दाना बेच्ने ४ कम्पनीले गरे एक वर्षमा १७ अर्बको कारोबार, साढे ६ अर्ब ऋणको रेटिङ



काठमाडौं । पछिल्लो समय नेपाल कुखुराको मासुमा आत्मनिर्भर भइसकेको अवस्था छ ।

देशभर व्यवसायिक खेतीको रुपमा कुखुरापालन, बंगुरपालन, बाख्रापालनलगायत अन्य विभिन्न मासुजन्य पशुपालनमा युवाहरूको बढ्दो आकर्षण छ ।

देशभर व्यवसायिक रुपमा पशु पालन गर्न शुरु गरेसँगै मासुजन्य वस्तुमा आत्मनिर्भर तर्फ अघि बढेको छ । अहिले कुखुरामा पूर्णआत्मनिर्भर भइसकेको अवस्था छ । तर, अन्य बंगुर तथा अन्य जीवजन्तुको मासुमा भने आत्मनिर्भर हुन सकेको छैन ।

बजारमा पशु पालनको बढेसँगै उक्त पशुहरूलाई आवश्यक पर्ने दानाको खपत पनि उच्च रहेको विभिन्न तथ्याङ्कले देखाउँदछ । नेपालले वार्षिकरुपमा अर्बौ रुपैयाँको दाना तथा दानाका लागि आवश्यक कच्चा पदार्थ विभिन्न देशबाट आयात गरी आपूर्ति गर्दै आएका छन् ।

त्यस्तै, नेपालमा बढ्दो व्यवसायिक पशुपालन क्षेत्रमा आवश्यक दाना उत्पादन गर्ने ४ वटा कम्पनीले एक वर्षमा १७ अर्बको कारोबार गरेको छ ।

देशभर दाना उत्पादन गर्ने कम्पनीबीच बढ्दो प्रतिस्पर्धा रहेको अवस्थामा रेटिङ एजेन्सीमार्फत् सार्वजनिक तथ्याङ्कअनुसार ४ वटा कम्पनीले सन् २०२१ मा १७ अर्ब ८ करोड रुपैयाँको कारोबार गरेको छ ।

उक्त कारोबारको तथ्याङ्कले पनि देशभर पशुपालनमा बढ्दो आकर्षण देखिएको देखाँदछ ।

एसियन फिड प्रालि
गाईवस्तु, बंगुर, बाख्रा र माछाको दाना बेच्दै आएको एसियन फिड प्रालिले सन् २०२१ मा १ अर्ब ३३ करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ ।

मोरङको बुढीगंगा गाउँपालिकामा सन् २०११ बाट उत्पादन शुरु गरेको कम्पनीले सन् २०२० मा १ अर्ब २७ करोड २० लाख रुपैयाँको र सन् २०१९ मा १ अर्ब ३१ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीअनुसार सन् २०२१ मा कारोबार गरेकोमध्ये ८६ प्रतिशत ब्रोइलर कुखुराको दानाबाट र ९ प्रतिशत लेयर्स कुखुराको दानाको हिस्सा रहेको छ ।

कम्पनीको देशभर २५७ वटा डिलर छन् । देशभर मासुजन्य वस्तु उत्पादनमा बढ्दो आकर्षण रहेकाले उच्च रुपमा कारोबार हुँँदै गएको कम्पनीको भनाइ छ ।

अनमोल फिड प्रालि
विभिन्न ६ वटा वस्तु (ब्रोइलर, लेयर्स, प्यारेन्ट, गिरिराज), बंगुर र माछाको दाना बिक्री वितरण गर्ने अनमोल फिड प्रालिले सन् २०२१ मा ८८ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२० मा १ अर्ब ३ करोड ३० लाख रुपैयाँ र सन् २०१९ मा १ अर्ब १० करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो ।

‘रुचि पेलेट’ र ‘नौलो पेलेट’ ब्रान्डको ३० र ५० केजीको बोरामा दाना बिक्री गर्दै आएको कम्पनीको उत्पादन क्षमता ३६ हजार मेट्रिक टन छ ।

कम्पनीको देशभर १५० भन्दा बढी ग्राहक रहेको जनाएको छ । जसमा ६० प्रतिशत डिलर छन् भने ४० प्रतिशत खुद्रा व्यापारी छन् । कम्पनीअनुसार कोहलपुर, बाँके, बर्दिबास, सर्लाहीले मात्रै १ सय मेट्रिक टन खपत गर्ने गरेको छ ।

बालाजी इन्टरप्राइजेज
देशभर खाद्यान्न, फलफूल तथा पशुको दाना आयात तथा बिक्री वितरण गर्दै आएको बालाजी इन्टरप्राइजेज प्रालिले सन् २०२१ मा ३ अर्ब ७५ करोड रुपैयाँको कारोबार गरेको जनाएको छ ।

सन् २०२० मा ४ अर्ब १९ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो । त्यसैगरी, कम्पनीले सन् २०१९ मा १ अर्ब ९६ करोड ७० लाख रुपैयाँ, सन् २०१८ मा १ अर्ब ५२ करोड ६० लाख र सन् २०१७ मा ३५ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो ।

मुकेश कुमार अग्रवाल प्रवन्ध निर्देशक रहेको कम्पनीले खाद्यान्नको ट्रेडिङ गर्दै आएका छन् । विशेषगरी कम्पनीले मटर, मकै र चामलसहित अन्य विभिन्न प्रकारका खाद्यान्न बिक्री वितरण गर्दै आएको छ । कम्पनीले विभिन्न देशबाट आयात गरेको खाद्यान्न प्रशोधन गर्ने गरेको छ ।

कम्पनीकाअनुसार पछिल्लो समयमा बढ्दो शहरीकरण र व्यक्तिगत आय बढेकाले खाद्यान्नको उच्च माग रहेको छ । साथै, देशमा उत्पादन कम भएकाले खाद्यान्न र फलफूल मात्रै सन् २०२१ मा भारतबाट ६० प्रतिशत आयात गरेको कम्पनीले उल्लेख गरेको छ ।

प्रोबायोटेक इन्डिस्ट्रिज प्रालि
निम्बुस ग्रपअन्तर्गतको प्रोबायोटेक प्रालिले विभिन्न खाद्यान्नसँगै दाना उत्पादन गर्दै आएको छ । कम्पनीले विभिन्न गाईवस्तुको दाना, दाल तथा दलहनको बिक्री वितरण, तेल तथा दलहनको बिक्री गर्दै आएको आएका छन् ।

कम्पनीले सन् २०२१ मा हालसम्मकै उच्च कारोबार गरेको छ । कम्पनीले सन् २०२१ मा मात्रै ११ अर्ब १० करोड ९० लाख रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीअनुसार सन् २०२० को तुलनामा सन् २०२१ मा ३५ प्रतिशतले बढी कारोबार गरेको छ । कम्पनीले सन् २०२० मा ८ अर्ब २५ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । त्यस्तै, सन् २०१९ मा ७ अर्ब ७३ करोड ७० लाख रुपैयाँ र सन् २०१८ मा ६ अर्ब ५ करोड रुपैयाँको कारोबार गरेको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीले विगत तीन वर्षदेखि निरन्तर २३ प्रतिशतले वार्षिक कारोबार बढाउँदै लगेको जनाएको छ । निम्बुस कम्पनीअन्तर्गत सन् २००१ मा प्रोबायोटेक इन्डस्ट्रिज प्रालि कम्पनीमार्फत् विभिन्न गाईवस्तुको दाना, दाल तथा दलहनको बिक्री वितरण, तेल तथा दलहनको बिक्री गर्दै आएको उल्लेख छ ।

वार्षिक १ लाख मेट्रिक टन विभिन्न प्रकारका दाना, ४० हजार मेट्रिक टन भटमास तेल निर्यात, ३३ हजार मेट्रिक टन पाम तेल, ६ हजार मेट्रिक टन मैदा तथा पिठो र १५ हजार दाल उत्पादन क्षमता रहेको कम्पनीले जनाएको छ । विभिन्न उत्पादन वस्तुमध्ये दानाको हिस्सा सबैभन्दा धेरै रहेको कम्पनीको भनाइ छ ।

कम्पनीले विभिन्न ब्रान्डका ब्यन्जन, शक्ति, शक्ति हाइ–गेन, सोयाम्याक्स, सुनौलो किरन, प्राभिट र प्रोमिन ब्रान्डका खाद्यान्न बिक्री वितरण गर्दै आएका छन् ।

प्रोबायोटेक कम्पनीमा निम्बुस ग्रुपको ६४ प्रतिशत शेयर होेल्डिङ र बाँकी शेयर निम्बस ग्रुपमा आबद्ध व्यक्तिहरूको रहेको छ ।

साढे ६ अर्बको रेटिङ
सन् २०२१ मा ४ कम्पनीले १७ अर्बको कारोबार गर्दा अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि साढे ६ अर्बको रेटिङका लागि गराएको छ ।

रेटिङ एजेन्सीअनुसार कम्पनीका सन् २०२१ मा प्रोबायोटक कम्पनीले ४ अर्ब ३४ करोड १० लाख रुपैयाँ, बालाजी इन्टरप्राइजेजले ७५ करोड रुपैयाँ, एशियन फिड प्रालिले ५० करोड ४६ लाख रुपैयाँ र अनमोल फिड प्रालिले ८८ करोड ९१ करोड रुपैयाँको रेटिङ गरेको छ ।


अरिष्मा मोक्तान