कोरोना बीमाः करिब १६ अर्बको दाबी, ५ अर्ब मात्रै भुक्तानी, कुन कम्पनीको हिस्सा कति ?



काठमाडौं । कोरोना बीमालेख बिक्री गरेका निर्जीवन बीमा कम्पनीहरूले भुक्तानी रोकेको झण्डै वर्ष दिन पुग्न लाग्यो ।

कम्पनीहरूले गत साउन १४ गतेदेखि भुक्तानी प्रक्रिया रोकेका थिए । २० वटै निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ)हरूले संयुक्त हस्ताक्षर गर्दै सरकारले आफ्नो प्रतिवद्धताअनुसार दायित्व बहन नगरेको भन्दै भुक्तानी रोकेका थिए ।

कम्पनीहरूमा कोरोना बीमाको भुक्तानी प्रक्रिया रोकिएको वर्ष दिन पुग्न लाग्दा पनि सरकारले अझै आफ्नो दायित्वमा पर्न आएको रकम निकासा गर्न सकेको छैन ।

बरू छिट्टै भुक्तानी गर्ने आश्वासन दिँदै आएको छ । बीमा कम्पनीहरूले भुक्तानी रोकेको ५ महिनापछि सरकारले बल्ल छलफल चलाएको थियो । छलफलमा अर्थमन्त्री जर्नादन शर्माले कसरी भुक्तानी गर्न सकिन्छ भनेर बीमा समितिसँग विकल्पसहितका सुझाव माग गरेका थिए ।

तर, बीमा समितिबाट प्राप्त भएको विकल्पसहितका सुझावमाथि ठोस् निर्णय लिन नसकेको सरकारले स्रोत जुटाउनका लागि भन्दै अध्ययन समिति गठन गरेको छ ।

कोरोना बीमा भुक्तानीका लागि चौतर्फी दबाब बढ्न थालेपछि सरकारले तिर्नुपर्ने रकम जुटाउन अर्थ मन्त्रालयले समिति गठन गरेको हो ।

अर्थ मन्त्रालयअन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख रमेश केसीको संयोजकत्वमा गठित समितिमा राजस्व महाशाखा प्रमुख भुपाल बराल र बजेट महाशाखा प्रमुख चक्रबहादुर बुढा सदस्य छन् । सोही समितिले कारोना बीमा सम्बन्धमा पछिल्लो सम्पूर्ण विवरण मागिएको हो ।

गत हप्ता अर्थमन्त्रालयले कोरोना बीमाको पूर्णविवरण पठाउन भन्दै समितिलाई पत्र पठाएको थियो । कोरोना बीमामा कुन बीमा कम्पनीमा कति बीमितले बीमा गराए, कति संख्या बराबर कति भुक्तानी पर्यो र त्यो मध्ये कति दाबी बराबर कति भुक्तानी भन्ने लगायतका सबै विवरण माग गरेको थियो ।

यस्तै, कोरोना बीमा गरिएकामध्ये राष्ट्रसेवक कर्मचारीको भुक्तानी पाइसकेका र पाउन बाँकी संख्याको विवरण पठाउन पनि समितिलाई मन्त्रालयले निर्देशन दिएको थियो ।

पटक-पटक आश्वासन
लामो समयसम्म आफ्नो दायित्वबाट पन्छिदै आएको सरकारले स्थानीय निर्वाचनको मिति तय भएपछि कोरोना बीमाको रकम भुक्तानीका लागि स्रोत जुटाउने कार्यमा अघि बढेको थियो ।

सरकारले स्थानीय निर्वाचन अघि नै १ अर्ब रूपैयाँ निकासा गर्ने योजना गरेको थियो ।

सरकारले १ अर्ब रूपैयाँ र बीमा कम्पनीहरूले १ अर्ब रूपैयाँ गरी २ अर्ब रूपैयाँ भुक्तानी गर्ने योजना थियो । तर, सरकारले रकम निकासा भने गरेन ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी केही पनि व्यवस्था गरेको छैन । तर, अर्थमन्त्री शर्माले भने बीमितहरूलाई तालिका बनाएर भुक्तानी दिने आश्वासन बाँडेका छन् ।

मन्त्री शर्माले बिहीबार संसदमा बजेटमा उठेको विषयमा जवाफ दिँदै कोरोना बीमाको दाबी भुक्तानी प्रकृया अघि बढेको बताए ।

कोरोना बीमा दाबी भुक्तानी रकम कसरी भुक्तानी गर्ने भन्ने सम्बन्धमा बीमा समिति र बीमा कम्पनीहरूबीच छलफल भइरहेको उनले बताएका थिए ।

‘कोरोना बीमा दाबी भुक्तानी सम्बन्धमा बीमा समिति र बीमा कम्पनीहरूबीच छलफल भइरहेको छ । छलफलमा कोरोना बीमा दाबी भुक्तानीको लागि सेड्युल बनाउदै छौं,’ मन्त्री शर्माले भने,‘बीमा समिति र बीमा कम्पनीहरूको सहमति अनुसार बीमा दाबी भुक्तानी गर्ने व्यवस्था मिलाएका छौं ।’

मापदण्डमा कोरोना बीमाको दाबी भुक्तानी १ अर्ब रूपैयाँसम्म बीमकले र १ अर्ब रूपैयाँदेखि २ अर्ब रूपैयाँसम्म पुनर्बीमा कम्पनीले बेहोर्ने उल्लेख छ ।

साथै, २ अर्ब रूपैयाँदेखि २ अर्ब ५० करोड रूपैयाँसम्म बीमकको महाविपत्ति पुलमार्फत र २ अर्ब ५० करोड रूपैयाँभन्दा माथि ३ अर्ब ५० करोड रूपैयाँसम्म बीमा समितिले बेहोर्ने उल्लेख छ ।

मापदण्डअनुसार बीमा कम्पनी, बीमा समिति, पुनर्बीमा कम्पनीले दायित्व बहन गरिसकेका छन् ।

करिब १६ अर्बको दाबी, ५ अर्ब मात्रै भुक्तानी
बीमा समितिको पछिल्लो तथ्यांकअनुसार २० वटा निर्जीवन बीमा कम्पनीमा १७ लाख ५८ हजार ३४३ जनाले उक्त बीमालेख खरिद गरेका छन् । बराबर बीमालेख जारी गरी कम्पनीहरूले १ अर्ब ५ करोड २७ ल ाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

१ लाख ६५ हजार ५९ जना बीमितको दाबी परेको समितिको तथ्यांक छ । सो संख्या बराबर बीमा कम्पनीमा करीब १६ अर्ब रूपैयाँको दाबी परेको छ । १५ अर्ब ४२ करोड २३ लाख रूपैयाँको दाबी परेको हो ।

दाबी मध्ये हालसम्म ५१ हजार ६६९ वटा बीमा दावीवापत कम्पनीहरूले ४ अर्ब ९८ करोड १४ लाख ८८ हजार रूपैयाँ बराबरको भुक्तानी गरेका छन् । कोरोना बीमावापत अझै १० अर्ब ८४ करोड ६ लाख ८३ हजार रूपैयाँ बराबर भुक्तानी गर्न बाँकी छ । १ लाख १३ हजार ३९० वटा दाबी वापत सो रकम भुुक्तानी गर्न बाँकी रहेको हो ।

राष्ट्रिय बीमा कम्पनीको ३८.१२ प्रतिशत भुक्तानी बाँकी
बीमा समितिको तथ्यांकअनुसार सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको भुक्तानी हुन बाँकी छ ।

तथ्यांकअनुसार कम्पनीमा ४१ हजार ३२८ बीमा दाबीवापत ४ अर्ब १३ करोड २८ लाख रूपैयाँ भुक्तानी हुन बाँकी छ । जुन भुक्तानी हुन बाँकी रहेको ३८.१२ प्रतिशत हो ।

यस्तै, राष्ट्रिय बीमा कम्पनीपछि शिखर इन्स्योरेन्सले धेरै भुक्तानी गर्न बाँकी छ । कम्पनीमा १३ हजार ४७५ वटा बीमा दाबीवापत १ अर्ब २७ करोड ४२ लाख रूपैयाँ भुक्तानी गर्न बाँकी छ । जुन बीमा कम्पनीहरूमा भुक्ताी हुन बाँकी रहेको रकमको ११.७५ प्रतिशत हो ।

यस्तै, नेको इन्स्योरेन्सले ६५ करोड रूपैयाँ बराबर भुक्तानी गर्न बाँकी छ । सगरमाथा इन्स्योरेन्सले ५६ करोड १६ लाख रूपैयाँ भुक्तानी गर्न बाँकी छ ।

३० प्रतिशतले मात्रै पाए भुक्तानी
हालसम्म ५१ हजार बीमितले भुक्तानी पाएका छन् । समितिकाअनुसार हालसम्म साढे ५१ दाबी दिएका बीमितमध्ये ५१ हजार ६ सय ६९ जनाले करिब ५ अर्ब रूपैयाँ बराबरको भुक्तानी पाएका हुन् ।

हालसम्म २० निर्जीवन बीमा कम्पनीबाट ५१ हजार ६६९ बीमितलाई ४ अर्ब ९८ करोड १४ लाख ८८ हजार २३५ रूपैयाँ बराबरको दावी भुक्तानी भएको हो । जुन कुल दाबी भुक्तानी संख्याको ३१.३० प्रतिशत हो ।

कुल दाबी रकमको ३१.४८ प्रतिशत मात्रै भुक्तानी भएको हो । जसमध्ये सबैभन्दा बढी भुक्तानी राष्ट्रिय बीमा कम्पनीमार्फत् भएको छ ।

तथ्यांकअनुसार कोरोना बीमाको सबैभन्दा बढी दावी पनि राष्ट्रिय बीमा कम्पनीमा नै परेको छ । कम्पनीले हालसम्म ९७ करोड ९४ लाख रूपैयाँ बराबरको भुक्तानी गरेको हो । कम्पनीले दावी परेका बीमितमध्ये ९ हजार ७९४ जनालाई सो मात्राको दाबी भुक्तानी गरेको हो ।

शिखर इन्स्योरेन्सले हालसम्म ७ हजार ३५४ जना बीमितलाई कूल ७१ करोड ३९ लाख २५ हजार रुपैयाँ बराबरको कुल दाबी भुक्तानी गरेको छ ।

नेको इन्स्योरेन्सले १८ करोड ५६ लाख २५ हजार रूपैयाँ, सगरमाथा इन्स्योरेन्सले ३६ करोड २८ लाख ८४ हजार रूपैयाँ, अजोड इन्स्योरेन्सले १३ करोड ८७ लाख रूपैयाँ भुक्तानी गरेका छन् ।


क्लिकमान्डु