तीन महिनामा २० वटा उत्पादनमूलक उद्योग दर्ता, ३६ सय जनालाई रोजगारी



काठमाडौं । तीन महिनाको अवधिमा देशभर २० वटा उत्पादनमूलक उद्योग दर्ता भएको छ । उद्योग विभागको तथ्याङ्कअनुसार २०७९ को वैशाखदेखि असार २५ गतेसम्ममा देशभर २० वटा उत्पादनमूलक उद्योग दर्ता भएका छन् ।

२०७९ को शुरुवाती महिना वैशाखमा सबैभन्दा बढी उत्पादनमूलक उद्योग दर्ता भएको छ । सो महिनामा मात्रै १२ वटा उद्योग दर्ता भएको हो ।

विभागमा दर्ता भएको उद्योगमध्ये सबैभन्दा बढी बारा र मोरङमा छ । ३ महिनाको अवधिमा उक्त जिल्लामा मात्रै ३/३ वटा उद्योग दर्ता भएको छ ।
यो वर्षको शुरुमै मोरङको बुढीगंगा गाउँपालिका–४ मा प्राइम केवल इन्डष्ट्रि प्रालि (मेटल उद्योग) दर्ता भएको छ । ७०० मेट्रिक टन कप्पर सिट/कोयल, ३०० मेट्रिक टन ब्रास सिट÷कोयल, ५०० मेट्रिक टन स्टिल प्रोडक्ट र ५०० मेट्रिक टन इनामेल वायर उत्पादन क्षमतासहित २५ करोड कुल पुँजीका साथ दर्ता भएको छ । त्यसमध्ये १३ करोड स्थिर पुँजी र १२ करोड रुपैयाँ कार्यशील पुँजी रहेको विभागले जनाएको छ ।

सोही महिना मोरङको रतुमाई नगरपालिकामा कैलाश इट्टा उद्योग दर्ता भएको छ । १६ करोड ५० लाख कुल पुँजी र १ करोड ४० लाख रुपैयाँ कार्यशील पुँजी रहेको उद्योगको वार्षिक २ करोड वटा इट्टा उत्पादन क्षमता रहेको छ ।

साथै, मोरङकै बुगंगा गाउँपालिकामा १५ सय मेट्रिक टन तार उत्पादन क्षमताको उद्योग दर्ता भएको छ । उद्योगको ६ करोड ६६ लाख रुपैयाँ कुल पुँजीमध्ये ५ करोड रुपैयाँ स्थिर पुँजी र १ करोड ६६ लाख कार्यशील पुँजी रहेको छ ।

बारा जिल्लामा तीन महिनाको अवधिमा ३ वटा उत्पादनमूलक उद्योग दर्ता भएको छ । बारामा वार्षिक १० हजार मेट्रिक टन चाउचाउ उत्पादन क्षमतासहित मेघा इन्स्ट्यान्ट फुड प्रालि दर्ता भएको छ । ४७ करोड कुल पुँजी रहेको कम्पनीको कार्यशील पुँजी भने १० करोड ५० लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी, बारा जिल्लाको जीतपुरसिमरा उपनगरापालिकामा ९८ करोड कुल पुँजीमध्ये २८ करोड रुपैयाँ कार्यशील पुँजी रहेको ब्राइट मेटल इन्डष्ट्रिज प्रालि दर्ता भएको छ । सो उद्योगले एलपीजी ग्यास, पाइप तथा स्टिल बिक्री वितरण गर्ने गरी दर्ता भएको छ ।

साथै, सोही जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिकामा सवारी साधन बिक्री वितरणको एसजी अटोक्राफ्ट प्रालि दर्ता भएको छ । सो कम्पनीको कुल पुँजी ३ अर्ब रहेको छ भने कार्यशील पुँजी भने १ अर्ब १० करोड रुपैयाँ छ ।

पर्सामा प्राइम स्टिल प्रालि र त्रिवेणी राइस इण्डष्ट्रिज प्रालि दर्ता भएको छ । प्राइम स्टिलको कार्यशील पुँजी १ अर्ब ६३ करोड रुपैयाँ छ भने ५ अर्ब ५० करोड रुपैयाँ कुल पुँजी रहेको छ । साथै, त्रिवेणी राइस मिलको ४८ करोड कुल पुँजीमा कार्यशील पुँजी २६ करोड रुपैयाँ रहेको विभागको तथ्याङ्क छ ।

नवलपरसीमा पनि दुई वटा उत्पादनमूलक उद्योग दर्ता भएको छ ।

नवलपरासीमा ६ करोड कार्यशील पुँजीसहित इन्डिगो पेन्ट्स उद्योग र १२
करोडको आर्सिया फुड प्रोडक्ट्स उद्योग दर्ता भएको छ । आर्सिया फुड प्रोडक्ट्सले वार्षिक ३० हजार मेट्रिक टन दाल उत्पादन गर्ने क्षमता रहेको जनाएको छ ।

चितवनमा १ करोड ६० लाख कार्यशील पुँजीसहित वार्षिक १ हजार किलोलिटर वाइन र ८ सय किलोलिटर साइड उत्पादन क्षमता भएको एकटा वाइन इण्डष्ट्रि दर्ता भएको छ ।

ललितपुरमा वार्षिक ३०० किलोलिटर वाइन उत्पादन क्षमतामा युनाइटेड वाइनरी प्रालि दर्ता भएको छ ।

रौतहटमा ७ करोड ३० लाख कार्यशील पुँजी भएको अथर्व टेक्सटाईल्स प्रालिको वार्षिक फ्याब्रिक २२ सय ५० मिटर रहेको जनाएको छ ।
सुर्खेतमा भने ५ लाख ७४ हजार ओपीसी, २ लाख ८७ हजार पीपीसी र ९५ हजार ७ सय पीएससी र २८ हजार ५०४ क्लिङ्कर उत्पाद क्षमतासहित सूर्यतारा सिमेन्ट उद्योग दर्र्ता भएको छ । कम्पनीको कार्यशील पुँजी ३ अर्ब २७ करोड ५० लाख रुपैयाँ छ भने १४ अर्ब २७ करोड ५० लाख रुपैयाँ कुल पुँजी छ ।

काठमाडौंमा २ करोड कार्यशील पुँजीसहित पुजा सामग्री उत्पादन गर्ने सावित्री इण्डष्ट्रि प्रालि दर्ता भएको छ । कम्पनीले धुप, अविर र कपुर उत्पादन गर्ने जनाएको छ ।

झापामा इनर्जी ड्रिङ्क र जुस उत्पादन गर्ने गरी ३६ करोड ५० लाख रुपैयाँको कार्यशील पुँजीका साथ सिंगापुर वेभरेज नेपाल उद्योग दर्ता भएको छ । कम्पनीको कुल पुँजी ८० करोड रुपैयाँ रहेको छ ।

तनहुँमा ३ करोड कार्यशील पुँजीको भिएमसी फर्मास्युटिकल्स प्रालि उद्योग दर्ता भएको छ । मकवानपुरमा वार्षिक १४ हजार दुई पाङ्ग्रे र ४ हजार तीन पाङ्गे्र सवारी साधन बिक्री गर्ने क्षमतासहित दुगड अटो क्लिनिक प्रालि दर्ता भएको छ ।

डडेलधुरामा १० लाख लिटर भटमासको तेल प्रशोधन गर्ने क्षमतामा फार वेष्टर्न एग्रो प्रालि दर्ता भएको । सो कम्पनीको १ अर्ब ६३ करोड कार्यशील पुँजी छ भने ५ अर्ब ५० करोड रुपैयाँ कुल पुँजी छ ।

३६ सयलाई रोजगारी
तीन महिनाको अवधिमा २० वटा उत्पादनमूलक उद्योग दर्ता हुँदा ३६ सय २२ जनाले रोजगारी पाउने छन् । विभागमा दर्ता भएको उद्योगमध्ये सुर्खेतको सिमेन्ट उद्योगले मात्रै ६ सयलाई रोजगारी दिनेछ ।

त्यसैगरी ५ सय जनार्ला झापाको वेभरेज कम्पनीले, प्राइम स्टिलले ४ सय जनालाई, एसजी अटोक्राफ्टले ४३१ जनालाई र अन्य प्रत्येक उद्योगले ६० भन्दा बढी श्रमिकलाई रोजगारी दिनेछ ।


क्लिकमान्डु