करिब २ सय अंकले नेप्से परिसूचक बढ्दा मार्जिन कलमा राहत, मसान्तको खतरा कायमै



काठमाडौं । एकसातामा नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १८९ बिन्दुले बढ्दा लगानीकर्तालाई बैंकहरुले दिने मार्जिन कलबाट राहत भएको छ ।

असार मसान्त लागेसँगै सेयर धितो लिएर ऋण लिएका लगानीकर्ताहरु घट्दो बजारमा मार्जिन कलको दबाबमा थिए । एकसाता अघि नेप्से परिसूचक १८४८ बिन्दुमा पुगेको बेला बजार धराशायी हुने बैंकबाट थप दबाब आउने चिन्ता बैंकहरुलाई थियो ।

बैंक वित्तीय संस्थाले सेयर धितोमा ७० प्रतिशतसम्म ऋण दिने गर्छन् । यसरी दिने ऋण १८० दिनको औसत मूल्य वा बजार मूल्यमा जुन कम हुन्छ त्यही आधारमा दिने गरिन्छ ।

बैंक तथा वित्तीय संस्थाले दोस्रो बजारमा सेयर मूल्य २० प्रतिशतले घटेपछि मार्जिन कल गर्छन् । यस्तो अवस्थामा लगानीकर्ताले बैंकमा कम भएको रकम थप राख्नुपर्छ अथवा सेयर बेचेर ऋण तिनुपर्छ ।

लगानीकर्ता राजन लम्साल एकहप्ता अगाडिसम्म सेयर बजार हरेक दिन घट्दा अत्यधिक मार्जिन कलको दबाब आएको बताउँछन् ।

‘एक साता अगाडि र अहिलेको स्थितिमा फरक भनेको परिसूचक करिब २ सय अंकले बढेको छ, यसले सेयर धितो राखेर ऋण लिनेलाई मार्जिन कलमा केही राहत दिएको छ,’ लम्सालले क्लिकमाण्डूसँग भने ।

असार ९ गते नेप्से परिसूचक १८४८ बिन्दुमा पुग्ने समय लगानीकर्तालाई अत्यधिक मार्जिन कलको दबाब थियो । सेयर बजार हरेक दिन ओरोलो लाग्ने र त्यसले ऋण लिएर सेयर किन्नेहरु निकै दबाबमा थिए ।

असार मसान्त भएको हुँदा अन्य क्षेत्रको ऋण तिर्न समेत सेयर बिक्रीको दबाब परेपनि बजार बढेमा मार्जिन कल नहुने विश्वास लगानीकर्ताको छ ।
‘एकसातामा करिब २ सय बिन्दुले बजार बढेको छ, आगामी हप्ता लगानीकर्ताले अल्पकालिन फाइदा नलिएर होल्ड गरेमा बजार नघट्ने सम्भावना छ, अल्पकालिन फाइदा लिएर बिक्री गरेमा बजार घट्ने र मार्जिन कलको दवाव आउने छ,’ लम्सालले भने ।

पछिल्लो १० दिनमा एलआईसी नेपालको सेयर मूल्य ४० प्रतिशतले बढेको छ । असारको पहिलो साता प्रतिकित्ता १०६५ सम्ममा झरेको एलआईसी नेपालको सेयर मूल्य अहिले १४८८ मा आएको छ ।

कुनै लगानीकर्ताले एलआईसीको सेयर धितो राखेर ऋण लिएको लिएको थियो भने १० दिन अगाडि उसलाई मार्जिन कल आउने पक्का थियो । तर,१० दिनमा करिब ४० प्रतिशतले मूल्य बढ्दा उसलाई मार्जिक कल आउने सम्भावना कम हुन्छ ।

अहिले खास गरेर २४ सय बिन्दुभन्दामाथि नेप्से परिसूचक हुँदा सेयर धितो राखेर ऋण लिएका लगानीकर्ता बढी दवावमा छन् । एकसाताको बृद्धिले मार्जिन कललाई केही हदसम्म रोक्न मद्दत गरेपनि बजार बढ्न ढुक्क नभएको हुँदा मार्जिन कलको दबाब लगानीकर्तालाई कायमै रहेको छ ।

‘बजार बढ्नेमा ढुक्क हुने स्थिती छैन ,एकसातादेखि बढेको बजारले मार्जिन कलको दबाब कम भएको छ, घटेमा पुनः दबाब आउने छ,’ एक लगानीकर्ताले भने ।

नबिल बैंकका महाप्रवन्धक मनोज ज्ञवाली सेयर बजार घटेपछि मार्जिन कल गर्नु बाध्यता रहेको बताउँछन् ।

‘सेयर बजार बढेको बेला मार्जिन कल हुने होइन, घटेको समयमा राष्ट्र बैंकको नियम अनुसार गर्नुपर्ने बैंकहरुको बाध्यता हो,’ ज्ञवालीले भने ।

असार मसान्तमा घटेको बेला ऋणीलाई सुविधा दिनसक्ने स्थितीमा बैंक नरहेको ज्ञवाली बताउँछन् । उनले एकसातामा बजार बढेको हुँदा अघिल्लो साताभन्दा कम मार्जिन कल गर्नु परेको बताए ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिदेखि सेयर धितो कर्जामा ४÷१२ को नियम ल्याएको थियो । जसमा एउटा व्यक्तिले सेयर धितो राखेर एउटा बैंकमा ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोडसम्म ऋण लिन पाउने व्यवस्था गरेको थियो ।
सो व्यवस्था बैंक तथा वित्तीय संस्थाले नवीकरण गर्नुपर्ने कर्जामा गतवर्ष साउनदेखि कार्यान्वयन गर्नुपर्ने तथा नवीकरण नभएकोमा असार मसान्तदेखि कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरेको थियो । यसले ठूला ऋणीहरु बढी प्रभावित बनेका थिए । सेयर लगानीकर्ता राजन लम्साल ४÷१२ को व्यवस्थापन गर्नुपर्ने लगानीकर्ताले करिब गरिसकेको बताउँछन् ।

‘४÷१२ को सीमा सेयर कर्जा भएका लगानीकर्ताको नवीकरण नै नहुने व्यवस्था थियो, यो समस्या करिब समाधान भइसकेको छ,’ लम्सालले भने ।

राष्ट्र बैंकले ४÷१२ को व्यवस्था गरेपछि सेयर धितो राखेर दिइने ऋण समेत घटेको छ । गत वर्ष असार मसान्तसम्म १ खर्ब ६ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा कर्जा दिएका थिए । अहिले ९१ अर्ब ४१ करोडमा घटेको छ ।

१ करोडभन्दा बढीको सेयर धितो कर्जा १८ अर्बले घटेको छ । असार मसान्तसम्म ७३ अर्ब रहेको ऋण अहिले ५५ अर्बमा झरेको छ । १० लाखदेखि ५० लाखसम्म सेयर धितोमा गएको कर्जा भने बढेको छ ।


क्लिकमान्डु