नयाँ पूर्वाधार विकास बैंक खोल्ने गृहकार्यमा ठूला व्यवसायिक घराना, लाइसेन्स दिने सम्भावना उच्च



काठमाडौं । अर्को पूर्वाधार विकास बैंक खोल्नका लागि नेपालका ठूला व्यवसायिक घरानालाई गृहकार्य अगाडि बढाएका छन् ।

हाल नेपाल इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) सञ्चालनमा छ । निफ्राका संस्थापक बाहेकका ठूला व्यवसायिक घरानाले अर्को पूर्वाधार विकास बैंक स्थापना गर्ने प्रक्रिया अगाडि बढाएका हुन् ।

अहिले पूर्वाधार विकास बैंक खोल्नका लागि व्यवसायिकबीच प्रारम्भिक चरणको छलफल सकिएको छ ।

२० अर्ब चुक्ता पुँजी हुने तथा संस्थापकको ६० प्रतिशत तथा सर्वसाधारणको ४० प्रतिशत सेयर स्वामित्व हुने गरी पूर्वाधार विकास बैंक ल्याउने तयारी भएको हो ।

‘सरकारी निकायको समेत लगानी गरेर पूर्वाधार विकास बैंकको लाइसेन्स लिने तयारी भएको छ, सम्भावित लगानीकर्ताबाट लगानीको प्रतिबद्धता पाएपछि लाइसेन्सको प्रक्रिया अगाडि बढ्छ,’ स्रोतले भन्यो ।

नयाँ आउन लागेको पूर्वाधार विकास बैंकमा सरकारी निकायहरु कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषदेखि लिएर बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरुलाई लगानी गर्न लगाउने तयारी भएको छ ।

नयाँ लाइसेन्स लिने प्रक्रियामा अहिले निफ्राका लगानीकर्ता विशाल ग्रुप र आइएमई समूह भने सहभागी छैनन् ।

नेपाल राष्ट्र बैंकमा भने अहिलेसम्म नयाँ पूर्वाधार विकास बैंक खोल्ने विषयमा औपचारिक रुपमा निवेदन परेको छैन ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले औपचारिक रुपमा अहिलेसम्म लाइसेन्सको निवेदन केन्द्रीय बैंकमा नआएको जानकारी दिए ।

‘बाहिर कसले के तयारी गर्छ हामीलाई थाहा हुने कुरा भएन, अहिलेसम्म निवेदन आएको छैन, निवेदन नआएको विषयमा थप प्रतिक्रिया दिन मिलेन,’ भट्टले क्लिकमाण्डूसँग भने ।

अहिले व्यवसायिक घराना विशाल ग्रुप, आइएमई समूह तथा नेपाल सरकारको लगानीमा निफ्रा सञ्चालनमा छ ।

जसमा ६० प्रतिशत सेयर स्वामित्व संस्थापकको तथा ४० प्रतिशत सेयर स्वामित्व सर्वसाधारणको छ । २० अर्ब चुक्ता पुँजी हुने गरेर निफ्रा खुलेको थियो ।

जसमा संस्थापकले १२ अर्ब तथा सर्वसाधारणले ८ अर्ब रुपैयाँ सेयर लगानी गरेका थिए । निफ्राले अहिलेसम्मकै ठूलो ८ अर्ब रुपैयाँको आइपीओ ल्याएको थियो ।

जसमा रितपूर्वक आवेदन दिनेले ६० कित्तासम्म सेयर पाएका थिए । यसको सेयर मूल्य दोस्रो बजारमा ७२६ रुपैयाँसम्म पुगेको थियो । अहिले भने यसको सेयर मूल्य दोस्रो बजारमा २६४ रुपैयाँ छ ।

अहिलेसम्म निफ्राले ८ प्रतिशत बोनस सेयर दिएको छ । निफ्राको चुक्ता पुँजी २१ अर्ब ६० करोड छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा निफ्रा र जलविद्युत् विकास कम्पनीलाई मर्जर गर्ने नीति अगाडि सारेको छ ।

सरकारी लगानीमा ठूला जलविद्युत् आयोजनामा लगानी गर्नको लागि जलविद्युत् तथा विकास कम्पनी (एचआइडिसिएल)को स्थापना भएको थियो ।

हकप्रद र बोनस सेयर दिएर एचआइडिसिएलले २३ अर्ब ४९ करोडको चुक्ता पुँजी बनाएको छ । पूर्वाधारको क्षेत्रमा काम गर्न खोलिएका निफ्रा र एचआइडीसीएल दुबै संस्थाले लक्ष्य अनुसारको काम भने गर्न सकेका छैनन् ।

वाणिज्य बैंकको मुद्दति निक्षेपमा पैसा राखेर सञ्चालन गर्ने तथा केही लाभांश दिने काममात्र दुई संस्थाले गरेका छन् ।

सेयर बजार बुलिस ट्रेण्डमा हुँदा भने यसको आइपीओमा लगानी गर्नेले भने राम्रो फाइदा कमाएका थिए । यस्तोमा नयाँ पूर्वाधार विकास बैंकले खोल्नु भनेको अनावश्यक संस्था मात्र थप्ने र सेयर निष्कासन गरेपछि दोस्रो बजारबाट लाभ लिन खोजेको देखिन्छ ।


क्लिकमान्डु