७७/७८ को सोही अवधिमा ८ करोड ८४ लाख ३० हजार पिस आयात गर्न ११ अर्ब ८२ करोड रुपैयाँ खर्चेको थियो ।


अरिष्मा मोक्तान