२७ वाणिज्य बैंकको नाफा साढे ६४ अर्ब, एक वर्षमा ५ अर्बले घट्यो



काठमाडौं । बैंकहरुको नाफा बढी भएको भन्दै व्यापारिक वृत्तबाट गुनासो बढिरहेका बेला तथ्याङकमा भने बैंकको नाफा घटेको देखिएको छ ।

पछिल्लो एक वर्षमा वाणिज्य बैंकको नाफा ५ अर्ब रुपैयाँले घटेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङक अनुसार गत आवको जेठमा वाणिज्य बैैंकको नाफा ६९ अर्ब ५७ करोड रुपैयाँ थियो । तर चालु आवको जेठमा आइपुग्दा बैंकहरुको नाफा करिब ५ अर्बले घटेर ६४ अर्ब ६३ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ । यो २७ वटा वाणिज्य बैंकले जेठ मसान्तसम्म आर्जन गरेको नाफा हो ।

नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायका अनुसार कर्मचारी व्यवस्थापनमा बढी खर्च भएकाले नाफामा संकुचन आएको हो ।

‘बैंकहरुले मासिक वा त्रैमासिक रुपमा कर्मचारी व्यवस्थापनमा खर्च गर्छन,’ उनले भने, ‘असारमा गर्ने खर्च जेठ अगाडि नै गरेको हुन सक्ने भएकाले नाफा घटेको हुनसक्छ ।’

बैंकको नाफा घटबढ्को अधिकारिक तथ्याङक भने हरेक त्रैमासपछि आउन उनको भनाइ छ ।

राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म आइपुग्दा सबैभन्दा बढी नाफा ग्लोबल आइएमई बैंकले कमाएको छ । बैंकले यो अवधिमा ४ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

धेरै नाफा आर्जन गर्ने दोस्रो बैंकमा एनआईसी एसिया छ । एनआईसी एसियाले ११ महिनाको अवधिमा ४ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

नाफा कमाउनेमा नबिल बैंक तेस्रो स्थानमा छ । नबिलले यो अवधिमा ३ अर्ब ८२ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले वैशाखमा पनि उक्त रकम नाफा आर्जन गरेको थियो ।

उक्त अवधिमा सबैभन्दा कम नाफा कमाउने बैंकमा सिभिल बैंक छ । यो अवधिमा सिभिलको नाफा १ अर्ब २१ करोड ६७ लाख रुपैयाँ छ । नेपाल बैंकले भने २ अर्ब ९१ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको छ ।

यस्तै राष्ट्रिय वाणिज्यले ३ अर्ब ९२ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब २२ करोड १८ लाख रुपैयाँ, स्टयान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ९३ करोड रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ९८ करोड ५७ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब ४२ करोड ९७ रुपैयाँ नाफा आर्जन गरेका छन् ।

यस्तै नेपाल बंगलादेश बैंकले ११ महिनाको अवधिमा १ अर्ब २७ करोड २३ लाख रुपैयाँ, एभरेष्ट बैंकले २ अर्ब २४ करोड ३१ लाख रुपैयाँ, बैंक अफ काठमाण्डूले १ अर्ब २५ करोड ११ लाख रुपैयाँ, एनसीसी बैंकले १ अर्ब ९९ करोड २२ रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब ९४ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

साथै, कुमारी बैंकले १ अर्ब ४४ करोड ७९ लाख रुपैयाँ, सिद्धार्थ बैंकले २ अर्ब ८२ करोड १२ रुपैयाँ, कृषि विकास बैंकले २ अर्ब १४ करोड १७ लाख रुपैयाँ, सिटिजन्स बैंकले २ अर्ब १ करोड ५३ लाख रुपैयाँ, प्राइम बैंकले ३ अर्ब ५४ करोड ४२ लाख रुपैयाँ, सनराइज बैंक १ अर्ब ७३ करोड ४९ लाख रुपैयाँ, एनएमबिले ३ अर्ब ३४ करोड ३५ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ६५ करोड २४ रुपैयाँ, मेगा बैंकले २ अर्ब ५७ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

र, सेञ्चुरी कमर्सियल बैंकले १ अर्ब २९ करोड ४० लाख रुपैयाँ र सानिमा बैंकले २ अर्ब २ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।


क्लिकमान्डु