नयाँ जीवन बीमा कम्पनीले बजार हिस्सा बढाए, नेपाल लाइफसहित ५ पुराना कम्पनीको भने घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले १ खर्ब १९ अर्ब ४७ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । जुन गत आवको यसै अवधिको तुलनामा १६.७५ प्रतिशतले बढी हो ।

गत आवको जेठ महिनासम्ममा जीवन बीमा कम्पनीहरूले १ खर्ब २ अर्ब ३४ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।

समितिले उपलब्ध गराएको तथ्यांकअनुसार जीवन बीमा व्यवसायतर्फ नयाँ कम्पनीले पुराना कम्पनीलाई बजार हिस्सामा चुनौती दिएका छन् । नयाँ बीमा कम्पनीहरू व्यवसाय बिस्तारमा अब्बल देखिँदा पुराना कम्पनीको बजार हिस्सा गुम्दै गएको हो ।

नयाँ बीमा कम्पनीले आक्रामकरूपमा बजार बिस्तार गर्दा वर्षौ अघिदेखि बजारमा राम्रो उपस्थिती देखाउँदै आएका पुराना बीमा कम्पनीको बजार हिस्सा घट्न थालेको छ ।
चालु आवको ११ महिनाको तथ्यांकअनुसार यस अवधिमा नेपाल लाइफसहितका ५ वटा कम्पनीको बजार हिस्सा घटेको छ ।

नेपाल लाइफ, मेट लाइफ, राष्ट्रिय बीमा संस्थान, एलआइसी नेपाल र गुराँस लाइफ इन्स्योरेन्सको बजार हिस्सा घटेको हो ।

चालु आवको जेठ महिनासम्ममको तथ्यांकअनुसार सबैभन्दा धेरै बजार हिस्सा गुमाउनेमा नेपाल लाइफ परेको छ ।

यस अवधिसम्मा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा परे पनि कम्पनीको बजार हिस्सा भने १.२६ प्रतिशत विन्दुले गुमेको हो ।

कम्पनीको बजार हिस्सा गत आवको सोही अवधिमा २६.९४ प्रतिशतबाट गुमेर २५.६८ प्रतिशतमा झरेको हो ।

नेपाल लाइफपछि धेरै बजार हिस्सा गुमाउने कम्पनीमा एलआइसी नेपाल परेको छ । गत आवको यसै अवधिको तुलनामा कम्पनीको बजार हिस्सा १.९७ प्रतिशत विन्दुले घटेर १२.३८ प्रतिशत विन्दुमा सीमित भएको छ ।

गत आवको यसै अवधिमा कम्पनीको बजार हिस्सा १४.३५ प्रतिशत रहेको थियो ।
तेस्रोमा राष्ट्रिय बीमा संस्थान परेको छ । संस्थानले ०.८२ प्रतिशत विन्दुले बजार हिस्सा गुमाएको छ । कम्पनीको बजार हिस्सा ७.०९ प्रतिशतबाट झरेर ६.२७ प्रतिशतमा सीमित भएको हो ।

यस्तै, मेट लाइफ इन्स्योरेन्सको बजार हिस्सा ०.४४ प्रतिशत विन्दुले घटेर ४ प्रतिशतमा कायम भएको छ । गत आवको जेठ मसान्तसम्ममा यस कम्पनीको बजार हिस्सा ४.४५ प्रतिशत थियो ।

गुराँस लाइफले ०.८१ प्रतिशत विन्दुले घटेको छ ।

प्राइम, सूर्या, एशियन र नेशनल लाइफ इन्स्योरेन्सले भने बजार हिस्सा बढाएका छन् । गत आवको यसै अवधिको तुलनामा प्राइम लाइफको बजार हिस्सा ०.४५ प्रतिशत, सूर्या लाइफको बजार हिस्सा ०.०३ प्रतिशत र एशियन लाइफको बजार हिस्सा ०.०८ प्रतिशतले बढेको हो ।

यस्तै, गत आवको यसै अवधिको तुलनामा नेशनल लाइफ इन्स्योरेन्सको बजार हिस्सा ०.७५ प्रतिशतले बढेको छ । चालु आवको जेठ मसान्तसम्ममा नेशनलको कुल जीवन बीमा व्यवसायमा १०.१० प्रतिशत हिस्सा ओगटेको छ । गत आवको जेठ मसान्तसम्ममा कम्पनीले ९.३५ प्रतिशत हिस्सा ओगटेको थियो ।

तथ्यांकअनुसार पूराना ४ जीवन बीमा कम्पनीसँगै सञ्चालनमा रहेका सबै नयाँ कम्पनीले आफ्नो बजार हिस्सा बढाउँदै गएका छन् ।

सञ्चालनमा रहेका १० नयाँ जीवन बीमा कम्पनीमध्ये सिटिजन लाइफ र सन नेपाल लाइफको बजार हिस्सा गत आवको सोही अवधिको तुलनामा १ प्रतिशत धेरैले बढेको छ ।

सन नेपाल लाइफको बजार हिस्सा १.१४ प्रतिशतले बढेर २.९६ प्रतिशत र सिटिजन लाइफको १.०६ प्रतिशतले बढेर ३.८६ प्रतिशत कायम भएको छ ।

नेपाल लाइफले ३० अर्ब ६७ करोड ९० लाख रूपैयाँ भन्दा बढी बीमाशुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको जेठसम्ममा कम्पनीले २७ अर्ब ५७ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

सबैभन्दा धेरै बीमाशुल्क बढाउनेमा जीवन बीमा कम्पनीमा सन नेपाल लाइफ इन्स्योरेन्स परेको छ । यस अवधिमा सन नेपाल लाइफको बीमाशुल्क ८९.९५ प्रतिशतले बढेर ३ अर्ब ५३ करोड ३० लाख रूपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ८६ करोड रूपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिमा १८ वटा जीवन बीमा कम्पनीले व्यवसाय बढाउँदा गुराँस लाइफ इन्स्योरेन्सको व्यवसाय भने घेटको छ । गत आवको सोही अवधिको तुलनामा गुराँसको व्यवसाय १३.७९ प्रतिशतले घटेर २ अर्ब ७३ करोडमा सीमित भएको हो ।

गत आवको जेठ मसान्तसम्मा गुराँसले ३ अर्ब १७ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।


क्लिकमान्डु