बीमा कम्पनीले धारण गरेको जोखिम पछिमात्रै पुनर्बीमाको प्रत्यक्ष हिस्सा दिने व्यवस्था मिलाउन माग



काठमाडौं । नेपाल बीमक संघले बीमा कम्पनी आफैंले जोखिम धारण गरेपछि मात्रै बाँकी रहेको रकम बाध्यकारी प्रत्यक्ष हिस्सावापत नेपाली पुनर्बीमा कम्पनीमा पुनर्बीमा गराउने व्यवस्था गरिनुपर्ने माग गरेको छ ।

बीमा ऐनमा उल्लेखित पुनर्बीमाको परिभाषाअनुरूप नै बीमा कम्पनीहरूको जोखिम धारण गरेपश्चात प्रत्यक्ष हिस्सा दिने व्यवस्था गर्नुपर्ने व्यवस्था छ ।

संघले पुनर्बीमा सम्बन्धी व्यवस्था गर्दा जोखिम सम्बन्धमा प्रस्ट हुन जरूरी देखिएको बताएको छ । देश भित्रको सम्पूर्ण जोखिम देश भित्रै राख्नु अर्थतन्त्रका लागि अत्यधिक ठूलो खतरालाई आमन्त्रित गर्नु संघको बुझाइ छ ।

नेपाल जस्तो प्राकृतिक प्रकोप आइरहने देशको लागि कम जोखिम राख्न उपयुक्त हुने संघको बुझाइ छ । तसर्थ जोखिम धारण क्षमताको आधारमा मात्रै गर्नुपर्ने संघको दाबी छ ।

पुनर्बीमा सम्बन्धी विगत ५ वर्षहरूको तथ्यांकको अध्ययन गर्दा जोखिम अनुपात अत्यधिक भएकोले पुनर्बीमाबाट प्राप्त दाबीको औषत प्रतिशत ६० प्रतिशत र कम्पनीहरुले कमिशनवापत प्राप्त गरेको प्रतिशत ३५ प्रतिशत गरि कुल ९५ प्रतिशत रकम स्वदेश मै रहेको संघको अध्ययनले देखाएको छ ।

संघका अनुसार आर्थिक वर्ष २०७८र७९ को क्षति तथा पुनर्बीमा सम्झौता समेत समावेश गर्दा तथ्यांकमा दावी औषत प्रतिशत ७० प्रतिशत र कमिशन औषत २५ प्रतिशत रहेको छ ।

संघको अध्ययन प्रतिवेदनअुसार विगत ५ आर्थिक वर्षमा विदेशी पुनर्बीमा कम्पनीले नेपालसँगको व्यवसायमा घाटा बेहोर्दै आएका छन् ।

अध्यधिक घाटा बेहोरेको कारण नेपाली बीमा कम्पनीको जोखिम लिन विदेशी बीमा कम्पनीहरू पछि परेको संघले बताएको छ ।

संघका अनुसार हाल ‘बी रेटिङ’ भएका विदेशी पुबर्नीमा कम्पनीहरूले समेत विजनेश लिन टाढा हुँदै गएका छन् ।

‘प्राकृतिक जोखिमको कारण लगातार भएको क्षतिले नेपालको पुनर्बीमा कम्पनीहरूले व्यापारमा अत्यधिक घाटा बेहोर्नु परेको कारण उच्चस्तरिक पुनर्बीमा कम्पनीहरुले खासै चासो नलिएको अवस्था रहेको र यस वर्ष देखि ‘बी’ रेटिङ भएका पुनर्बीमा कम्पनीहरू समेत टाढिन थालेको अवस्था छ,’ संघको प्रतिवेदनमा उल्लेख छ ।

झन नियामक निकायबाट जारि निर्देशिकाको आधारमा ‘ए माइनस’ रेटिङ कम्पनी नै लिड कम्पनी चाहिने भन्ने व्यवस्थाले अत्यधिक बीमा कम्पनीहरूको पुनर्बीमा सम्झौतामा अन्यौलता देखिएको संघको निष्कर्ष छ ।

हिमालयन पुनर्बीमा कम्पनी हालै दर्ता भएको हो पुनर्बीमा कम्पनी हो । र सर्वसाधारण सेयर समेत जारी नगरेको हुँदा कम्पनीको स्वधारण क्षमता नेपाल पुनर्बीमा कम्पनीको तुलनामा अत्यधिक कम रहि क्षतिको दाबी भुक्तानी गर्ने क्षमता समेत कम रहेको संघको दाबी छ । हिमालयन पुनर्बीमाको नेटवर्थ ७ अर्ब र नेपाल पुर्नबिमा कम्पनीको १५ अर्ब रहेकोेले जोखिम धारण क्षमता पनि सोही आधारमा फरक हुने हुने संघको बुझाइ छ ।

त्यसैले बाध्यकारी हिस्सा बाहेक अन्य पुनर्बीमा ५ प्रतिशतबाट शुरू गर्नुपर्ने संघले सुझाएको छ । नेपाल स्थित पुनर्बीमा कम्पनीहरुलाई आगामी बर्षको पुनर्बीमा सम्झौतामा प्रत्यक्ष बाध्यकारी हिस्सा बाहेक पुनर्बीमा कम्पनीहरूको क्षमताको आधारमा यसवर्ष कम्तीमा ५ प्रतिशत हिस्सा उपलब्ध गराउने र क्रमश हिस्सा प्रतिशत बढाउँदै लैजाने संघको सुझाव छ ।

जसले गर्दा जोखिम समेत देशभित्र नै एकत्रित नहुने र कम्पनीहरूको क्षमताको समेत विकास हुँदै जाने संघको दाबी छ ।


क्लिकमान्डु