गण्डकी प्रदेशले सार्वजनिक गर्यो बजेटको सिद्धान्त र प्राथमिकता, के छन् नयाँ ? (पूर्णपाठ)



काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेश गरेको छ ।

प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले सिद्धान्त र प्राथमिकता पेश गरेका हु्न् । उनले आगामी आवको लागि २२ पृष्ठको ८७ बुँदे सिद्धान्त र प्राथमिकता पेश गरेका छन् ।

सिद्धान्त र प्राथमिकतामा प्रदेश गौरवका आयोजना तथा प्रदेशका रणनैतिक महत्त्वका आयोजनालाई समयमा नै सम्पन्न गर्न स्रोतको व्यवस्थापन गरिने, वित्तीय हस्तान्तरण भएर स्थानीय तहमा विनियोजन भएको बजेटको कार्यान्वयन अवस्थाको र प्रगतिको विवरण तत्काल प्राप्त गर्न सक्ने प्रणालीको विकास गरिने उल्लेख छ ।

बजेटको अख्तियारी, खर्च निकासा, बेरुजु व्यवस्थापन र न्यूनीकरण तथा सार्वजनिक सम्पत्तिको अभिलेख व्यवस्थापनको लागि पूर्णरुपमा डिजिटल प्रणाली अवलम्बन गरी वित्तीय सुशासन र पारदर्शिता कायम गरिने उल्लेख छ ।

बैङ्क तथा वित्तीय संस्थाबाट हुने लगानीको सुरक्षण नीति अवलम्बन गरिने, समग्र वित्तीय कारोबारलाई प्रवर्द्धन गरिने, बैंङ्क तथा वित्तीय संस्थाको पहुँच नपुगेका नागरिकलाई सहकारी एवम् लघुवित्त संस्थाको विकास र विस्तार गरी वित्तीय समावेशीता सुनिश्चित गरिने उल्लेख छ ।

सिद्धान्त र प्राथमिकतामा जग्गाको न्यूनतम मुल्यमा भइरहेको कारोबारलाई यथार्थ मुल्यमा कारोबार हुने गरी वैज्ञानिक करको दायरा निर्धारण गरिने, घरजग्गा कारोबार अधिक हुने क्षेत्रमा स्थानीय तहसँगको साझेदारी एवम् सहलगानीमा कच्ची सडकलाई कालोपत्रे गरिने, यसका माध्यमबाट प्रदेशको आन्तरिक आय वृद्धि गरिने उल्लेख छ ।

यस्तै स्थानीय स्तरमा सहकारी संस्थालाई समेत परिचालन गरी समुदायमा आधारित बिउ उत्पादनको लागि सिड बैंक स्थापना कार्य अगाडि बढाइने, कृषिजन्य उत्पादनको लागि आवश्यक बिउ बिक्रिको आधारमा उत्पादकले रोयल्टी पाउने व्यवस्था लागू गरिने रहेको छ ।

स्थानीय स्तरमा सहकारी संस्थालाई समेत परिचालन गरी समुदायमा आधारित बिउ उत्पादनको लागि सिड बैँक स्थापना कार्य अगाडि बढाइने, कृषिजन्य उत्पादनको लागि आवश्यक बिउ बिक्रिको आधारमा उत्पादकले रोयल्टी पाउने व्यवस्था लागू गरिने उल्लेख छ ।

विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिइने, यातायात सेवा प्रवाहमा विद्युतीय भुक्तानी प्रणाली शुरू गरिने, सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने प्रकृयालाई सहज र थप व्यवस्थित बनाइने सिद्धान्त र प्राथमिकतामा रहेको छ ।


क्लिकमान्डु