सन् २०३० सम्म ‘स्टार्टअप नेसन’ बनाउँदै एक लाख रोजगारी सिर्जना गर्ने लक्ष्य



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकभर उद्यमि बिकास गर्न सरकारले ‘बिजनेस इन्कुबेटर्स सेन्टर’मार्फत् विशेष कार्यक्रम ल्याउन लागेको बताएका छन् ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा सातै प्रदेशमा सात इन्कुबेटर्स सेन्टर बनाउने घोषणा गरेको हो ।

सोमबार बिजनेस इन्कुबेटर कन्फरेन्समा बोल्दै मन्त्री बडूले यसलाई अझ व्यापक बनाउन विभिन्न क्षेत्रसँग सहकार्य गर्न लागेको बताए ।

‘बजेट सानो छ । त्यसले पुग्दैन । बढाउनु पर्छ,’ उनले भने, ‘हामीले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र नास्टसँग सहकार्य गर्दैछौं ।’

उनले मुलुकमा औद्योगिक रुपान्तरणको आवश्यकता भएको भन्दै यसका लागि सरकारले नयाँ स्टार्टअप प्रबर्द्धन जोड दिएको बताए ।

कन्फरेन्समा घोषणापत्र जारी गर्दै सन् २०३० सम्म देशलाई स्टार्टअप नेसन बनाउने घोषणा गरियो ।

साथै, त्योबेलासम्म स्टार्टअप इको सिस्टम बनाएर एक लाख रोजगारी सिर्जना गर्ने पनि घोषणा गरिएको छ ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महास.घका अध्यक्ष अध्यक्ष शेखर गोल्छाले उधमशिलता बिकास गर्न स्टार्टअप आवश्यक भएको बताए । तर, स्टार्टअपको सफलताको दर धेरै कम हुने भन्दै त्यो सफलताको दर बढाउन इन्कुबेसन सेन्टर आवश्यक भएको गोल्छाको भनाइ छ ।

उनले इम्कुबेसनमा सरकारले लगानी गर्नुपर्ने बताए ।

सरकारले सात प्रदेश सात इन्कुबेसन सेन्टर बनाउने घोषणा गरेकोमा त्यो कार्यान्वयनका लागि महासंघ तयार रहेको बताए ।

‘महासंघ सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको संस्था हो, त्यसैले हामीले सरकारसँग सहकार्य गर्न चाहछौं,’ उनले भने ।

उद्योग मन्त्रालयका सह–सचिव नारायणप्रसाद दुवाडीले स्टार्टअपका लागि नयाँ नीति बनाउन लागेको बताए ।

साथै उनले सरकारले स्टार्टअपका लागि बजेटमार्फत् विभिन्न काम अगाडि सारेको बताए ।

कन्फरेन्समा बोल्दै अन्तरप्रेरणाका अध्यक्ष ओम राजभण्डारीले नेपालमा स्टार्टअप बिकाशमा जोड दिनुपर्ने बताए ।

कन्फरेन्स नेपाल सरकार, महासंघ, अन्तरप्रेरणा, इसिमोड र नेदरल्यान्डको पुम संस्थाको सहकार्यमा गरिएको थियो ।


क्लिकमान्डु