विदेशी मुद्रा बचाउने उमेशको प्रयासः वेष्ट फाइनान्सले जस्तै सबैले विद्युतीय चुलो प्रयोग गरे भने कति बच्ला ?



काठमाडौं । वेष्ट फाइनान्सको केन्द्रीय कार्यालय कमलादीको किचनमा ग्याँस हटाएर विद्युतीय चुलो प्रयोग हुन थालेको दुई महिनाभन्दा धेरै भइसक्यो ।

ग्याँस सिलिन्डरलाई एकातिर थन्क्याएर इन्फ्रारेन्ड र इन्डक्सन चुलोमा चिया खाजा पाक्न थालेको छ । विद्युतीय चुलो प्रयोग गर्दा खाना र खाजा पकाउन निकै सजिलो महशुस गरिरहेकी छन् किचनमा काम गर्ने कोपिला तामाङ ।

‘इन्फ्रारेड चुलोमा खाना पकाउँदा ग्यास चुलोमा भन्दा धेरै छिटो पाक्छ,’ कोपिलाले क्लिकमाण्डूसँग भनिन्, ‘आगो बाल्न नपर्ने र भाडा फोहर पनि नहुने । धेरै सजिलो हुँदोरहेछ ।’

दैनिक ३० देखि ४० जनाले खाजा खाने यो किचनमा विद्युतीय चुलो प्रयोग शुरु गरेपछि कम्पनीको खर्च पनि घटेको छ ।

यस्तै अनुभव भएपछि वेष्ट फाइनान्सले हाल देशभर सञ्चालनमा रहेका आफ्ना १४ वटा शाखामा एकैपटक विद्युतीय चुलो प्रयोगमा ल्याएको छ ।

‘दुई महिनाअघि नै हेडअफिस विद्युतीय चुलो प्रयोग गरेपछि १५ दिनअघि थप १४ वटा शाखामा विद्युतीय चुलो प्रयोग गर्न शुरु गरेका छौं,’ वेष्ट फाइनान्सका चिफ अप्रेसन राजेश पुरीले भने, ‘यसले हाम्रो किचनको ५० प्रतिशत खर्च बच्ने अनुमान गरेका छौं ।’

पछिल्लो समय विद्युतीय चुलो प्रयोग गर्न सरकारले पनि प्रोत्साहन गरेको छ । विभिन्न मिडियामा पनि विद्युतीय चुलोको प्रयोग ग्यासभन्दा धेरै सस्तो पर्ने भनेर आएपछि यसको प्रयोग गर्ने निर्णय व्यवस्थापनबाट भएको पुरीले बताए ।

१५ वटा किचनमा प्रयोग हुने इलेक्ट्रोन कम्पनीको इन्फ्ररेड चुलो र पानी तताउने किट्ली अनिवार्य प्रयोगमा ल्याएका छन् ।

यसअघि खाजा पकाउन ग्याँसको प्रयोग गर्दा हेड अफिसमा मात्रै ३ वटा ग्याँस सिलिन्डर लाग्थ्यो । एउटा ग्याँस सिलिन्डरको मूल्य १६०० का हिसाबले गर्दा वर्षमा झन्डै ५८ हजार रुपैयाँ खर्च हुन्थ्यो । यो खर्च अहिले आधामा घटेको छ ।

उनीहरुले निकालेको हिसाबअनुसार प्रत्येक ब्रान्चमा महिना १.५ सिलिन्डर ग्याँस खर्च हुन्थ्यो । एक सिलिन्डरको १८ सयका दरले हिसाब गर्दा एक शाखामा वर्षमा ३२ हजार ४०० ग्याँसमा खर्च हुन्छ र १४ वटा शाखामा वर्षमा ४ लाख ५३ हजार ६ सय रुपैयाँ पर्छ ।

‘यो खर्च अहिले आधाभन्दा कम भएको छ,’ वेष्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश सिंह भण्डारीले भने, ‘हाम्रो सानो प्रयासले ४ लाख ५० हजार पैसा नेपालमै बस्ने भयो ।’

दुई सोचका कारण प्रत्येक शाखामा विद्युतीय चुलो प्रयोग शुरु गरेको उनको भनाइ छ ।

पहिलो कुरा विदेशी सञ्चिति घटिरहेको बेला ग्याँसको खपत घटाउनु देशका लागि फाइदा हो । वेष्ट फाइनान्सका १५ किचनमा कम्तीमा विद्युतीय चुलो प्रयोगले बैंक तथा वित्तीय संस्थाका लागि राम्रो सन्देश गएको छ ।

‘हामीले १४ वटा किचनमा प्रयोग गरेको सानो प्रयास हो,’ भण्डारी भन्छन्, ‘तर, यसले बैंक तथा वित्तीय संस्था र अन्य संस्थाहरुका किचनमा विद्युतीय चुलो प्रयोग गर्नुपर्ने सन्देश दिनेछ ।’

दोस्रो, विद्युतीय चुलोको प्रयोगले किचनको काममा क्षमता वृद्धि हुन्छ । ग्याँसमा खाना वा खाजा पकाउँदा लाग्ने समय र अन्य सरसफाइका विषयमा पनि सहयोग भएको भण्डारीको भनाइ छ ।

मुलुकभित्र सञ्चालिन भएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुमा वेष्ट फाइनान्सले जस्तै विद्युतीय चुलो प्रयोग गर्ने हो भने वार्षिक अर्बौं रुपैयाँको ग्याँसको खपत घट्न सक्छ ।

मुलुकमा हाल २७ वटा वाणिज्य बैंक, विकास बैंक १७ र फाइनान्स १७ वटा छन् । यी बैंक तथा वित्तीय संस्थाका ६ हजार ३ सय ३ वटा शाखा छन् ।

त्यस्तै, ३३ हजारका हाराहारीमा सहकारीहरु सञ्चालनमा छन् । अधिकांश यी बैंक तथा वित्तीय संस्था सबैले ग्याँस प्रयोग गरिरहेका छन् ।

‘१७ वटा फाइनान्स कम्पनीहरुको किचनमा विद्युतीय चुलो प्रयोग गर्ने हो भने वर्षमा एक करोडभन्दा धेरै रुपैयाँको ग्यास खपत घटाउन सक्छन्,’ भण्डारी भन्छन्, ‘वाणिज्य बैंक र अन्य वित्तीय संस्थाले अर्बौंको घटाउन सक्छन् ।’

त्यस्तै, २७ वटा वाणिज्य बैंकहरु छन् । यी बैंकहरुका शाखा ४ हजार ९ सय ४९ वटा छन् ।

भण्डारीको अनुमानमा प्रत्येक शाखाले महिनामा औसत ४ सिलिन्डर ग्याँस प्रयाेग गर्छन् ।

४ हजार ९ सय ४९ वटा शाखाले महिनामा ४ वटाको दरले ग्याँस सिलिन्डर खपतले गर्दा महिनामा १९ हजार ७ सय ९६ वटा ग्याँस खपत हुन्छन् । एउटा ग्याँसको मूल्य १६ सयका हिसाबले ४९४९ शाखालाई महिनामा ३ करोड ६७ लाखभन्दा धेरै मूल्य पर्छ । वर्षमा ८५ करोडभन्दा धेरै रुपैयाँको ग्याँस वाणिज्य बैंकहरुले मात्र खपत गरिरहेका छन् ।

वाणिज्य बैंक, फाइनान्स, बीमा, लघु वित्त, सहकारीजस्ता संस्थामा मात्रै ग्याँसको खपत नगर्ने हो भने वर्षमा अर्बौं विदेशी मुद्रा बचाउन सकिन्छ ।

नेपाल राष्ट्र बैंकदेखि सबै वाणिज्य बैंकहरुले विद्युतीय चुलोको प्रयोगलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्ने भण्डारी बताउँछन् । यो अभियान चलाउने हो भने मुलुकभर सञ्चालनमा रहेको वाणिज्य बैंक, विकास र फाइनान्सका मात्रै ६ हजारभन्दा धेरै किचनमा ग्यासको प्रयोग हटाउन सकिन्छ ।

बैंक तथा वित्तीय संस्थाले शुरु गरेको यो अभियानलाई स्कुल, अस्पताल, सरकारी कार्यालय, सिंहदरबारभित्रका क्यानटिनहरु र अन्य कर्पोरेट हाउसहरुले पनि यसलाई अभियानका रुपमा अगाडि बढाउन सक्छन् ।


क्लिकमान्डु