आयकरको सीमा हेरफर, अब मासिक ८४ हजार कमाउनेले ३० प्रतिशत कर तिर्नुपर्ने



काठमाडौं । सरकारले आयकरको सीमा हेरफेर गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक ऐन २०७९ मार्फत् वार्षिक ५ लाख रुपैयाँसम्म कमाउने व्यक्तिले १ प्रतिशत मात्रै कर तिर्नुपर्ने व्यवस्था गरेका हुन् । अब दम्पतीको हकमा भने ६ लाख रुपैयाँसम्म कमाउँदा १ प्रतिशत मात्रै कर लाग्नेछ ।

विगतमा चार लाख रुपैयाँसम्म आम्दानी गर्ने एकल व्यक्तिले १ प्रतिशत र दम्पतीले ४ लाख ५० हजार रुपैयाँसम्म कमाउँदा १ प्रतिशत आयकर लाग्ने व्यवस्था थियो ।

विगतमा ६० हजार रुपैयाँ कमाउने व्यक्तिले ३० प्रतिशत कर तिर्नुपर्ने व्यवस्था भएको भन्दै नेपालको कर प्रणालीको चर्काे आलोचना हुँदै आएको थियो ।

आर्थिक ऐन अनुसार सरकारले गरेको सुधार अनुसार अब मासिक ८३ हजारभन्दा बढी कमाउने व्यक्तिले ३० प्रतिशत आयकर तिर्नृुु पर्नेछ ।

आयकरमा गरिएको संशोधन अनुसार एकल व्यक्तिले आम्दानी ५ लाख रुपैयाँभन्दाबढी र ७ लाख रुपैयाँभन्दा कम भए १० प्रतिशत कर लाग्नेछ ।

दम्पतीले भने ८ लाख रुपैयाँसम्मको आम्दानीमा १० प्रतिशत कर तिर्नुपर्छ ।

एकल व्यक्तिको आम्दानी ७ लाख रुपैयाँभन्दा बढी र १० लाख रुपैयाँभन्दा कम भएमा २० प्रतिशत तिर्नुपर्छ । दम्पतीले भने ११ लाख रुपैयाँसम्मको आम्दानीमा २० प्रतिशत आयकर तिर्नुपर्छ ।

एकल व्यक्ति वा दम्पतीको आम्दानी १० लाख रुपैयाँभन्दा बढी २० लाख रुपैयाँभन्दा कम भएमा ३० आयकर प्रतिशत तिर्नुपर्नेछ ।

२० लाख रुपैयाँभन्दा बढी आम्दानी भएमा भने ३६ प्रतिशत आककर लाग्नेछ ।

विगतमा आयकर ऐनअनुसार चार लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले १ प्रतिशत कर तिर्नुपर्छ । आम्दानी ४ लाख रुपैयाँभन्दा बढी तर ५ लाख रुपैयाँसम्म भए १० प्रतिशत कर लाग्थ्यो ।

पाँच लाख रुपैयाँभन्दा बढी तर सात लाख रुपैयाँसम्मको आम्दानीमा भने २० प्रतिशत कर लाग्ने कानूनी व्यवस्था थियो ।
वार्षिक ७ लाख रुपैयाँ कमाउने व्यक्तिले सरकारलाई ५४ हजार रुपैयाँ आयकर तिर्नु पर्दथ्यो ।

सात लाख रुपैयाँभन्दा बढी बीस लाख रुपैयाँभन्दा कम आम्दानी गर्दा ३० प्रतिशतसम्म कर लाग्ने व्यवस्था ऐनले गरेको थियो ।

विगतमा पनि वार्षिक आम्दानी २० लाख भन्दा बढी भए ३६ प्रतिशत कर तिर्नु पर्दथ्यो । यो व्यवस्थामा भने कुनै परिवर्तन भएको छैन ।


क्लिकमान्डु