कोरोनापछि आइटी क्षेत्रमा जनशक्तिको अभाव झन चर्कियो



काठमाडौं । दुई वर्षदेखिको कोरोना संक्रमणपछि विश्व बजार खुलेसँगै नेपालमा सूचना तथा सञ्चार प्रविधि (आइटी) क्षेत्रमा दक्ष जनशक्तिको अभाव झन चर्किएको छ ।

मुलुकभर सञ्चालनमा रहेका फिनटेक कम्पनी, सफ्टवेयर कम्पनी, बैंकको आइटी र अन्य आइटी क्षेत्रका उद्योगमा जनशक्तिको अभाव बढ्दै गएको छ ।

कारोना संक्रमणले दुई वर्षदेखि विदेश जाने विद्यार्थीहरु रोकिएका थिए ।

दुई वर्षदेखि रोकिएको विदेश जाने प्रकृया एकैपटक खुल्दै आइटी दक्षजनक्तिको अभाव भएको हो ।

जनशक्तिको अभावले प्रभावकारी काम हुन नसकेको सम्बन्धित व्यवसायीहरु बताउँछन् । मुलुकभर सञ्चालनमा रहेको अधिकांश आइटी कम्पनीले थप दक्ष जनशक्ति खोजिरहेका छन् ।

नेपालमा दुई दशकदेखि सफ्टवेयर उत्पादन गरिरहेको आइएमएस सफ्टवेयरका प्रबन्ध दिर्नेशक सन्तोष ताम्राकारले आइटी क्षेत्रमा अहिले जनशक्तिको अभाव चर्किएको बताए ।

‘अहिले आइटीमा जनशक्तिको अभाव ठूलो छ,’ ताम्राकारले भने, ‘मेरो कम्पनीमा नै २५–३० जना व्यक्तिको अभाव छ ।’

आफ्नो कम्पनीमा जस्तै मुलुकका अधिकांश कम्पनीमा दक्षजनक्ति अभाव भएको उनले बताए । जनशक्ति अभाव भएपछि एक कम्पनीबाट अर्कोमा तानातानमात्र भइरहेको उनले बताए ।

आवश्यक जनशक्तिको अभाव भएकाले नयाँ काम लिनसमेत गाह्रो भइरहेको उनले बताए । ‘काममात्र लिएर भएर डेलिभरी दिन पनि सक्नुपर्यो,’ उनले भने ।

नेपालमा आइटी क्षेत्रमा दक्ष जनशक्तिका लागि जहिले पनि काम उपलब्ध भइरहेको भए पनि अहिले दुई तीन कारणले नजशक्तिमा असन्तुलन आएको सम्बन्धित व्यवसायी बताउँछन ।

एफवान सफ्टका निर्देशक सुवास शर्माले जनशक्तिको ‘सर्टेज’ नै भन्न नसकिए पनि कोरोना संक्रमणपछि एकैपटक प्रभाव परेको बताए ।

कोरोना संक्रमणका कारण दुई वर्षदेखि अमेरिका, अष्ट्रेलियालगायतका देशमा जाने विद्यार्थीहरु रोकिएका थिए । दुई वर्षपछि ती देशमा जाने अनुमति खुलेपछि ठूलो संख्यामा एकै पटक गएका छन् ।

ठूलो संख्याका विद्यार्थी एकै पटक विदेश गएका कारण जनशक्तिमा प्रभाव परेको शर्मा बनाउँछन् ।

कोरोना संक्रमणको कारण स्वदेशका कलेजको शैक्षिक क्यालेन्डर पनि पर सरेको छ । यसले गर्दा समयमै विद्यार्थी ग्राजुयट हुन सकेनन् ।

‘शैक्षिक सत्र पछाडि धकेलिएको छ । यसले गर्दा नयाँ ग्राजुयट आउने क्रम केही समय रोकियो,’ शर्माले भने, ‘काम गरिरहेका पुराना विदेश जानेक्रम बढ्यो, समस्या यही हो ।’

रिगो नेपालका संस्थापक मुकुन्द पोखरेलले पनि आइटी क्षेत्रमा दक्ष जनशक्तिका अभाव बढेको बताए ।

‘आइटी क्षेत्रमा पहिला लगानीलगायतका समस्या हुन्थे । अहिले त्यो समस्या छैन,’ पोखरेलले भने, ‘अहिलेको मुख्य समस्या जनशक्तिको अभाव छ ।’

नेपालका कलेजबाट आउने फ्रेसआउटलाई केही महिनाको तालिमबिना काम गर्न नसक्ने र पुरानो विदेश जाने प्रकृया बढेकाले जनशक्तिको अभाव भएको पोखरेलले बताए ।

नेपालमा दक्ष आइटी जनशक्ति कमी हुनुको एउटा कारण यहाँका कलेजबाट ग्राजुयट हुने विद्यार्थी सक्षम नहुनु पनि हो । नेपाली कलेजबाट ग्राजुयट विद्यार्थीलाई ६ महिनादेखि एक वर्षसम्मको तालिमपछि मात्र काम गर्न समक्ष हुन्छन् ।

‘कलेजबाट ग्राजुयट भएकाहरुलाई केही महिनाको ट्रेनिङ्पछिमात्र पूर्णरुपमा काम गर्न सक्ने हुन्छन्,’ शर्माले भने, ‘पुरानो बाहिर जाने र नयाँलाई ट्रेन गर्नुपर्ने अवस्था छ ।’

त्यस्तै, नेपालमा रहेर आउट सोर्सिङमा काम गर्ने धेरै आइटी कम्पनी छन् । उनीहरुले राम्रो सुविधा दिएर घरमै बसेर काम गर्न सक्ने सुविधा दिएकाले पनि कर्पोरेट क्षेत्रमा आइटी जनशक्तिको कमी भएको उनीहरुको भनाइ छ ।

नेपालका विभिन्न कलेजबाट वार्षिक १५ हजार आइटी ग्राजुयट निस्किन्छन् । ति विद्यार्थीमध्ये ५ हजार त्यही वर्ष बाहिर जान्छन् । बाँकी रहेका नेपालमा केही समय काम गरेपछि बाहिर जाने प्रकृया शुरु गर्छन् ।

आइटी ग्राजुयटको लागि बाहिरी मुलुकका राम्रो सेवा सुविधा उपलब्ध हुने भएकाले बाहिर जाने चलन बढ्दो छ । उनीहरु अध्ययनका लागि बाहिर जाने र उतै काम गर्न थाल्छन् ।


क्लिकमान्डु