आगामी वर्ष यी १३ ठूला जलविद्युत् आयोजना बनाउने सरकारको घोषणा



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका १३ वटा जलविद्युत आयोजना निर्माण गर्ने घोषणा गरेको छ ।

६ सय ३५ मेगावाट क्षमताको दुधकोसी जलाशय युक्त आयोजना, १ हजार ३५ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत आयोजना कार्यान्वयन अगाडि बढाइने अर्थमन्त्री शर्माले घोषणा गरेका हुन् ।

शर्माले माथिल्लो अरुण जलविद्युतलाई १ अर्ब र दुधकोसी जलाशययुक्त आयोजनालाई ९४ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

कोरोना महामारीले निर्माण सम्पन्न हुन नसकेका आयोजनाको म्याद दुई वर्षसम्म थप गर्ने सरकारले घोषणा गरेको छ ।

जलाशययुक्त १ हजार २ सय मेगावाट क्षमताको बुढी गण्डकी, ४२० मेगावाटको नलगाढ जलविद्युत आयोजना निर्माण गर्ने सरकारको तयारी छ । यस्तै जलाशययुक्त ७५० मेगावाट क्षमता भएको पश्चिम सेती र ३०९ मेगावाट क्षमताको सेती ६ जलविद्युत आयोजना प्राविधिक तयारी गरी निर्माण कार्य शुरु गरिने सरकारको तयारी छ ।

पञ्चेश्वर आयोजना निर्माणका लागि नेपालका तर्फबाट गरिने प्रयासलाई आगाडि बढाउने सरकारी तयारी छ ।

यस्तै, २१० मेगावाट क्षमताको चैनपुर सेती, ४८० मेगावाट क्षमताको अर्धजलाशययुक्त फुकोट कणार्ली, १०६ जग्दुल्ला, ९९.९ मेगावाटको तामाकोशी पाँचौ, ७०.३ सिंगुवा खोला तथा ७७.५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत आयोजना कार्यान्वयन गरिने अर्थमन्त्री शर्माले घोषणा गरेका हुन् ।

कर्मचारी सञ्चयकोषको सञ्चयकर्ताको लगानी रहेको ४३९ मेगावाट क्षमताको बेतन कर्णाली खरिद प्रक्रिया अगाडि बढाउने सरकारको तयारी छ ।

यस्तै कर्णाली करिडोर, भेरी करिडोर, अरुण करिडोरलाई सार्वजनिक निजी साझेदारीमा वित्तीय स्रोत जुटाएर ४०० केभी क्षमताका प्रशारणलाइन निर्माण गर्ने सरकारको योजना छ ।

साथै, बुटवल लमही दोदुधारा खण्ड, लप्सीफेदी रातामाटे र हेटौँडा दमौली बुटवलखण्डमा पनि ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण गर्ने सरकारको तयारी छ ।

आगामी वर्ष नेपालमा ५ हजार ८४३ एमभीए क्षमताको सबस्टेशन निर्माण हुने अर्थमन्त्री शर्माको दाबी छ । विद्युत प्रशारणलाइन निर्माणका लागि ४३ अर्ब ९३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।


क्लिकमान्डु