यो बजेटले अर्थतन्त्रको संकट समाधान गर्न सक्दैनः डा. गजेन्द्र विष्टको टिप्पणी



अर्थतन्त्र संकटको अवस्थामा रहेको पृष्ठभूमिकाबीच आएको बजेटले उक्त संकट समाधानका बारेमा स्पष्ट र ठोसरुपमा बोलेको देखिँदैन । आर्थिक गतिविधिहरुको विस्तार गर्ने र रोजगारी सिर्जनाका खास कार्यक्रम समावेश छैनन् । पुराना कार्यक्रमलाई नै निरन्तरता दिइदा बजेट पुरानै सोच र ढर्राबाट निर्माण भएको र नयाँपन केही नभएको देखिन्छ ।

संकटको अवस्थामा सरकारले अनावश्यक खर्च कटौती गरी आफैंलाई छरितो बनाउने सामान्य निर्णय गर्ने साहस पनि देखाउन सकेको छैन । सरकारको राजस्व आम्दानीले साधारण खर्च समेत धान्न नसक्ने अवस्था छ । सरकारले खर्च कटौतीका साहसिक निर्णय गर्नै पर्ने थियो । जुन अवसर अर्थमन्त्रीले गुमाएका छन् ।

विद्युत उत्पादनभन्दा पनि अहिले खपतको योजना र कार्यक्रमहरु ल्याइनुपर्ने थियो, बजेटमा जसको विलकूल अभाव छ । नेपालीका औषत आयु बढेर ७० बर्ष नाघिसकेको सन्दर्भमा वृद्धभत्ता पाउन योग्य उमेर ७० बर्षबाट घटाएर ६८ बर्ष कायम गर्नु चुनाव लक्ष्यित लोकरिझ्याईबाहेक केही हुँदैन । यसले राज्यलाई दीर्घकालीन दायित्व थोपर्ने काम मात्र गरेको छ ।

प्राथमिकीकरण नभएका र छरिएर रहेका कार्यक्रमले भरिएको बजेटले राखेको आर्थिक वृद्धिको लक्ष्य पनि हासिल हुने संभावना झिनोमात्र देखिन्छ ।


क्लिकमान्डु