राजहंस ब्रान्डको तेल बेच्ने सुशिल वनस्पतिको आम्दानी ६४%ले वृद्धि, करिब ७ अर्बको कारोबार



काठमाडौं । बजारमा राजहंस ब्रान्डको तेल बिक्री वितरण गर्ने सुशिल वनस्पतिको आम्दानी ६४.२१ प्रतिशतले वृद्धि भएको छ । केडिया ग्रुपको अन्तर्गतको सुशिल कम्पनीले एक वर्षको अवधिमै करिब ७ अर्ब रुपैयाँको कारोबार गर्दा सन् २०२१ मा ६४.२१ प्रतिशतले आम्दानी बढेको जनाएको छ ।

कम्पनीले सन् २०२१ मा ६ अर्ब ९३ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ । सन् २०२० मा कम्पनीले ४ अर्ब २२ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०१९ मा ३ अर्ब ३४ करोड ७० लाख रुपैयाँ र सन् २०१८ मा १ अर्ब ९४ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो ।

करिब ३ दशकदेखि कच्चा तेल आयात गर्दै प्रशोधन गरी बिक्री वितरण गर्दै आएका छन् । जसमा भारत र नेपाल गरी कम्पनीको २५० वितरक छन् । नेपालमा पछिल्लो समय बढ्दो शहरीकरणले गर्दा बजारमा उच्च तेलको माग हुने र उत्पादन कम हुँदा कम्पनीले आयात गरी बिक्री वितरण गर्दै आएका छन् ।

कम्पनीले पामोलिन तेल, भटमास र सनफ्लावर तेल निर्यात गर्दा निरन्तर २०१८ देखि २०२१ सम्ममा उच्च बिक्री वितरण गरेको छ । भारत सरकारले कच्चा तेल आयातमा उच्च अन्तशुल्क लगाएसँगै भारतले नेपालबाट प्रशोधन आयात गर्दै आएका छन् । त्यसैले नेपाली उद्योगीहरूले नेपाल सरकारले कायम गरेको कम अन्तशुल्कमा कच्चा तेल आयात गर्दै प्रशोधन गरी नेपालबाट भारतमा साफ्टामार्फत् निर्यात गर्दै आएका छन् ।

कम्पनीले प्रशोधित पामोलिन, भटमास र सन्फ्लावर तेलको बिक्री वितरणबाट ९० प्रतिशत आम्दानी गरेको जनाएको छ । जसमा कम्पनीले सन् २०२१ मा ६१ प्रतिशत उत्पादन निर्यात गरेको उल्लेख छ । साथै, सन् २०२१ मा ११५ प्रतिशतले निर्यात बढेको कम्पनीको भनाइ छ ।

नेपालले अधिकांश कच्चा तेल आयात गरी आन्तरिक बजार र निर्यात गर्दै आएका छन् । उद्योगीहरूले क्यानाडा, अमेरिका, मलेसिया, इन्डोनेसियाबाट आयात गरी आपूर्ति गर्दै आएका छन् । जसमा नेपाल पूर्ण रुपमा कच्चा पदार्थमा तेस्रो मुलुकमा भर पर्नुपर्ने अवस्था रहेको छ । कम्पनीले कच्चा तेल, तोरी क्यानाडा, अमेरिका, अर्जेन्टिना, मलेसिया र इन्डोनेसियाबाट आयात गर्ने गरेको छ ।

त्यस्तै, इक्रा नेपालले कम्पनीलाई दीर्घकालीन तथा अल्पकालिन कर्जाका लागि १ अर्ब ८३ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले ७ करोड ७४ लाख रुपैयाँ दीर्घकालिन कर्जा र १ अर्ब ७५ करोड २६ लाख रुपैयाँको अल्पकालिन कर्जाको रेटिङ गरेको छ ।

सन् १९८८ मा स्थापना भएको कम्पनीले आन्तरिक बजारमा आपूर्तिसँगै निर्यात गर्दै आएका छन् । ५० प्रतिशत शेयर रहेको रतनलाल केडिया कम्पनीका अध्यक्षसँगै प्रबन्ध निर्देशक पनि हुन् । त्यसैगरी मयंक केडिया र आदित्य केडियाको २५÷२५ प्रतिशत शेयर रहेको छ ।


क्लिकमान्डु