सरकारलाई सवा १ खर्ब कर तिरेको आयल निगमको घाटा ५० अर्ब, कुन शीर्षकमा कति कर तिर्यो ?



काठमाडौं । नेपाल आयल निगमले गत आर्थिक वर्षमा हालसम्मकै धेरै कर तिरेको छ । आर्थिक वर्ष २०७८/७९ मा निगमले १ खर्ब २० अर्ब ६ करोड रुपैयाँ विभिन्न शीर्षकमा सरकारलाई कर तिरेको हो ।

नेपालमा गत वर्ष ३ खर्ब २२ अर्ब १ लाख ३० हजार २४ रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । गत वर्ष अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चरुपमा बढेको थियो । जसले गर्दा नेपालले आयात गर्ने पेट्रोलियम पदार्थको मूल्यमा ठूलो चाप परेको थियो ।

त्यस्तै, अन्तर्राष्ट्रिय बजारमा अत्याधिक बढेको मूल्य समायोजना गर्दै लगेको आयल निमगले प्रतिलिटर पेट्रोलको मूल्य बढाएर १९९ रुपैयाँसम्म पुर्याएको थियो । साथै, अन्य पेट्रोलिमय पदार्थको मूल्यले पनि इतिहास कायम गरेको थियो ।

नेपालले आर्थिक वर्ष २०७७/७८ मा ९८ अर्ब ९८ करोड रुपैयाँ सरकारलाई कर तिरेको थियो । त्यस्तै, आव २०७६/७७ मा ६६ अर्ब ८८ करोड, आव २०७५/७६ मा ६५ अर्ब ९३ करोड र आव २०७४/७४ मा ५५ अर्ब ८४ करोड रुपैयाँ कर सरकारलाई तिरेको थियो ।

निगमका अनुसार सरकारले आव २०७७/७८ को तुलनामा गत वर्ष २२ अर्बले बढी कर तिरेको छ । सो अवधिमा सरकारले भन्सार शुल्कमात्रै ४२ अर्ब ९३ करोड रुपैयाँ संकलन गरेको छ ।

त्यसैगरी, सडक मर्मत् दस्तुरवापत् ६ अर्ब ३८ करोड, वातावरण खर्चवापत् ३ अर्ब ६८ करोड, मूल्यअभिवृद्धि करवापत् ४२ अर्ब ५४ करोड र पूर्वाधार विकास कर (बुढीगण्डकी) वापत् २४ अर्ब ५३ करोड रुपैयाँ निगमले सरकारलाई कर तिरेको छ । तर, निगम घाटामा गएकाले गत वर्ष आयकर भने तिर्न नपरेको निमगले जनाएको छ ।

विगत ५ वर्षको राजस्व, कुन शीर्षकमा कति ?

५० अर्ब घाटा

निगमले आव आव २०७१/७२ देखि आव २०७६/७७ सम्ममा निरन्तर नाफा कमाएको थियो । तर, अघिल्लो वर्ष र गत वर्ष भने निगमले घाटा व्यहोर्नु परेकोछ ।

गत वर्ष १ खर्ब २० अर्ब सरकारलाई कर तिरेको निगम भने ५० अर्ब रुपैयाँ घाटामा गएको प्रारम्भिक अनुमान छ । निगमका उपप्रबन्ध निर्देशक नागेन्द्र शाहले गत वर्ष ५० अर्ब रुपैयाँको हाराहारीमा नोक्सान व्यहोरेको बताए ।

प्रवन्ध निर्देशक शाहका अनुसार निगमले आव २०७७/७८ मा ५९ करोड रुपैयाँमात्रै घाटा व्यहारेको थियो । तर, गत वर्ष भने हालसम्मकै उच्च घाटा व्यहोर्नु परेको हो ।

विश्व बजारमा पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिसँगै नेपाल आयल निगमले नियमित मूल्य समायोजन गर्न नसक्दा नोक्सान भएको आयल निगमले बताएको छ ।

पेट्रोलियम पदार्थको प्रचलित बजारमूल्य लागत मूल्यभन्दा कम भएपछि निगम नोक्सानी परेको निगमको भनाइ छ । निगमले नोक्सानी व्यहोर्दै गएपछि निरन्तर मूल्य बढाउँदै आएको छ । तर, मूल्य बढाए पनि सो नोक्सान केही करोडमा मात्रै घट्ने निगमले जनाएको छ ।

तर, विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य उच्च दरमा बढेको र नेपालले सोहीअनुसार मूल्य समायोजन गर्न नसक्दा हालसम्मकै धेरै घाटा व्यहोेर्नु परेको निगमको भनाइ छ ।


क्लिकमान्डु