मर्जरमा जाने बीमा कम्पनीका सञ्चालकको एक कार्यकाल थपिने



काठमाडौं । मर्जरमा जाने बीमा कम्पनीका अध्यक्ष तथा सञ्चालकको एक कार्यकाल थपिने भएको छ ।

बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ लाई तेस्रो पटक संशोधन गर्दै दुई कार्यकाल पूरा भएका सञ्चालक वा अध्यक्षहरू थप एक कार्यकाल सोही कम्पनीमा नियुक्त हुन सक्ने व्यवस्था गरेको हो ।

‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ बमोजिम बीमक गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी प्रयोजनका लागि प्रक्रिया शुरू गरेका वा समितिबाट सैद्दान्तिक सहमति प्राप्त गरेका बीमकको हकमा गाभ्ने, गाभीने वा प्राप्ति गर्ने सम्बन्धी प्रकृया सम्पन्न नभएसम्म समितिको पूर्व स्वीकृति लिई तत्काल कार्यरत सञ्चालक वा अध्यक्ष थप एक कार्यकालका लागि सञ्चालक वा अध्यक्षमा नियुक्त वा मनोनयन हुन बाधा पुर्याएको मानिने छैन,’ समितिद्वारा संशोधित निर्देशिकामा उल्लेख छ ।

यो व्यवस्था मर्जरको प्रकृया शुरू गरेका वा समितिबाट सैद्दान्तिक सहमति पाएका कम्पनीहरुका सञ्चालकहरूलाई मात्र लागू हुने समितिद्वारा जारी निर्देशिकामा उल्लेख छ ।

कम्पनीका सञ्चालक वा अध्यक्षहरूले मर्जरको प्रक्रिया सम्पन्न नभएसम्ममा सोही कम्पनीको उक्त पदमा थप एक कार्यकालसम्म रहन सक्ने उक्त निर्देशिकाले व्यवस्था गरेको छ ।

जसका लागि बीमा समितिको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ ।

हाल कम्पनीका सञ्चालक वा अध्यक्ष दुई कार्यकालभन्दा बढी एउटै कम्पनीमा पुनः नियुक्त हुन नपाउने व्यवस्था छ ।

बीमा समितिले बीमकको संथागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ लाई दोस्रो पटक संशोधन गर्दै दुई वा सोभन्दा बढी कार्यकाल सञ्चालक भइसकेको व्यक्ति पुनः नियुक्त वा मनोनित हुन नपाउने व्यवस्था गरेको थियो ।


क्लिकमान्डु