मृत्युदर तालिका परिमार्जन हुँदै, जीवन बीमाशुल्क घट्नसक्ने



काठमाडौं । बीमा समितिले मृत्युदर तालिका परिमार्जन गर्ने भएको छ ।

करिब १३ वर्षअघि जारी भएको बीमितको मृत्युदर तालिका परिमार्जनका लागि बीमा समितिले आवश्यक गृहकार्य थालनी गरेको हो ।

२०६६ सालमा पहिलो पटक बीमितको मृत्युदर तालिका जारी भएको थियो । कम्पनीहरूले सोही तालिका प्रयोग गर्दै आएका छन् ।

यसअघि पनि समितिले बीमितको मृत्युदर तालिका परिमार्जनका लागि प्रयास भएको थियो । तर, परिमार्जन भने हुन सकेको थिएन ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमितको मृत्युदर तालिका परिमार्जन गर्नका लागि प्रारम्भिक अध्ययन गरिएको जानकारी दिए ।

‘१३ वर्षअघि जारी भएको बीमितको मृत्युदर तालिकालाई परिमार्जन गर्नका लागि प्रारम्भिक अध्ययन गरिएको छ,’ कार्यकारी निर्देशक पौडेलले क्लिकमाण्डूसँग भने, ‘लामो समयदेखि एउटै मृत्युदर तालिकामा मात्रै सीमित हुँदै आइएको छ । अब भने यसलाई परिमार्जन गर्नका लागि पहल थालिएको छ ।’

समितिमा रहेका ट्रेनी एक्चुअरीमार्फत् बीमितको मृत्युदर तालिका परिमार्जनका लागि प्रारम्भिक अध्ययन गरिएको पौडेलले बताए ।

२०६६ सालमा बीमितको मृत्युदर तालिका तयारी भई कार्यान्वयनमा रहेको र यस अवधिमा दुई पटक राष्ट्रिय जनगणना समेत भई औषत मृत्युदर सम्बन्धी तथ्याङ्क सार्वजनिक भइसकेको सन्दर्भमा बीमितको मृत्युदर तालिकालाई समयसापेक्ष परिमार्जन गर्नु आवश्यक रहेको उनको भनाइ छ ।

नेपाली बीमितको मृत्युदर तालिकालाई समयसापेक्ष अद्यावधिक गर्ने उद्देश्यले यससम्बन्धी प्रारम्भिक अध्ययन गरिएको समितिले जानकारी दिएको छ ।

बीमितको मृत्युदर तालिकासँग सम्बन्धित तथ्याङ्कहरूलाई अद्यावधिक गर्न बीमा कम्पनीहरूलाई निर्देशन समेत दिइएको छ ।

२०६६ सालमा तयार भई हाल कार्यान्वयनमा रहेको नेपाली बीमितको मृत्युदर तालिका, २०६६ लाई समयसापेक्ष अद्यावधिक गर्ने उद्देश्यले गरिएको प्रारम्भिक अध्ययनका बारेमा छलफल गरी सुझावहरू समेत लिन थालेको छ ।

बीमा समितिले जीवन बीमालेखसँग सम्बन्धित नेपाली बीमितको मृत्युदर तालिकासम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत गरिसकेको छ ।

नेपालीको औसत आयु वृद्धि भएको छ । औसत आयु बढ्दा मृत्युदर पनि घट्ने भएकाले केही मात्रामा बीमाशुल्क पनि घट्ने अनुमान गरिएको उनले बताए ।

‘बीमांकी पढिरहेका एक्चुअरीहरूले तथ्यांक संकलन गरेर प्रतिवेदन बनाएका थिए । १३ वर्षसम्म पुरानै मृत्युदर र तालिकाले धानिरहेको अवश्था थियो,’ पौडेलले थपे, ‘मृत्युदर पुरानो भएको अवश्थालाई मध्यनजर गर्दै परिमार्जन गर्ने अभ्यास थालिएको हो ।’

समितिमा भएका ट्रेनी एक्चुअरीले तयार पारेको प्रारम्भिक तथ्यांकलाई थप अध्ययन गरेपछि परिमार्जन हुने उनको भनाइ छ ।

‘स्वास्थ्य प्रति नागरिकहरू सचेत छन् । पछिल्ला वर्षमा नेपालीको मृत्युदर कम हुँदै गएको तथ्यांकले पुष्टि गर्दै आएको छ,’ उनले भने, ‘जसले गर्दा औषतमा बीमाशुल्क पनि घट्न सक्ने अनुमान गरिएको छ ।’

मृत्युदर तालिकामा बीमितको मृत्युदरलाई प्रतिहजारमा गणना गरिएको हुन्छ । तालिकामा मृत्यु हुन सक्ने बीमितको संख्यालाई आंकलन गरिएको हुन्छ ।

बीमाशुल्क निर्धारण गर्न बीमितको मृत्युदर तालिकाको मुख्य भूमिका हुन्छ । बीमांकीले बीमितको मृत्युदर तालिकाअनुसार देखिने जोखिमलाई हेरेर प्रत्येक उमेरका व्यक्तिलाई फरक फरक बीमाशुल्क निर्धारण गरिदिएका हुन्छन् ।

सामान्यतया कम उमेर हुनेको व्यक्तिको मृत्यु हुने सम्भावना थोरै हुन्छ । उमेर बढ्दै जाँदा रोगलगायतका अन्य कारणले व्यक्तिको मृत्यु हुने सम्भावना पनि बढ्दै जान्छ ।

त्यसअनुसार बढी उमेर हुने बीमितको मृत्युदर पनि उच्च हुन्छ । कम उमेर भएका व्यक्तिले बीमा गर्दा थोरै बीमाशुल्क लाग्ने गर्छ । तर, बढी उमेर भएका व्यक्तिले बीमा गर्दा कम उमेरको तुलनामा धेरै बीमाशुल्क बढी लाग्ने गर्छ ।


क्लिकमान्डु