कोषबाट सस्तोमा ऋण लिएर आकर्षक ब्याज पाइने मुद्दतिमा निक्षेप राख्दै सञ्चयकर्ता



काठमाडौं । बैंकहरुले मद्दति निक्षेपमा आकर्षक ब्याज दिन थालेपछि सञ्चयकर्ताहरुले सञ्चय कोषबाट सस्तो ब्याजदरमा कर्जा लिएर मुद्दति निक्षेपमा राख्न थालेका छन् । सञ्चय कोषले दिने कर्जाको ब्याजदरभन्दा मुद्दति निक्षेपमा ३ प्रतिशत विन्दु बढी ब्याज पाउने भएपछि सञ्चयकर्ताहरुले चलाखी गरेका हुन् ।

कर्मचारी सञ्चय कोषले अहिले ८ प्रतिशत ब्याजदरमा कर्जा दिन्छ । सञ्चयकर्तालाई कोषले घर बनाउन तथा मर्मत गर्न, विशेष सापटी तथा सरल चक्र कर्जा उपलब्ध गराउँदै आएको छ ।

कोषको ब्याजदर हरेक वर्ष साउनमा परिवर्तन हुँदै आएको छ । कोषले सञ्चयकर्तालाई विशेष सापटी ७.६० प्रतिशत, घरकर्जा ७.९० तथा सरल चक्र कर्जा ८ प्रतिशत ब्याजदरमा ऋण दिने गरेको छ ।

सञ्चयकर्ताहरुले कोषबाट विशेष सापटी र सरल चक्र कर्जा सस्तो ब्याजदरमा ऋण लिएर वाणिज्य बैंकको मुद्दति निक्षेपमा राख्न थालेका हुन् ।

सञ्चय कोषले सञ्चयकर्तालाई नै चालु आर्थिक वर्षमा बढी ऋण दिएको कारण उसको बैंक तथा वित्तीय संस्थामा भएको निक्षेप समेत घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार सञ्चय कोषको बैंक तथा वित्तीय संस्थामा भएको निक्षेप असार मसान्तको तुलनामा वैशाख मसान्तमा १५ प्रतिशतले घटेको छ । वैशाख मसान्तसम्मा सञ्चय कोषको बैंकहरुमा १ खर्ब ९ अर्ब निक्षेप छ । असार मसान्तमा १ खर्ब २८ अर्ब निक्षेप रहेको थियो । १९ अर्बले सञ्चय कोषले राखेको निक्षेप घटेको देखिएको छ ।

सञ्चयकर्ताले कोषबाट बढीमा ८ प्रतिशत ब्याजदरमा ऋण लिएर बैंकमा ११.०३ प्रतिशत ब्याज पाउने गरेर मुद्दति निक्षेपमा पैसा राख्ने गरेका छन् । यसरी सञ्चयकर्ताले कोषबाट ऋण लिएर बैंकमा राख्दा ३ प्रतिशत बिन्दुको ब्याजदरको फाइदा बसी बसी लिने गरेका छन् ।

‘हाम्रा कर्मचारीले कोषको ऋण सुविधाको प्रयोग गरेर बैंकमा निक्षेपमा पैसा राख्ने गरेका छन्,’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ।

वित्तीय व्यवस्थापन बुझेका बैंकका कर्मचारीले नै कोषले उपलब्ध गराएको सुविधामा ऋण लिएर बैंकमै पैसा जम्मा गर्न थालेका छन् । ऋणको अत्यधिक मागको कारण कोषलाई समेत तरलता व्यवस्थापनमा कठिनाई हुन थालेको छ ।

यसरी कर्मचारीले ऋण लिएर बैंकको मुद्दति निक्षेपमा पैसा राख्नेमा नागरिक लगानीकोषका बचतकर्ता समेत गरेका छन् ।
नागरिक लगानी कोषले ८ प्रतिशत ब्याजदरमा ऋण दिन्छ । कोषले बैंकहरुमा १ खर्ब ८ अर्ब निक्षेप राखेको छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष संस्थागततर्फ ठूला निक्षेपकर्ता हुन् ।

कर्मचारी सञ्चय कोषका निमित्त प्रशासक जितेन्द्र धितालले पछिल्लो समय सञ्चयकर्ताले ऋणको माग गर्ने क्रम बढेको बताउँछन् ।

‘एक वर्षअघिसम्म बैंक र कोषले दिने ऋणको ब्याजदर समान थियो, अहिले धेरै नै अन्तर छ, ब्याजदर अन्तर फरक भएपछि कोषमा ऋण माग्ने सञ्चयकर्ता बढेका छन्,’ धितालले क्लिकमाण्डूसँग भने ।

केही सञ्चयकर्ताले कोषबाट ऋण लिएर बैंकको मुद्दति निक्षेपमा राखेको हुनसक्ने धितालको भनाइ छ ।

‘हामीले नियम अनुसार सञ्चयकर्तालाई ऋण सुविधा उपलब्ध गराउने हो, ब्याजदर बढी भएपछि सुविधामा पाउने ऋण लिएर बैंकको मुद्दति निक्षेपमा राखेको हुनसक्छन्,’ उनले भने ।

कोषले हरेक वर्ष साउनमा ब्याजदर परिवर्तन गर्छ । तरलता अभाव भएको हुँदा कोषले साउनदेखि लागू हुने गरेर अहिलेको तुलनामा ब्याजदर बढाउने करिब निश्चित छ । सञ्चय कोषले सञ्चयकर्तालाई हाल २ खर्बभन्दा बढी ऋण दिएको छ ।


क्लिकमान्डु