सरकारको नयाँ नीतिले स्वदेशी स्यानिटरी प्याड उद्योग धराशायी हुँदै, ६ अर्ब लगानी जोखिममा



काठमाडौं । केही महिनाअघि ‘रातो कर फिर्ता गर’ भन्दै सडक बिरोध निकै चर्कियो । कोरोना संक्रमणको बेला सरकारले स्यानिटरी प्याडमा कर बढाएको भन्दै त्यसको बिरोधमा सडक तातेको थियो ।

यसैबीचमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमा विदेशबाट आयात भइरहेका स्यानिटरी प्याडमा लाग्दै आएको भन्सारमा ९० प्रतिशत छुट दिने घोषणा गरे ।

यसले करमाथिको विरोध स्वरलाई सम्बोधन गरे पनि स्वदेशी उद्योगको लागि भने नकारात्मक असर गर्ने देखिन्छ ।

विदेशी स्यानिटरी प्याडलाई हदैसम्मको छुट दिइएको भन्दै यसले स्वदेशी उद्योग धराशायी हुने सम्बन्धित व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् ।

‘सरकारले दिएको छुटले अब विदेशी स्यानिटरी प्याड सस्तो हुन्छ,’ नेपाल स्यानिटरी प्याड उत्पादक संघका अध्यक्ष डोलराज अधिकारीले भने, ‘स्वदेशी उद्योगबाट उत्पादित प्याड बिक्री हुँदैनन् । अब हाम्रा उद्योग धराशायी भएर बन्द हुनेछन् ।’

अहिलेसम्म विदेशबाट स्यानिटरी प्याड आयात गर्दा १५ प्रतिशत भन्सार शुल्क लाग्थ्यो । सरकारले ९० प्रतिशत छुट दिने भएपछि अब १.५ प्रतिशतमात्र लाग्ने भएको छ ।

‘सरकारले विदेशी तयारी वस्तुमा ९० प्रतिशत भन्सार शुल्क घटाउँदा स्वदेशी उत्पादन गर्न चाहिने कच्चा पदार्थमा भने केही छुट दिएको छैन,’ अधिकारीले भने, ‘हामीले कच्चा पदार्थ आयातमा १२ प्रतिशत तिर्नुपर्छ ।’

बजेटले भने नेपालमा स्यानेटरी प्याड उत्पादन गर्ने उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थको आयातमा १ प्रतिशतमात्र भन्सार महसुल लग्ने भन्ने उल्लेख गरेको छ ।

सरकारले कच्चा पदार्थमा दिएको यो सुविधाले भने स्यानेटरी प्याड बनाउन आवश्यक पर्ने आठ किसिमका कच्चा पदार्थलाई नसमेट्ने अधिकारीले बताए ।

ती कच्चा पदार्थमा छुट्टाछुट्टै भन्सार दर लाग्छ । त्यसमध्ये प्याकिङ गर्ने वस्तु र्यापरमा ३० प्रतिशत भन्सार दर लाग्छ । दुई वस्तुमा १ प्रतिशत, ६ वटा वस्तुमा ६ प्रतिशत, एक एटामा ८ प्रतिशत भन्सार शुल्क लाग्ने उनले बताए । समग्रमा हेर्दा १२ प्रतिशत भन्सार शुल्क लाग्छ ।

अहिले पनि विदेशी स्यानेटरी प्याडमा विदेशीसँग प्रतिस्पर्धा गर्न नसकेको गुनासो व्यवसायीबाट आइरहन्थ्यो । यस्तो अवस्थामा पनि सरकारले उल्टै आयातित वस्तुमा भारी छुट दिँदा उद्योग बन्द हुने बाटोमा लागेको व्यसायीको भनाइ छ ।

सरकारले हचुवाको भरमा विदेशी स्यानेटरी प्याड आयातमा छुट दिएको अधिकारीले बताए ।

‘अर्थमन्त्रीले राम्ररी विश्लेषण नगरिकन छुट दिइएको छ,’ अधिकारीले भने, ‘उहाँ हल्लाको भरमा लाग्नुभएको छ ।’

सरकारले विदेशी स्यानिटरी प्याडको आयातमा दिएको ९० प्रतिशत कर छुटको विरोधमा संघले आयोजना गरेको पत्रकार सम्मेलन

नेपालमा साना ठूला गरेर ३५ वटा स्यानिटरी प्याड उद्योग रहेको अधिकारीले बताए । ती उद्योगमा ६ अर्बको लगानी भएको र ६ हजारले राजगारी पाएको संघले जनाएको छ । यी उद्योगमा रोजगारीमध्ये ७० प्रतिशत महिला रहेको अधिकारीकाे भनाइ छ ।

अहिले स्वदेश स्यानेटरी प्याडको खपत वार्षिक ३० करोड पिस रहेको छ । स्वदेशका सबै उद्योगले वार्षिक उत्पादन क्षमता भने ९० करोड पिस रहेको संघको भनाइ छ ।

‘बाँकी ६० करोड पिस कहाँ लगेर बेच्ने हो भन्ने टुंगो छैन,’ अधिकारीले भने, ‘सरकारले भने विदेशी वस्तुलाई प्रवर्द्धन गरिरहेको छ ।’

संघले सरकारले बजेटबाट ल्याएको यो नीतिलाई तत्काल फिर्ता लिन माग गरेको छ । ‘काम गर्न देऊ, हामी कर तिर्छौं भन्ने हाम्रो माग छ,’ संघले भनेको छ, ‘सरकारले आयातलाई निरुत्साहत गर्ने नीति विपरीत ९० प्रतिशत छुट दिनु लोभलालचमा परेको हो कि भन्ने शंका छ ।’

बजेटमाथिको छलफलको क्रममा संसदमा पनि सरकारले विदेशी स्यानेटरी प्याडमा दिएको भारी छुटको विरोध भएको छ ।

बिहीबार संसदमा बोल्दै सांसद खगराज अधिकारीले व्यक्ति पोस्ने गरी स्यानेटरी प्याडको आयात छुट दिइएको बताए ।

चालु आर्थिक वर्षको दश महिनामा नेपालमा झन्डै १ अर्ब रुपैयाँ बराबरको ११ करोड ६२ लाख ६९ हजार रुपैयाँ बराबरको स्यानिटरी प्याड आयात भएको छ ।


क्लिकमान्डु