विदेशी लगानीकर्ताले किन धमाधम छाड्दैछन् चीन ? ३०० अर्ब डलर बराबरको लगानी बाहिरियो



एजेन्सी । कुनै समय चीनले खोजी खोजी विदेशी लगानीकर्तालाई आफ्नो भूमिमा भित्र्याएर काम गरायो । त्यसका लागि सहज नीतिको व्यवस्था गर्यो । सयौं विशेष आर्थिक क्षेत्र बनायो । सबै खालका सुविधा दियो । किनकी, चीनलाई आधुनिक चीनको हिस्सा बनाउने घोषित उदेश्य त्यसमा केन्द्रीत भएको थियो ।

तर, पछिल्ला दिनमा चीनका विदेशी लगानीकर्ताले क्रमशः त्यहाँबाट लगानी फिर्ता लैजान थालेका छन् । चीनको दु्रर्त आर्थिक वृद्धि हुनुको प्रमुख कारणमध्येको एक थियो त्यहाँको विदेशी लगानी ।

सोही तीव्र आर्थिक वृद्धिका कारण चीनले विगत ४ दशकमा आफ्ना ८५ करोड नागरिकलाई गरिबीको रेखाभन्दा माथि उचालेको छ । अझै ठूलो संख्या गरिबीको रेखाबाट माथि उठ्ने क्रममा नै छन् ।

सन् १९७६ मा जनवादी क्रान्तिका चिनियाँ कमाण्डर माओ त्से तुङको निधनपछि चीनले आफ्नो नीतिमा अलिकति परिवर्तन गर्यो र रूढीवादी साम्यवादको सट्टा आर्थिक वृद्धिको नयाँ बाटो तय गरे । उनले विदेशी लगानीका लागि देशको ढोका खोलिदिए ।

फलस्वरूप, त्यसपछिका दशकहरूमा लगानी बढ्यो । चीनको जीडीपी औसत ९ प्रतिशतको दरले बढ्न थाल्यो ।

विदेशी लगानीमा कमी

तर, धेरै वर्षदेखि चलेको यो प्रवृत्ति अहिले उल्टिएको देखिन्छ । यस वर्षको शुरुदेखि नै विशेषगरी रुसले युक्रेनमा गरेको आक्रमणपछि चीनमा विदेशी लगानीमा उल्लेखनीय गिरावट आएको छ ।

यो वर्षमात्रै जनवरीदेखि मार्चसम्म विदेशी लगानीकर्ताले चिनियाँ मुद्रा युआनमा ऋणपत्रको रूपमा गरेको लगानीबाट १५० अर्ब डलर फिर्ता लिएका छन् ।

इन्स्टिच्युट अफ इन्टरनेशनल फाइनान्सको मे मा सार्वजनिक प्रतिवेदनमा भनिएको छ, ‘यो वर्षको जनवरीमा चीनमा पुँजी प्रवाह देखियो तर फेब्रुअरी र मार्चमा विदेशी लगानी बहिर्गमनको गति यति बढ्यो कि यो त्यसको हिसाब नै धेरै बढी हुन जान्छ ।’

त्रैमासिक कुनै पनि वर्षको सबैभन्दा ठूलो अंश हो । यो खराब त्रैमासिक थियो । अर्थव्यवस्थाबाट सम्पत्ति निकास अप्रिलमा पनि जारी रह्यो ।

वाशिङटनस्थित इन्टरनेशनल फाइनान्स इन्स्टिच्युटले अनुमान गरेको छ कि यस वर्ष चीनबाट अमेरिकामा करिब ३०० अर्ब डलरको सम्पत्ति बाहिरिएको छ । जुन २०२१ को तुलनामा दोब्बर हो । सन् २०२१ मा चीनबाट अमेरिकामा १२९ अर्ब डलरको कुल सम्पत्ति गएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यस प्रवृत्तिका चार प्रमुख कारणको रुपमा विश्लेषण गरेको छ । यदि यो प्रवृत्ति आगामी केही महिनासम्म जारी रह्यो भने चिनियाँ अर्थतन्त्रमा यसको प्रभाव के हुन्छ र चिनियाँ अधिकारीहरूले यसलाई रोक्न के गरिरहेका छन् भन्ने विषयमा पनि खोजी हुनु जरुरी छ ।

पछिल्ला दिनमा सांघाई शहरका धेरै ठूला क्षेत्रहरू पूर्णरूपमा घेरिएका छन् । जसका कारण सरकारले त्यहाँका नागरिकको तिखो प्रतिक्रियाको सामना गर्नुका साथै त्यहाँको आर्थिक गतिविधि पनि ठप्प भएको छ ।

शून्य कोभिड नीति

स्पेनी अर्थशास्त्री र लेखक प्रोफेसर खुआन रामोन राल्लोका अनुसार चीनले शून्य कोभिड नीति लागू गरेको छ । यसले चीनको अर्थतन्त्रलाई कोरोना महामारीको पहिलो लहरजस्तै असर गरेको छ ।

महामारीको दुई वर्षपछि, जहाँ धेरै देशहरूले लकडाउन समाप्त गरिसकेका छन् । अन्य प्रतिबन्धहरू खुकुलो गरिरहेका छन् तर चीनमा यो मामलामा अझै संघर्षमा नै छ ।

महामारीअघि बेइजिङको प्रमुख प्राथमिकता आर्थिक प्रगति रहेको थियो । सहरका अधिकांश जनसंख्यालाई कोरोनाविरुद्धको खोप लगाइए पनि सम्भावित स्वास्थ्य आपतकालिन अवस्थालाई मध्यनजर गर्दै यसपटक आर्थिक प्रगति सरकारको प्राथमिकतामा परेको छैन ।

सांघाईमा सरकारले कोरोनाको फैलावट रोक्न कडा प्रतिबन्ध लगाएको छ । यस सहरको आर्थिक गतिविधिले देशको कुल गार्हस्थ्य उत्पादनमा ५ प्रतिशत योगदान पुर्याउँछ । यसबाहेक देशका अन्य सहरमा पनि सरकारले कडा प्रतिबन्ध लगाएकाले त्यहाँको व्यापार प्रभावित भएको छ ।

अप्रिल महिनामा सहरहरूमा बेरोजगारी ६ प्रतिशतले बढेको छ भने आर्थिक गतिविधि ०.६८ प्रतिशतले घटेको छ । यो वर्ष चीनले ५ दशमलव ५ प्रतिशतको वृद्धिदर हासिल गर्न सक्ने कतिपयको विश्वास छ, यो संख्या विगतका वर्षको तुलनामा कम हो ।

हलिउडका सबै फिल्म चीनमा रिलिज हुँदैनन् ।

हङकङमा रहेको इकोनोमिस्ट इन्टेलिजेन्स युनिटका प्रमुख विश्लेषक निक मारोका अनुसार धेरै कम्पनीले अझै पनि चीनलाई ठूलो र महत्वपूर्ण बजारको रूपमा हेर्छन् । तर, आजको समयमा त्यसो गर्न उनीहरूका लागि गाह्रो छ किनभने लगभग सम्पूर्ण विश्व पीडित छ । कोरोना आफ्नो प्रतिबन्धबाट बाहिर आएको छ तर चीनमा अझै कडा प्रतिबन्ध छ । मारो विश्वास गर्छन् कि चीनको शून्य कोभिड नीतिले पूँजीपतिहरूलाई चीनमा सट्टेबाजी गर्नबाट रोक्छ ।

उनी भन्छन् ‘विनासूचना नै नियम कहिले परिवर्तन हुन्छ भन्ने अनिश्चितता छ । लगानीको योजना बनाउन र भविष्यका आयोजनाको निर्णय लिन गाह्रो हुन्छ ।’

विदेशी लगानीकर्ताले शून्य कोभिड नीतिलाई अस्थायी समस्याको रूपमा हेर्छन् कि उनीहरूले केही समयको लागि सामना गर्न सक्ने समस्यामध्ये एउटा हो ।

चीनमा घरजग्गामा ठूलो लगानी भएपछि यस्ता तस्विरहरु देखिनु सामान्य भयो । यो देशको पूर्वमा रहेको आन्हुइ प्रान्तको ह्वाङ्शानमा रहेको एउटा गाउँ हो, जुन वर्षौदेखि आधामात्रै बनाइएको छ । त्यो पूरा हुन सकेको छैन ।

चीनको घरजग्गामा आएको संकट

चीनको रियल इस्टेट क्षेत्रले हालैका दशकमा बृद्धि भएको देखेको छ । जसले यसको अर्थतन्त्रको विकासमा योगदान पुर्याएको छ । तर, गत वर्षदेखि बैंकको बढ्दो ऋणले यो क्षेत्र डुबेको छ । देशको सबैभन्दा ठूलो घर जग्गा कम्पनी एभरग्रान्डको आर्थिक अवस्था नाजुक भएको छ ।

चीनको रियल इस्टेट संकट धेरै वर्षदेखि डराएको भए पनि अर्थतन्त्रमा शून्य कोभिड नीति र अन्य कारकहरूको मिश्रणको डरले विदेशी लगानीकर्ताहरूलाई थप डराएको छ ।

प्रोफेसर खुआन रामोन रेलोका अनुसार विगत एक दशकमा चीनको अर्थतन्त्रमा उछाल आउनुको एउटा मुख्य कारण सस्तो ऋण र रियल इस्टेटको बबल थियो ।

बबले फुटेपछि मुलुक अहिले फरक उत्पादनमूलक मोडलतर्फ अघिबढेको भए पनि प्रक्रिया आफैंमा जटिल रहेको उनको भनाइ छ ।

उनी भन्छन् ‘यो बबल फुटेको असरलाई सम्हाल्ने प्रक्रिया ढिलो हुने छ र यसमा आफ्नै कठिनाइ पनि हुनेछ । चिनियाँ कम्युनिष्ट पार्टीले जुन रवैया अपनाइरहेको छ त्यसको असर छिट्टै अन्त्य हुन्छ भन्ने लाग्दैन ।’

कोभिडविरुद्ध चीनको कडा नीति अझै जारी छ । यसबारे चिनियाँ अधिकारीलाई थाहा छैन भन्ने होइन ।

उसले घर जग्गा बजारलाई पुनरुत्थान गर्न धेरै कदम चालेका छन । केन्द्रीय सरकारी बैंकले धितो ब्याज दर घटाएको छ । संकट समाधानका लागि फरक बाटो अपनाइरहेका केही देशमध्ये चीन पनि एक हो ।

चीनको तुलनामा युरोपको केन्द्रीय बैंक र अमेरिकाको फेडरल रिजर्भले मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाएको छ ।

बढ्दो विश्वव्यापी मुद्रास्फीतिको बीचमा चीनको यो कदमलाई धेरै देशले जोखिमपूर्ण ठाने पनि घरजग्गाको संकटबाट पार पाउन अर्थतन्त्रमा थप पैसा लगाउन तयार छन् ।

भूराजनीतिक तनाव र मानव अधिकार मुद्दा

युक्रेनमा आक्रमण गरेदेखि नै पश्चिमी देशहरूले रुसलाई आर्थिकरूपमा विश्वव्यापी रूपमा एक्लो पार्ने प्रयास गरिरहेका छन् । यसका लागि उनीहरुले रुसमाथि यस्तो कडा आर्थिक प्रतिबन्ध लगाएका छन् जुन यसअघि सुनिएको थिएन ।

युद्धले विदेशी लगानीकर्तालाई पनि चिन्तित बनाएको छ । यदि सी जिनपिङले ताइवानविरुद्ध सैन्य अभियानको घोषणा गरे, हङकङमा चीनको बढ्दो विरोध अन्त्य गर्न बल प्रयोग गर्ने निर्णय गरे वा छिमेकी विरुद्धको रक्षा गर्न बल प्रयोग गर्ने निर्णय गरे भने चीनमा उनीहरूको लगानीको भविष्य कस्तो हुनेछ । यदि उनीहरूले अमेरिकासँगको सीमा विवादलाई सैन्य प्रयोग गरेर समाधान गर्ने प्रयास गरे भने ? के होला ।

अर्कोतर्फ, युक्रेनमाथि रुसले गरेको आक्रमणको सन्दर्भमा चीनले रुसको पक्षमा उभिनुले लगानीकर्तालाई सहयोग गरिरहेको छैन ।

लगानी सेवा एसपीआई एसेट म्यानेजमेन्टका प्रबन्ध साझेदार स्टीफन्स इनिस भन्छन् ‘रूससँग चीनको सम्बन्धको बारेमा बजारमा चिन्ता छ, जसले लगानीकर्तालाई आतंकित बनाएको छ । युक्रेनमा आक्रमणको प्रभावहरू देखिन थालेको छ ।

ब्लूमबर्गसँगको भर्खरैको अन्तर्वार्तामा स्टीफन्सले भनेका छन् ‘लगानीकर्ताले चिनियाँ बन्डहरू बेच्न थाले । हामीले चिनियाँ बन्डहरू किनेनौं भनेर हामी खुसी छौं ।

अहिले क्षेत्रीयस्तरमा बिस्तारै विश्व व्यापार पनि बढ्दै गएको प्राध्यापक राल्लो बताउँछन् । खासगरी युरोप र अमेरिका र अर्कोतर्फ रुस र चीनबीच व्यापार बढेको छ ।

उनी भन्छन् ‘पश्चिमी देशका कम्पनीले अन्य गुटका देशहरूसँग बढ्दो व्यापार उनीहरूको हितविपरीत हुन सक्छ भन्ने विश्वास गर्न थालेका छन् । त्यसैले उनीहरू त्यो बजार गुमाउन तयार छैनन् ।’

विश्लेषक निक मारोका अनुसार आर्थिक र राजनैतिक प्रतिस्पर्धाका साथै चीन र पश्चिमबीच गणतन्त्रवादी मूल्य र मानवअधिकारको विषयमा चर्को बयानबाजीका कारण चीन र पश्चिमबीचको तनाव गहिरो भएको छ ।

यसको उदाहरण तब आयो जब विश्वको सबैभन्दा ठूलो सम्पत्ति कोष प्रबन्धक कम्पनी नर्वेको नोर्गेस बैंक इन्भेस्टमेन्ट म्यानेजमेन्टले यस वर्षको मार्चमा चिनियाँ खेलकुद सामाग्री निर्माता ली निङको शेयर समावेश गर्न अस्वीकार गर्यो । यसले ठूलो सम्झौता समावेश नगर्ने भन्दै अस्वीकार गर्यो । यसले गम्भीर मानवअधिकार उल्लघंन गर्न सक्छ ।

चीनको सिन्जियाङ प्रान्तमा बनेको सुती कपडालाई विश्वकै उत्कृष्ट मानिन्छ । तर, यो कपडा तयार गर्ने मजदुरलाई कम ज्यालामा काम गर्न बाध्य पारिएको मानवअधिकार निकायको भनाइ छ ।

यस समस्याका कारण, केही पश्चिमी ब्रान्डहरूले गत वर्ष आफ्नो आपूर्ति श्रृंखलाबाट सिन्जियाङको कपास हटाएका छन् । यो इन्टरनेट र सामाजिक सञ्जालमा ठूलो बहसको विषय बनेको छ । चिनियाँ सेलिब्रेटीहरू र आम मानिसले यी प्रतिबन्धहरूको विरोध गरिरहेका छन् ।

अलिबाबाका सहसंस्थापक ज्याक मा र अन्य ठूला कम्पनीमाथि नियामकहरूले छानबिन गरेका छन् , जसका कारण ज्याक माले अर्बौं डलर बराबरको घाटा व्योहोरेका छन् ।

निजी क्षेत्र सम्बन्धी नीति

चीनको अर्थतन्त्रको उछाल र देशभित्र विदेशी लगानीको बृद्धिसँगै चीनमा यसको स्वतन्त्र बजार र निजी कम्पनीको वृद्धिसँगै सुधार लागू गरियो ।

यद्यपि निक मारोका अनुसार यसबाट निजी र विदेशी दुवै कम्पनी लाभान्वित हुन सक्थे, तर सुधार एजेन्डा एक प्रकारले बीचमा रोकियो ।

उनी भन्छन् ‘अहिले धेरै क्षेत्रहरूमा, विशेषगरी प्रविधिको मामिलामा, सरकारले आफ्नो व्यवसायलाई जोगाउने र हस्तक्षेप गर्ने प्रवृत्ति बढ्दै गएको छ । यसका लागि राष्ट्रिय सुरक्षाको तर्क गरिएको छ ।’

आलोचकहरू भन्छन् कि सन् २०२१ मा, चिनियाँ सरकारले नियन्त्रण गर्ने उदेश्यले ठूला टेक कम्पनीहरूमाथि आफ्नो पञ्जा कस्न थालेको थियो । जसका कारण अलिबाबाजस्ता कम्पनीले पनि ठूलो घाटा व्यहोरेको छ ।

नियामकहरूले सञ्चालन गरेको अभियानले ज्याक माको कम्पनीमा सबैभन्दा बढी प्रभाव पारेको थियो । गत वर्ष अप्रिलमा अविश्वासको मुद्दामा करिब २.८ बिलियन डलर जरिवाना गरिएको थियो । यो चीनको इतिहासमा सबैभन्दा ठूलो जरिवाना हो ।

विज्ञहरू भन्छन् कि चिनियाँ सरकारले देश भित्रका राज्यको हातमा थप शक्ति राखेको छ । जसले आर्थिक विकासको बाटोमा फर्कने प्रयासलाई सुस्त बनाउन सक्छ ।

हालै समाचार एजेन्सीहरू रोयटर्स र ब्लूमबर्गले स्रोतलाई उद्धृत गर्दै यस क्षेत्रमा नीतिहरूको प्रभावप्रति सरकार गम्भीर रहेको र सुधारका लागि पहल भइरहेको जानकारी दिएका थिए । तर, सरकारले अहिलेसम्म त्यस्तो कुनै औपचारिक घोषणा गरेको छैन ।

बजार, व्यापार र सरकार

पछिल्ला महिनामा चीनको सेयर बजारले पनि लगानीकर्तालाई आफ्नो लगानीबाट खासै फाइदा दिन सकेको छैन ।

सांघाई स्टक मार्केट अप्रिलको अन्त्यमा एकदमै न्यूनस्तरमा खुल्यो । त्यसबेलादेखि यसले थोरै उछाल देखेको छ । तर, यो वर्षको सुरुवातको नजिक छैन । यसैबीच, मे महिनामा चिनियाँ मुद्रा युआन डलरको तुलनामा दुई वर्षयताकै न्यूनस्तरमा थियो ।

यद्यपि अर्कोतर्फ यो पनि भन्न सकिन्छ कि चिनियाँ बजारमा देखिएको गिरावट अमेरिका र युरोपका अन्य बजारमा देखिएको गिरावटको तुलनामा कम हो । सन्न् २०२१ मा उच्चस्तरमा पुगेपछि यी बजारमा पनि गिरावट देखाउन थालेका छन् ।

पहिलो त्रैमासिकमा चीनको व्यापार बचत २०० अर्ब डलरभन्दा बढी थियो । त्यसको एउटा कारण निर्यात घट्नु पनि थियो । तर, त्यसले पनि विदेशी लगानी देश बाहिर जाँदा केही नोक्सान पुर्याउन सक्छ ।

यस अवस्थामा, अन्तर्राष्ट्रिय वित्त संस्थानले आफ्नो प्रतिवेदनमा विदेशी लगानी बाहिर जाँदा चीनसँग आफ्नो निर्यात प्रतिबद्धता पूरा गर्न पर्याप्त विदेशी मुद्रा भएकोले खासै असर नपर्ने बताएको छ ।

मुलुकमा भइरहेको विनिवेशका पनि आफ्नै कठिनाइ र सीमा रहेको संस्थानको भनाइ छ । संस्थानका अनुसार, ठूला कम्पनीहरू यो बजार छोड्न चाहिरहेका देखिरहेका छौं । तर, हामीले यसलाई पलायन मान्नुहुन्न । यी मध्ये धेरै कम्पनी चीनमा दशकौंदेखि सञ्चालन गर्दै आएका छन् । र, उनीहरूलाई यो बजार छोड्ने निर्णय गर्न सजिलो छैन ।

हालैमात्र द इकोनोमिस्टले आफ्नो सम्पादकीयमा यस वर्षको अक्टोबरमा चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय अधिवेशन रहेको लेखेको छ । यस अवधिमा चिनियाँ अर्थतन्त्रको सुस्त गतिलाई बढावा दिन धेरै महत्वपूर्ण निर्णयहरू लिन सकिन्छ । जसले विदेशी लगानीकर्तालाई पनि आशा दिन सक्छ ।

पत्रिकाले लेखेको छ, सकारात्मक दृष्टिकोण यो छ कि यो कठिन विचारधारा, राजनीतिक अस्थिरता र सुस्त विकासको अवधि पार्र्टीको महाधिवेशनको तयारीको एक हिस्सा हुन सक्छ । यो समय बितेपछि राजनीतिमा नेताहरूको पकड बढ्दै जान्छ र यो युग सुरु हुन्छ ।

शून्य कोभिड पनि समाप्त हुनेछ, यससँगै अर्थतन्त्र र प्रविधिमा विकासको युग फेरि फर्किनेछ । तर, जुन खालका संकेत देखिएका छन्, यसले लक्षण भने राम्रो देखाएको छैन ।


क्लिकमाण्डू