सम्राट सिमेन्टले सिम्ले चुनढुङ्गा खानीबाट दैनिक ४ हजार मेट्रिक टन उत्खनन् गर्ने



काठमाडौं । दाङ जिल्लामा रहेको सम्राट सिमेन्ट कम्पनीले सिम्ले (थारा) चुनढुङ्गा खानी आयोजना सञ्चालनको कार्य अगाडि बढाएको छ ।

कम्पनीले सो चुनढुङ्गा खानी आयोजना उत्खनन्का लागि वातावरणीय प्रभाव मूल्याङ्कनको प्रस्तावसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मातहतमा रहेको खानी तथा भूगर्भ विभागलाई पेश गरेको छ ।

कम्पनीले बंगलाचुली गाउँपालिका वडा नम्बर ३ स्थित सिम्ले (थारा) मा चुनढुङ्गा खानी सञ्चालनका लागि प्रस्ताव गरिएको हो । जसमा कम्पनीले थाराको जनचेतना सामुदायिक वन क्षेत्रको थारा खण्ड र आयोजनाको स्वामित्वमा रहेकोको निजी जमिन प्रयोग गरी सञ्चालन गर्न प्रस्ताव गरेको हो ।

कम्पनीले खानीको चुनढुङ्गा प्रयोग गरी दाङ जिल्लाको लमहीमा अवस्थित सम्राट सिमेन्ट उद्योग सञ्चालन गर्ने उद्देश्य राखिएको छ । खानीबाट उत्खनन् गरिएको चुनढुङ्गा सिमेन्ट उद्योगमा नै टुक्रा पारी प्रयोग गरिने प्रस्ताव गरिएको प्रतिवेदनमा उल्लेख छ ।

उक्त सिमेन्ट उद्योगको क्षमता दैनिक ५ हजार टन छ । उद्योगलाई आवश्यक चुनढुङ्गा पूर्तिका निमित्त सतही उत्खननु् प्रणाली अवलम्बन गरी दैनिक ४ हजार मेट्रिक टनसम्म चुनढुङ्गा उत्खनन गर्ने गरी प्रस्ताव गरिएको कम्पनीले जनाएको छ ।
थारामा प्रस्तावित चुनढुङ्गा खानीको कुल खनिज सञ्चिति २ करोड ५५ लाख टन रहेको छ । उक्त खनिजलाई दैनिक ४ हजार मेट्रिक टनसम्म उत्खनन गर्न प्रस्ताव गरेको छ ।

आयोजनाका लागि आवश्यक पर्ने जमिन वन तथा भू–संरक्षण विभागको स्वामित्वमा रहेको छ भने बाँकी जमिन आयोजनाको आफ्नै स्वामित्वमा रहेको छ ।
कम्पनीकाअनुसार आयोजनालाई कुल ४२.३३ हेक्टर जमिन आवश्यक छ । त्यसमध्ये ३५.१७ हेक्टर जमिन उत्खनन् क्षेत्रका लागि आवश्यक पर्दछ ।

कम्पनीले भूगर्भ विभागसँग ३.२२ वर्गमिटर क्षेत्रमा चुनढुङ्गा खोज कार्यको अनुमतिपत्र प्राप्त गरेको जनाएको छ । कुल ७० हेक्टरमा गरिएको विस्तृत सर्वेक्षणमा आयोजना क्षेत्रको करिब ५० हेक्टर क्षेत्रफलमा आर्थिक हिसाबले उत्खनन् योग्य चुनढुङ्गा पाइएको कम्पनीको भनाइ छ ।

अनुमतिपत्र क्षेत्रमा सिम्लेको डाँडोबीचमा सानो ढिक छ । यो ढिकमा दुईवटा चुनढुङ्गा खानी पहिचान गरिएको छ । जसलाई सानो खोल्सोले छुट्टाइएको छ । पहिलो खानीको क्षेत्रफल २१.३६ हेक्टर छ भने दोस्रो खानीको क्षेत्रफल ३.०४ हेक्टर रहेको छ ।

आयोजना क्षेत्रमा आर्थिक गतिविधि बढ्ने तथा स्थानीय अर्थव्यवस्थामा वृद्धि हुने आयोजना र आयोजनाका कामदारले स्थानीय बजारमा सामग्री किनमेल गर्ने तथा रोजगारीमार्फत् पैसाको कारोबार बढ्ने जनाएको छ ।

त्यस्तै, स्थानीय सरकारले अर्थव्यवस्थामा वृद्धि हुने, स्थानीय सरकारलाई आयोजनाले चुनढुङ्गा उत्खनन् गर्दा प्रतिटन ६ रुपैयाँ राजस्व तिर्ने भएकाले सरकारले दिगो आर्थिक स्रोत उपलब्ध हुने तथा सरकारले समग्र अर्थ व्यवस्थामा वृद्धि गर्ने जनाएको छ ।

आयोजनाले करिब १ सय जनालाई रोजगारी उपलब्ध गराउने भएकाले स्थानीयले समेत रोजगारीको अवसर प्राप्त हुने कम्पनीको भनाइ छ । साथै, सिमेन्ट कम्पनी नेपालमै क्लिङ्करको उपलब्धता तथा क्लिङ्कर आयातमा कम हुन गई राष्ट्रको कूल ग्राहस्थ उत्पादनमा वृद्धि हुने जनाएको छ ।


क्लिकमान्डु