एक वर्षमा १० सिमेन्ट उद्योगले गरे पोनै ३२ अर्बको कारोबार, सर्वोत्तम सबैभन्दा अगाडि



काठमाडौं । नेपाल सिमेन्टमा आत्मनिर्भर भएको लामो समय भइसकेको छ । स्वदेशमा माग पूरा गरेर निर्यातको बाटो खोजिरहेका सिमेन्ट उद्योगहरुको व्यापार पछिल्लो समय चम्किएको छ ।

कोरोना महामारीको समयमा लागू भएको लकडाउनका कारण ठप्प भएको पूर्र्वाधार निर्माणले गति लिन थालेसँगै सिमेन्ट उद्योगको व्यापारमा पनि वृद्धि भएको हो ।

हाल ६५ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन् भने केही उद्योगहरु स्थापनाको चरणमा छन् । पूर्वाधार निर्माणको अथाह सम्भावना र निर्यातको प्रचुर सम्भावना भएकै कारण सिमेन्ट उद्योगहरु खुल्ने र सञ्चालित उद्योगहरुले क्षमता बढाउनमा केन्द्रित छन् ।

यसैक्रममा १० वटा कम्पनीको सार्वजनिक आँकडा अनुसार एक वर्षको अवधिमा यी कम्पनीहरुले पोनै ३२ अर्ब रुपैयाँको कारोबार गर्न सफल भएका छन् ।

सन् २०२० मा कोरोनाका कारण सुस्ताएको पूर्वाधार निर्माणले सन् २०२१ लागेसँगै गति लिएपछि व्यापार पनि बढेको हो । सिमेन्ट उद्योगहरुले सन् २०२१ मा ३१ अर्ब ७१ करोड रुपैयाँको कारोबार गर्न सफल भएका छन् ।

कुन सिमेन्टको कति कारोबार ?
सर्वोत्तम सिमेन्टः
सन् २०२१ मा सर्वोत्तम सिमेन्टले मात्रै करिब ९ अर्बको कारोबार गरेको छ । सौरभ ग्रुपबाट सञ्चालित सर्वोत्तम सिमेन्ट उद्योगसँग वार्षिक १० लाख मेट्रिक टन क्लिङ्कर र ग्रान्डिङ उत्पादन गर्ने क्षमता छ । कम्पनीले सन् २०२२ को ६ महिनाको अवधिमा ३ अर्ब ८१ करोड ३० लाख रुपैयाँ बराबर कारोबार गर्ने प्रक्षेपण छ ।

पाल्पा सिमेन्टः सर्वोत्तमपश्चात पाल्पा सिमेन्टले सन् सबैभन्दा बढी कारोबार गरेको छ । कोरोनाको समयमा पनि कुनै खासै असर नपरेको पाल्पा सिमेन्टले सन् २०२१ ४ अर्ब ४४ करोड रुपैयाँको गरेको छ । कम्पनीले सन् २०२० मा ३ अर्बको मात्रै कारोबार गरेको थियो । आरएमसी ग्रुपअन्तर्गत सञ्चालनमा रहेको पाल्पा सिमेन्ट उद्योगसँग वार्षिक ७ लाख मेट्रिक ग्रान्डिङ तथा क्लिङ्कर उत्पादन क्षमता छ ।

सम्राट सिमेन्टः सन् २०२१ मा सम्राट सिमेन्टले ४ अर्ब १० करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो जबकी सन् २०२० मा २ अर्ब रुपैयाँको कारोबार गरेको थियो । कम्पनीमा चौधरी ग्रुपको ३५.८५ प्रतिशत सेयर स्वामित्व छ । कम्पनीमा निर्वाण चौधरी र बरुण चौधरी निर्देशक छन् भने अध्यक्षमा अनिल कुमार रुगाटा छन् । साथै, बासुदेव पाण्डे प्रबन्ध निर्देशक छन् । दैनिक ४ हजार मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता रहेको कम्पनीले गजराज, गजराज प्रिमियम, बाज, बाज प्रिमियम, बादशाह, सम्राट र सम्राट प्रिमियममा ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

बृज सिमेन्टः बृज सिमेन्टले सन् २०२१ मा २ अर्ब ९९ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ । जबकी कम्पनीले सन् २०२० मा २ अर्ब ८६ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो । कोरोना महामारीका कारण घटेको कारोबार बिस्तारै बढ्दै गएको कम्पनीले जनाएको छ । कम्पनीले सन् २०२२ को ६ महिनामा १ अर्ब १४ करोड ९० लाख रुपैयाँको कारोबार गर्ने अनुमान गरेको छ ।

केडिया अर्गनाइजेशनद्वारा सञ्चालित बृज सिमेन्टको दैनिक उत्पादन क्षमता १२ सय मेट्रिक टन छ । कम्पनीले दुई वटा ब्रान्डका ओपीसी, ३ वटा ब्रान्डमा पीपीसी सिमेन्ट र एउटा ब्राण्डमा पीएसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

जगदम्बा सिमेन्टः सिमेन्ट क्षेत्रमा स्थापित ब्रान्ड जगदम्बा सिमेन्ट कम्पनीले सन् २०२१ मा २ अर्ब ९२ करोड २० लाख रुपैयाँको कारोबार गरेको छ । कोरोना महामारीमा कारोबार खस्किएको कम्पनीले सन् २०२२ को ९ महिनाको अवधिमा २ अर्ब १९ करोड रुपैयाँको कारोबार हुने अनुमान गरेको छ ।

दुई ठूला घारानाका व्यवसायी ग्रुप शंकर ग्रुप र सौरभ ग्रुपद्वारा सञ्चालित जगदम्बा सिमेन्टको उत्पादन क्षमता दैनिक १ हजार मेट्रिक टन छ । कम्पनीले ‘जगदम्बा’ ब्रान्डमा ओपीसी र पीपीसी सिमन्ट बिक्री वितरण गर्दै आएका छन् ।

शालिमार सिमेन्टः ओपीसी र पीपीसी सिमेन्ट गरी विभिन्न ७ वटा ब्रान्ड र ८ वटा ब्रान्डमा पीएसी सिमेन्ट उत्पादन गर्दै आएको नेपाल शालिमार सिमेन्टले सन् २०२१ म २ अर्ब ४५ करोड रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२० मा २ अर्ब २४ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो । शालिमार ग्रुपबाट सञ्चालित कम्पनीको वार्षिक उत्पादन क्षमता ५ लाख ४५ हजार मेट्रिक टन छ ।

अम्बे सिमेन्टः अम्बे सिमेन्टले सन् २ अर्ब ४ करोड २० लाखको कारोबार गरेको छ । ओपीसी, पीसीसी सिमेन्ट र पीएसी गरी विभिन्न १० वटा ब्रान्डमा सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीको क्षमता दैनिक १ हजार मेट्रिक टन छ । अम्बे ग्रप अफ कम्पनीद्वारा सञ्चालनमा रहेको अम्बे सिमेन्ट कम्पनीले ‘अम्बे’ ब्रान्डमा सिमेन्ट उत्पादन गर्दै आएका छन् ।

सप्तकोशी सिमेन्टः एचआर गोयल ग्रुपद्वारा सञ्चालित सप्तकोशी सिमेन्ट कम्पनीले सन् २०२१ मा २ अर्ब १ रकोड ८० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२० मा १ अर्ब ६७ करोड ७० लाखको कारोबार गरेको थियो । ग्रान्डिङ सिमेन्ट मात्रै उत्पादन गर्दै आएको कम्पनीले ओपीसी सिमेन्ट मात्रै उत्पादन गर्ने गरेको कम्पनीको भनाइ छ ।

अग्नी सिमेन्टः अग्नी सिमेन्टले सन् २०२१ मा १ अर्ब ३५ करोड २० लाख रुपैयाँको कारोबार गरेको छ । दैनिक ९ सय मेट्रिक टन उत्पादन क्षमता रहेको कम्पनीले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । अग्नी, ओरियन्ट र त्रिदेव ब्रान्डमा पीपीसी र अल्फा ब्रान्डमा ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको कम्पनले ३१ वटा जिल्लामा बिक्री वितरण गर्दै आएका छन् ।

काबेली सिमेन्टः सन् २०१८ मा दर्ता गरी सञ्चालनमा आएको काबेली सिमेन्टले सन् २०२१ मा ४३ करोड ३० लाख मात्रको कारोबार गरेको छ । वार्षिक १ लाख ६५ हजार मेट्रिक टन ग्रान्डिङ सिमेन्ट उत्पादन क्षमता रहेको कम्पनीले २ वटा ब्रान्डका ओपीसी र ५ वटा ब्रान्डमा पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । झापामा रहेको उद्योगले सन् २०२१ मा सबैभन्दा कम कारोबार छ ।

३४ अर्ब ऋणका लागि रेटिङ
देशभरको १० वटा सिमेट उद्योगले सन् २०२१ मा ३१ अर्ब ७१ करोड रुपैयाँ कारोबार गरेका यी १० कम्पनीहरुले ३३ अर्ब ८९ करोड ३६ लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएका छन् ।

रेटिङ एजेन्सीहरु इक्रा नेपाल र केयर रेटिङले उद्योगहरूको अल्पकालीन र दीर्घकालीन कर्जाका लागि ३३ अर्ब बढी रेटिङ गराएका हुन् ।

सन् २०२१ मा सबैभन्दा बढी सम्राट सिमेन्टले कर्जाका लागि रेटिङ गराएको छ । दाङ जिल्लाको सिम्ले (थारा) बाट चुनढुङ्गा उत्खनन्का लागि लिने ऋणका लागि ११ अर्ब ४४ करोड १० लाख रुपैयाँको रेटिङ गराएको छ ।

त्यसैगरी, पाल्पा सिमेन्टले ८ अर्ब ९ करोड ५० लाख रुपयाँ, सर्वोत्तम सिमेन्टले ६ अर्ब ३५ करोड ३० लाख रुपैयाँ, बृज सिमेन्टले १ अर्ब ४७ करोड ५० लाख रुपैयाँ र जगदम्बा सिमेन्टले १ अर्ब ४५ करोड ३० लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएका छन् ।

अग्नी सिमेन्टले ८० करोड ५६ लाख रुपैयाँ, सप्तकोशी सिमेन्टले १ अर्ब १२ करोड रुपैयाँ, अम्बे सिमेन्टले ९५ करोड रुपैया, नेपाल शालिमार सिमेन्टले १ अर्ब ६० करोड ६० लाख र काबेली सिमेन्टले ५९ करोड ५० लाख रुपैयाँको रेटिङ गराएका छन् ।


अरिष्मा मोक्तान