आईएमई जनरल, प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स मर्जरमा जाने तयारी, पुँजी साढे ३ अर्ब नाघ्ने



काठमाडौं । आईएमई जनरल, प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स कम्पनी मर्जरमा जाने तयारी गरेका छन् । बीमा समितिले गत चैत १० गते निर्जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी साढे २ अर्ब रूपैयाँ पुर्याउन निर्देशन दिएसँगै यी निर्जीवन बीमा कम्पनीहरु मर्जरमा जाने तयारीमा जुटेका हुन् ।

समितिले क्रस होल्डिङ भएका र चुक्ता पुँजी कायम गर्न नसकेका कम्पनीहरूलाई मर्जरको प्राथमिकतामा राखेसँगै यतिबेला बीमा कम्पनीहरूमा मर्जरको दौडधुप नै चलेको छ  ।

बीमा समितिले मर्जरमा जाने कम्पनीहरूलाई प्रोत्साहित गर्न विभिन्न छुट र सुविधाको व्यवस्थासमेत गरेको छ । समितिले मर्जर निर्देशिका संशोधन गर्दै थप सुविधाको व्यवस्था गर्दै आएको छ ।

समितिले १ वर्षको अवधिमा चुक्ता पुँजी पुर्याउन निर्देशन दिएसँगै कम्पनीहरू मर्जरमा जान बाध्य भएका छन् । बीमा कम्पनीहरूले तोकिएको पुँजी पुर्याउनका लागि मर्जरमा जाने पार्टनर खोज्ने प्रक्रियामा छन् ।

हालसम्म जीवन बीमा कम्पनीहरूतर्फ गुराँस, प्राइम र युनियन लाइफले आपसमा मर्जरको सम्झौता गरिसकेका छन् भने निर्जीवनतर्फ हिमालयन र एभरेष्ट इन्स्योरेन्सले मर्जरको सम्झौता गरिसकेका छन् ।

पछिल्लो समय आईएमई जनरल, प्रुडेन्सियल र नेपाल इन्स्योरेन्सले पनि मर्जमा जाने तयारी थालेका हुन् । नेपाल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स कम्पनीमा आइएमई ग्रुप ठूलो लगानीकर्ता हो । नेपाल इन्स्योरेन्स र पु्रडेन्सियल इन्स्योरेन्समा विशाल ग्रुपको ठूलो लगानी छ । त्यसैले यी ३ कम्पनीबीच मर्जरको आन्तरिक छलफल तीब्र पारिएको छ ।

यी ३ वटा कम्पनीमा केही सञ्चालकहरू एउटै व्यवसायिक घरानाका छन् । जसले गर्दा यी कम्पनीले पुँजी पुर्याउनका लागि एक आपसमा गाभ्न लागिएको हो ।

‘लगानीकर्ताहरु गाभिनका लागि बाक्लो छलफल हुन थालेको छ,’ स्रोतले भन्यो, ‘एक महिनाभित्र ठोस परिणाम निस्कन्छ भन्ने विश्वास छ ।’

यी ३ कम्पनी मर्ज भएपश्चात चुक्ता पुँजी साढे ३ अर्ब रूपैयाँ नाघ्ने छ ।

हाल आइएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रूपैयाँ छ । प्रुडेन्सियल जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १० करोड ८५ लाख ४७ हजार रूपैयाँ र नेपाल इन्स्योरेन्सको १ अर्ब २४ करोड २३ लाख ३९ हजार रूपैयाँ छ ।

यी कम्पनी मर्ज भएमा नयाँ बन्ने कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५० करोड ८४ लाख ७२ हजार रूपैयाँ पुग्ने भएको हो ।

विगत ३ वर्षअघि आईएमई जनरल इन्स्योरेन्सले मर्जरमा जानका लागि बीमा समितिमा प्रस्ताव गरेको थियो । तर, प्राविधिक कारणले कम्पनीको मर्जरसम्बन्धी पहिलो प्रयास असफल भएको थियो ।

यस्तो छ यी कम्पनीको वित्तीय अवस्था

प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ११ करोड ३६ लाख रूपैयाँ खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १२ करोड ७३ लाख रूपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क २६.२३ प्रतिशतले घटेर ३५ करोड ७४ लाख रूपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४८ करोड ४५ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

आइएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १६ करोड ८१ लाख रूपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले यस अवधिमा ५२ करोड ७६ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जगेडा कोषमा ३२ करोड ३९ लाख रूपैयाँ र बीमा कोषमा ५५ करोड ४५ लाख रूपैयाँ सञ्चित छ ।

यस्तै, नेपाल इन्स्योरेन्सले चालु आवको तेस्रो त्रैमाससम्मको अवधिमा १७ करोड ९४ लाख रूपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा कम्पनीले ६० करोड १३ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

कम्पनीको जगेडा कोषमा ४३ करोड ३१ लाख रूपैयाँ र बीमा कोषमा ६५ करोड ८३ लाख रूपैयाँ सञ्चित छ ।


क्लिकमान्डु