त्रिपक्षीय समझदारीले पूँजी बजारमा ल्याउदै गरेको सुखद् परिणाम



नेपालको पूँजी बजार सुधार र बिस्तारका लागि दरिलो पहलकदमी लिने मानिसहरुको अभाव त छ नै । सरकार र नियमनकारी निकायहरुले आपसमा समन्वय गरेर काम गर्न नसक्दा पनि पूँजी बजारको बिकास अबरुद्ध हुँदै आएको हो । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश कुमार हमालको नियुक्तिसँगै छितिजमा नौला दृश्यहरु देखा परेकामात्रै छैनन्, चालिएका ऐतिहासिक कदमहरुले बजार बिकास र बिस्तारको सुनौलो ढोका पनि खोलेको छ ।

धितोपत्र बोर्डका अध्यक्ष हमालले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थ मन्त्रालय समेतलाई बिस्वास दिलाएर अगाडि बढ्दा नेपाल राष्ट्र बैंक समेतसँग कुशलतापुर्वक समन्वय गर्नु भएको छ । धितोपत्र बोर्ड, राष्ट्र बैंक र हामी लगानीकर्तावीचको त्रिपक्षीय समझदारीले आगामी दिनहरुमा एकपछि अर्को सुखद परिणामहरु आउँदै जानेछन् ।

हामी लगानीकर्ताहरुको तर्फबाट गरिएको १० दिने आमरण अनशनको जगमा भएको १९ बुँदेदे सहमति, धितोपत्र बोर्ड र राष्ट्र बैंकबीच उन्नतस्तरमा भएको समन्वय र सहकार्यले नै यसपल्टको मौद्रिक नीति पूँजीबजारमुखी बन्न पुग्यो । घरजग्गा, आयात, विलासिताका बस्तु, गाडी जस्ता कर्जाहरुमा कडाईपूर्ण ब्यवस्थाहरु लागु गर्नुपर्ने बाध्यता हुँदाहुँदै पनि राष्ट्र बैंकले हाम्रो सबै माग पुरा गरेर सेयर धितो कर्जाको एकल ग्राहक सिमा १२ करोड बनाउनु, २५ लाखसम्मको सेयर धितो कर्जा बैंकले सहजै दिनसक्ने गरी जोखि भार १०० मा झार्नुलाई ठूलो उपलब्धिको रुपमा हामी लगानीकर्ताले लिएका छौ र राष्ट्र बैंकप्रति आभार ब्यक्त गर्दछौ ।

बैंक गाभ्ने गाभिने क्रममा सेयर कारोबार बन्द हुने पुरानो नीति खारेज गरेर धितोपत्र बोर्डकै नियमन अनुसार हुने भनी खुला गर्नु र ब्रोकरमार्फत मार्जिन ट्रेडिड। शुरु गर्न दबाब सिर्जना हुने गरी मौद्रिक नीतिमार्फत् संदेश प्रबाह गर्नुले राष्ट्र बैंक र धितोपत्र बोर्डवीच अब सघन सहकार्य र समन्वय शुरु भएको संकेत गर्छ । यसपल्टको मौद्रिक नीतिबाट भएको ब्यवस्थाप्रति धितोपत्र बोर्डका अध्यक्ष हमालले पनि उत्साहित हुँदै राष्ट्र बैंकलाई धन्यवाद दिईरहनु भएकै छ ।

राष्ट्र बैंकले जसरी ५८ बुँदे सुझाव कार्यान्वयनको लागि सबैभन्दा पहिले अग्रसरता लिएर आफ्नो जिम्मामा परेको सबै काम समयमै पुरा गर्यो र पूँजी बजारको उद्धार गर्यो, अहिले पनि त्यही स्तरको पहलकदमी लिएको छ । यसका लागि हामी लगानीकर्ताहरु निरन्तर राष्ट्र बैंकको सम्पर्कमै थियौं ।

धितोपत्र बोर्ड सक्षम र संस्थागत सेयर दलालहरुलााई लाईसेन्स दिएर र अहिलेका दलालहरुको पूँजी बढाएर बजार बिकास र बिस्तार गर्न जति आँतुर छ, नेपाल राष्ट्र बैंक पनि चाँडै नै सक्षम र क्षमतावान दलालहरु आएर मार्जिन ट्रेडिड।सम्मका कामहरु सफलतापुर्वक शुरु गरुन् । र, लगानीकर्तालाई बैंकबाट हैन, दलालको कार्यालयबाटै सेयर किन्ने कर्जा प्राप्त होस् भन्ने उत्कट चाहना राखिरहेको छ । राष्ट्र बैंकले अहिलेको बिषम अवस्थामा पनि सेयर धितो कर्जालाई सहुलियत दिदै गर्दा उसले दलालमार्फत मार्जिन ट्रेडिंगको काम शुरु भएपछि बैंकबाट सेयर धितो कर्जा पनि बन्द हुने स्पष्ट जनाउ दिईसकेको छ । राष्ट्र बैंकले २५ वटा दलालहरुलाई मार्जिन ट्रेडिंगको काम गर्ने स्वीकृति दिएको छ र त्यसको सफल कार्यान्वयनको सम्बन्धमा अर्थ मन्त्रालय, धितोपत्र बोर्डर नेप्सेबाट समन्वयका लागि हुने पहललाई हार्दिकतापूर्वक स्वीकारी तत्काल गरिदिन राष्ट्र बैंकका अधिकारी तयारै छन् ।

धितोपत्र बोर्डले चाल्ने हरेक कदममा हामी लगानीकर्ताहरुको दह्रो साथ र समर्थन छ । उसले गरेका निर्णयहरु रोक्ने र असफल पार्ने प्रयास कतैबाट भयो भने त्यसको प्रतिबाद गर्न हामी फेरि मैदानमा उत्रिने नै छौ । तर यसपल्ट बोर्ड, अर्थमन्त्रालय, प्रधानमन्त्रीको कार्यालय र नेपाल राष्ट्र बैंकबीचमा उन्नतस्तरको समझदारी रहेकाले बजार बिस्तार र बिकासका कामहरु रोक्न खोज्नेहरु परास्त हुने छन् । संभवतस् अर्को साताको अन्त्यतिर फेरि अर्को सुखद् समाचार बाहिर आउनसक्छ ।

सरकार, निमायक र हामी लगानीकर्ताबीचको त्रिपक्षीय सझदारीले पूँजी बजारमा एकपछि अर्को सुखद परिणाम निस्कदै जानेछ । अर्थतन्त्रलाई सहज अबस्थामा ल्याउने प्राथमिक दायित्व अहिले सबैको भएकाले हामी सेयर लगानीकर्ताले पनि धैर्य र साहसका साथ कदम चाल्नु परेको छ । लगानीयोग्य रकम र तरलता अभावको कारणले गाहो सबैलाई छ तर तरलता सहज हुने बित्तिकै सबैभन्दा पहिले उत्साह छाउने नै सेयर बजार हो भन्ने हेक्का राख्दै अहिले नियमनकारी निकायहरुले चालेका सुझबुझपुर्ण कदमहरुलाई साथ दिन र रोक्न छेक्न खोज्नेहरुलाई परास्त गर्ने अभियानमा लागौं ।


क्लिकमान्डु