नेपालमै खुल्न थाले पुनर्बीमा ब्रोकर, १० वटालाई समितिले दियो लाइसेन्स



काठमाडौं । नेपालमै पुनर्बीमा कम्पनीको (ब्रोकर) स्थापना गर्नका लागि बीमा समितिले नीतिगत बाटो खुला गरेको थियो ।

नेपालमा पनि पुनर्बीमा ब्रोकर स्थापनाको माग हुँदै आएको थियो । नेपालको बीमा बजार सानो भएका कारण पुनर्बीमा ब्रोकरको आवश्यकता नभएको भन्दै समितिले त्यस विषयमा चाँसो भने दिएको थिएन ।

तर, बीमा बजारमा नयाँ कम्पनी थपिनु र पुनर्बीमा कम्पनीको संख्या पनि १ बाट २ मा पुगेसँगै समितिले नेपालमै पुनर्बीमा ब्रोकर कम्पनीको आवश्यकता भएको महशुस गरेको थियो । समितिले पुनर्बीमा दलाल कम्पनी खोल्नका लागि आवश्यक न्यूनतम पुँजीसमेत तोकेर पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका जारी गरेको थियो ।

समितिले गत जेठमा पुनर्बीमा ब्रोकर (दलाल) सम्बन्धी सम्बन्धी निर्देशिका, २०७८ जारी गरेको थियो । निर्देशिका जारी गरेको १ वर्षपछि भने नेपालमा पुनर्बीमा ब्रोकर खुल्न थालेका हुन् ।

पुनर्बीमा दलालको लाइसेन्स माग गर्दै समितिमा १ दर्जनभन्दा बढी कम्पनीले आवेदन दिएका थिए । ती मध्ये समितिले १० वटा कम्पनीलाई लाइसेन्स दिएको हो ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्रक्रिया पुर्याएर लाइसेन्सको माग गर्दै आवेदन दिएका कम्पनीलाई लाइसेन्स दिएको जानकारी दिए । उनकाअनुसार समितिले गत बैशाखमहिनादेखि कम्पनीहरूलाई लाइसेन्स दिन थालिएको हो ।

लाइसेन्सको माग गर्दै आवदेन दिएका कम्पनीमध्ये समितिले जेबी बोडा इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स, हब रि इन्स्योरेन्स ब्रोकर, एलियन्ट रि इन्स्योरेन्स ब्रोकर्स प्रालि, फेडेरल रि इन्स्योरेन्स ब्रोकर्स प्रालि, ग्लोबल इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स ब्रोकर्स प्रालि, ट्रष्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि, एसटिसी रि इन्योरेन्स ब्रोकर, शुभ रि इन्स्योरेन्स सर्भिसेज र एवान रि इन्स्योरेन्स ब्रोकरलाई लाइसेन्स दिएको हो ।

समितिबाट वैशाख १७ गते लाइसेन्स पाएको फेडेरल रि इन्स्योरेन्सले प्रथम साधारणसभा समेत बोलाईसकेको छ ।

निर्देशिकाअनुसार पुनर्बीमा ब्रोकर कम्पनीको अवधि एक आर्थिक वर्षको हुने छ ।

पुनर्बीमा दलाल कम्पनी सञ्चालन गर्न बीमा समितिले ५ करोड रूपैयाँ चुक्ता पुँजी तोकेको छ ।

समितिद्धारा जारी निर्देशिकामा बीमा व्यवसाय सञ्चालन गर्न सञ्चालित संगठित संस्थाको अधिकृत पुँजी कम्पनीमा १० करोड रूपैयाँ हुनुपर्ने व्यवस्था छ । सोमध्ये पुँजीको ५० प्रतिशत रकम चुक्ता पुँजीको रूपमा कायम गर्नुपर्ने व्यवस्था छ ।

उक्त पुँजीमध्येबाट अधिकृत पँुजीको २५ प्रतिशत रकम समितिबाट एआर मार्क गराई वाणिज्य बैंकको मुद्दती खातामा राख्नुपर्ने व्यवस्था छ ।

बीमाको सिद्धान्तअनुसार बीमा कम्पनीले सबै जोखिम आफूले नै धारण गर्नुहुँदैन  । जोखिमलाई वितरण गर्नुपर्छ  । त्यसैले, बीमा कम्पनीहरूले निश्चित जोखिम मात्रै आफूले राखी बाँकी रहेको जोखिम अन्य कम्पनीलाई हस्तान्तरण गर्छन् ।

बीमा कम्पनीले जोखिम हस्तान्तरण गर्ने प्रक्रियालाई पुनर्बीमा भनिन्छ ।

निर्जीवन बीमा कम्पनीहरूले आफ्नो नेटवर्थको अधिकतम ५ प्रतिशत र जीवन बीमा कम्पनीहरूले ०.३ प्रतिशतमात्रै जोखिम लिन पाउने नियामक निकाय बीमा समितिको व्यवस्था छ ।

सोभन्दा बढीको जोखिम बीमा कम्पनीहरूले पुनर्बीमा गर्नुपर्छ । कम्पनीहरूले पुनर्बीमा गराउनको लागि पहिला ब्रोकरमा जान्छन् । ती पुनर्बीमा दलाल कम्पनीहरूले पुनर्बीमा कम्पनी खोजिदिन्छन् । र, बीमा कम्पनीहरूले आफ्नो कम्पनीमा भएको जोखिम ती पुनर्बीमा कम्पनीलाई हस्तान्तरण गर्छन् ।

तर, नेपालमा पुनर्बीमा ब्रोकर कम्पनी खुल्न नसक्दा बीमा कम्पनीहरूले विदेशी पुनर्बीमा ब्रोकरमार्फत पुनर्बीमा गर्दै आएका थिए ।

विदेशी पुनर्बीमा दलालमार्फत् पुनर्बीमा गर्दै कम्पनी

हाल नेपाली बीमा कम्पनीहरूले विदेशी पुनर्बीमा दलालमार्फत् पुनर्बीमा गर्दै आएका छन् । तीमध्ये पनि अधिकांश कम्पनीले भारतीय पुनर्बीमा ब्रोकरमार्फत पुनर्बीमा गराउँदै आएको समितिको भनाइ छ ।

कम्पनीहरूले जेबी बोडा (भारत), पाइनियर इन्स्योरेन्स ब्रोकर (भारत), फ्रस्ट पोलिसी इन्स्योरेन्स ब्रोकर (भारत) लगायतका भारतीय दलालमार्फत् पनि पुनर्बीमा गर्दै आएका छन्  ।

त्यस्तै, स्विस री (स्विट्जरल्यान्ड), जनरल इन्स्योरेन्स कर्पोरेसन (जिआइसी) पुनर्बीमा, भरत रि इन्स्योरेन्स ब्रोकर, श्रीधर इन्स्योरेन्स ब्रोकर, युनि लाइट रि इन्स्योरेन्स ब्रोकर, प्रोटेक्सन रि इन्स्योरेन्स ब्रोकर, यु आइबी ब्रोकर लगायतका ब्रोकरमार्फत पुनर्बीमा गराउँदै आएका छन् ।

बीमा ऐन, २०४९ को धारा ३० मा दलाल दर्तासम्बन्धी व्यवस्था गरिएको छ । ऐनअनुसार दलालका लागि निवेदन प्राप्त भएमा समितिले जाँचबुझ गरेर इजाजतपत्र दिन सक्नेछ  ।

बीमा नियमावलीको नियम ३० मा दलालको व्यवस्था छ । बीमकको पुनर्बीमा निर्देशिका, २०७८ अनुसार बीमकले पुनर्बीमा व्यवसाय गर्दा पुनर्बीमा दलालमार्फत गर्न सकिने व्यवस्था गरेको छ ।

निर्देशिकाअनुसार पुनर्बीमा व्यवसाय सम्बन्धी कारोबार गर्न इच्छुक विदेशी पुनर्बीमा दलालले समितिमा सम्पर्क/शाखा खोल्न इजाजतको लागि समेत तोकिएको दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।

समितिले निवेदन दिने दलालहरूलको अन्तराष्ट्रिय व्यवसायिक पहुँच, प्रतिष्ठा तथा समितिले तोकेको अन्य आवश्यक मापदण्डको आधारमा समितिले नेपालमा सम्पर्क शाखा खोल्न इजाजत दिन सक्नेछ ।

समितिबाट पुनर्बीमा दलालको इजाजत दिने आशय पत्र प्राप्त भएपछि ब्रोकिंग कार्य गर्नुअघि नेपालको क वर्गको वाणिज्य बैंकमा सेक्युरिटी डिपोजिटबापत अमेरिकी डलर ५० हजार रूपैयाँ जम्मा गर्नुपर्ने छ ।

नेपाली पुनर्बीमा दलालसँग संयुक्त रूपमा नेपालमा पुनर्बीमा दलाल संगठित संस्था खोल्न इच्छुक विदेशी पुनर्बीमा दलालले पुँजीको ५५ प्रतिशतसम्म शेयर हिस्सा राख्न सक्ने व्यवस्था रहेको छ ।

समितिद्धारा जारी निर्देशिकाअनुसार पुनर्बीमा ब्रोकरले पुनर्बीमा कम्पनी र बीमा कम्पनीसँगको मध्यस्थकर्ताको रूपमा काम गर्नुपर्ने हुन्छ ।

पुनर्बीमा विशेषज्ञता सेवा र प्राविधिक परामर्श दिने, पुनर्बीमा दाबी भुक्तानी सहजीकरण गर्ने, पुनर्बीमा सम्झौता तयार गर्न सहयोग गर्ने, जोखिमअनुसार उपयुक्त पुनर्बीमा व्यवस्था गर्न सहयोग गर्ने काम पुनर्बीमा ब्रोकरले गर्नुपर्ने हुन्छ ।


क्लिकमान्डु