बालेनसहित ३ स्वतन्त्रको उदय दलीय व्यवस्थाको चुनौती बन्ला ?



७५३ स्थानीय तहमा भएको निर्वाचनमा ७५० ठाउँमा राजनीतिक दलमा आवद्ध वा राजनीतिमा संलग्न व्यक्ति विजयी भएपनि सुदुरपूर्व, सूदुरपश्चिम र संघीय राजधानी काठमाडौंबाट स्वतन्त्र व्यक्ति सत्ताको बागडोरमा पुगेका छन् ।

काठमाडौं । ३९ वर्षिय हर्कराज राई धरान उपमहानगरपालिका, ३२ वर्षिय बालेन्द्र (बालेन) शाह काठमाडौं महानगरपालिका र ५८ वर्षिय गोपाल (गोपी) हमाल धनगढी उपमहानगरपालिका प्रमुखमा निर्वाचित भएका छन् ।

मिडिया र समाजिक सञ्जालमा बालेनको चर्चा अत्यधिक रहेपनि ३ लाख मतदाता रहेको काठमाडौं महानगरको मेयरमा निर्वाचित हुन्छन् भन्ने धेरैलाई विश्वास नै थिएन् ।

हर्कराज राईलाई मुलधारका सञ्चार माध्यमले पूरै बेवास्ता गरेको जस्तै अवस्था थियो । २०७६ सालको स्थानीय निर्वाचनमा ५ सय मत पनि कटाउन नसकेकाले हर्क ठूलो चूनौती बन्छन् भन्ने मूलधारका राजनीतिक दललाई विश्वास थिएन् ।

बालेन र हर्कका पक्षमा समाजिक सञ्जालको प्रभाव यति व्यापक थियो कि स्वदेश मात्रै हाेइन्, विदेशमा रहेका नेपालीले समेत घरमा फोन गर्दै बालेन र हर्कका लागि मत मागेका थिए ।

ठमेल घर भएका एक व्यक्ति १० वर्षदेखि अमेरिकामा छन् । २० वर्षको उमेरमा अमेरिका पुगेका उनले आफ्नै आँखा अगाडी अमेरिकामा कयौँ परिवर्तन देखे ।

तर, नेपालमा भने १० वर्षमा कुनै सुधार नभएको उनि बताउँछन् । ‘राजनीतिक दलले केही काम नगरेकाले यसपटक स्वतन्त्रलाई हेर्ने मन लाग्यो । त्यसैले घरमा मात्रै सबै आफन्तलाई फोन गरेर बालेनको पक्षमा मतदिन आग्रह गरेको थिए’, उनी भन्छन् ।

बानेश्वर घर भएका ६० वर्षिय भए व्यक्ति अष्ट्रेलियाबाट फोन गरेर आफ्नो छोराले बालेनलाई मतदान नगरे घर नै नआउने चेतावनी दिएको बताउँछन् ।

‘छोराको भनेको मान्नै पर्याे , त्यसैले ५ भोटमा रुखमा दिए पनि एउटा भोट बालेनलाई दिएको थिए’ उनी भन्छन् ,’भिडियोकलमा छोराले नै लौरोमा भोट हाल्न सिकाएको थियो ।’

यस्तै धरानमा समेत विदेशमा रहेका व्यक्तिले आआफ्नो घरमा फाेन गर्दै हर्कमा पक्षमा मतदान गर्न आग्रह गरको थियाे ।समाजीक सञ्जाल हुदैँन थियाे त बालेन र हर्कको जित सम्भव हुने थिएन् ।

तर, धनगढीका गोपाल हमालको अवस्था भने फरक थियो । २०७४ सालको स्थानीय निर्वाचनमा समेत स्वतन्त्रबाट निर्वाचन लड्दै हमाल दोस्रो भएका थिए । उनी तत्कालीन समयमा २ हजार ७ सय मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार नृप वडसँग पराजित भएका थिए । २०७४ सालको निर्वाचनमा करिब ३ हजार मत बदर हुँदा पराजित भएका हमाल यसपटक भने १२ हजार मतान्तरले विजयी भएका छन् ।

यसपटक हमालले गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नृप वड र नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्द दुबैले प्राप्त गरेभन्दा ३ हजार बढी मत पाएका छन् । यसपटक हमाले सदर मतको ५१ प्रतिशत मत पाएका छन् ।

निर्वाचनभन्दाअघि नै हमालको जित एकप्रकारले सुनिश्चित जस्तै थियो । हरेक टोल र समाजमा ‘एक भोट गोपी दाईलाई’को नारा चलेको थियो ।

धरानका हर्कराज राईले भने चुपचाप विद्रोह गरेका छन् । बालेनका विषयमा धेरै व्यक्तिको धारणा निर्वाचनमा राम्रो हस्तक्षेप गर्न सक्ने भएपनि जातका आधारमा जेलिएको काठमाडौं महानगरको राजनीतिमा स्वतन्त्रले जित्न सम्भव नहुने तर्क गरिन्थ्यो ।

तर, सबैको सार्वजनिक आँकलन गलत भएको छ । बालेनले करिब २० हजार अन्तरले निर्वाचन जित्ने बाटोमा भएका छन् ।

चूनौतीको पहाड
सन् २००५ मा अमेरिकी लेखक जेम्स माइकल सुरोवेस्की प्रकाशित गरेको ‘विस्डम अफ क्राउड’ पुस्तकमा एकजना व्यक्तिले भन्दा भिडले विवेकसम्मत् निर्णय गर्ने उल्लेख छ ।

‘निर्णय लिने स्वतन्त्रता भएका क्षमतावान व्यक्तिको भिडले बुद्धि र अनुभवको स्तर केही कम हुँदा समेत एकजना व्यक्तिभन्दा निकै राम्रो निर्णय गर्न सक्छ,’ पुस्तकमा भनिएको छ ।

सुरोवेस्कीले निकालेको निष्कर्षलाई आधार मान्ने हो भने धरान, काठमाडौं र धनगढीका मतदाताले विवेकसम्मत् निर्णय गरेको मान्न सकिन्छ ।

चुनावी रणनीतिकार प्रशान्त किशोर निर्वाचनका क्रममा जनताको आवाज उठाउन सक्ने र जनतालाई मैले तपाईंका आवाज उठाएको छु भन्ने विश्वास दिलाउन सक्ने व्यक्तिले नै निर्वाचन जित्ने बताउँछन् ।

काठमाडौं होस् वा धरान र धनगढी राजनीतिक दलको नेतृत्वको प्राथमिकतामा ‘कामको राजनीति’ नभएको जनताले महसुस गरे ।

स्थापित सत्ताबाट निराश जमात काम कसले गर्न सक्छ भनेर विकल्पको आशमा रहने ‘विस्डम अफ क्राउड’ पुस्तकमा उल्लेख छ ।

२०४८ सालदेखी सत्ताको वरिपरी रहेका नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रले जन अपेक्षा अनुसार काम नगर्दा राजनीतिक दल र राजनीति प्रति नै वितृष्णा बढ्दाे थियाे । त्यसकाे जवाफ स्वरुप जनताले ठुला शहरमा नयाँ विकल्प राेजेकाे देखिन्छ ।

नेपालमा मात्रै होइन्, सन् २०१७ मा फ्रान्समा राष्ट्रपति रहेका फ्राँस्वाँ ओलान्दलाई पराजित गर्दै एमानुएल माक्रों सत्तामा पुगेका थिए । एन माश भन्ने नयाँ पार्टी स्थापना गरेका माक्रों सत्तारुढ दलप्रति रहेको निराशालाई एकीकृत गर्न सक्दा राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

फ्रान्सको इतिहासमा सन् १९६० पछि रिपब्लिकन र सोसलिस्ट पार्टी मात्रै सत्तामा पुगेका थियो । नयाँ पार्टीबाट सन् २०१७ मा निर्वाचित भएका माक्रों गत महिना पुनः ५ वर्षका लागि निर्वाचित भएका छन् ।

भिडबाट जन्मिएको पार्टी स्थिर बन्ने बाटोमा लागेको छ । यस्तै भिड र सत्तारुढ दलको निराशाबाट भारतको राजधानी नयाँ दिल्लीमा समेत सन् २०१३ मा अरबिन्द केजरीवालले आम आदमी पार्टी स्थापना गरेका थिए ।

पहिलो निर्वाचनमा जनतालाई नेपालमा बालेन, हर्क र गोपीले देखाए जस्तै गरी सपना देखाएका केजरीवाल त्यसपछिका निर्वाचनमा भने कामका आधारमा जनतासँग भोट मागिरहेका छन् । जसलाई जनताले पत्ताएको पनि देखिन्छ । दिल्लीबाट शुरु भएको आम आदमीको सत्तारोहण पन्जाबमा पुगिसकेको छ ।

फ्रान्स वा भारतमा नयाँ राजनीतिक दलले भिडमा भएको निराशालाई एकीकृत गरेको थियो । तर, नेपालमा भने हाललाई स्वतन्त्र रहेका तीन जना व्यक्तिले मुलधारका राजनीतिक दलप्रतिको निराशालाई एकीकृत गरेका छन् ।

विवेकशील र साझा पार्टीले वैकल्पिक राजनीतिक दलको नेपाली चाहनालाई निराश बनाएपछि बालेनहरु नयाँ पार्टी बनाउने भन्दा पनि स्वतन्त्रबाटै निर्वाचन लड्ने प्रयासमा लागेका हुन् ।

नेपालमा पनि वैकल्पिक दलबाट सफल हुन्छ भन्ने लागेको भए ४ वर्षसम्म विवेकशील साझा पार्टीका सुदुरपश्चिम प्रदेश संयोजक रहेको गोपी स्वतन्त्र भएर निर्वाचनमा जाने थिएनन् । पद, विचार, संगठन, नीतिलगायतका विषयमा विवेकशील साझा एकमत नभएपछि नेपालमा वैकल्पिक राजनीति चल्दैन भन्ने सन्देश समेत गएको थियो । जसले गर्दा नेपालमा राजनीतिक दल र नेतृत्वप्रति वितृष्णा बढ्दो छ ।

बालेनले आफ्नो जित सुनिश्चित भएपछि बुधबार समाजिक सञ्जाल फेसबुकमार्फत् गाउँ–गाउँ र टोल–टोलमा बालेन जन्मनु पर्ने भन्दै लामो भनाइ सार्वजनिक गरेका छन् ।

काठमाडौंका मतदाताले देखाएको विश्वासप्रति कृतज्ञ देखिएका बालेनले निर्वाचनका क्रममा गरिएका घोषणा कार्यान्वयन भएपछि मात्रै विजय जुलुस मनाउनु पर्ने बताएका छन् । यस्तै धरानका मेयर हर्क पनि विगतभन्दा संयमित देखिएका छन् ।

मंगलबार सपथ ग्रहण गर्दै हर्कले भने, ‘जनताले जिम्मेवारी दिइसकेका छन् । अब काम गरेर देखाउनु पर्छ । यदि मैले बाटो बिराएँ भने तपाईंहरु खबरदारी गर्न नछाड्नु होला ।’धनगढीका गोपी हमालले देखिने गरी कामको शुरुवात गरिसकेका छन् ।

हमालले धनगढी उपमहानगरभित्रका निजी स्वास्थ्य संस्थामा नगरभित्रका ७० वर्षभन्दा बढी उमेर समूहका व्यक्तिलाई ओपीडी सेवा निःशुल्क, अन्य उपचारमा १० प्रतिशत र औषधिमा ५ प्रतिशत छुट हुने व्यवस्था मिलाएका छन् ।

त्यत्तिमात्रै होइन्, धनगढीमा पूर्वाधार विकास गरिरहेका विभिन्न सस्थाका प्रमुखलाई बोलाएर पूर्वाधार विकासमा देखिएका विवाद नगरपालिकाको नेतृत्वमा समाधान गर्ने र नगरभित्रका खाल्डाखुल्डी सबै पुर्न आग्रह गरिसकेका छन् ।

माथि उल्लेखित काम कुनै उल्लेखनीय होइनन् । हर्क, बालेन र गोपी नेपालका राजनीतिक दलमा संरचनात्मक समस्या रहेको र वर्तमान नेतृत्वबाट विकासका काम सम्भव नहुने दाबी गर्दै सत्तामा पुगेका हुन् ।

उनीहरुले आफूले गर्न सक्ने कामको सूची समेत सार्वजनिक गरेका छन् । तर, आगामी दिनमा दलीय प्रतिनिधिको बहुमत रहेको नगरकार्यपालिका र नगरसभाबाट जनतालाई परिवर्तन महसुस हुने विकास योजना कसरी पारित गराउँछन् र सुस्त भनिएको कर्मचारीबाट जनपक्षीय योजनाको कार्यान्वयन कसरी गर्छन् त्यो हेर्न बाँकी नै छ । यदि हर्क, बालेन र गोपीहरुको सफलता वा असफलताबाट नेपालको राजनीतिक प्रणाली नै सफलता वा असफलताको बाटोमा जानेछ ।

हाल निर्वाचन भएका ७५३ स्थानीय तह र १ करोड ५० लाख मतदातामा करिब २ प्रतिशतले मात्रै दलका प्रतिनिधिको विकल्प खोजेका छन् । जबकी देशभर कैयौँ स्वतन्त्र उम्मेदवार थिए ।

स्वतन्त्र के सक्छन् के सक्दैनन् ?
स्वतन्त्र उम्मेदवारको जित सुनिश्चित भएपछि विभिन्न राजनीतिक दलप्रति आस्था राख्ने व्यक्तिले स्वतन्त्र उम्मेदवारले केही गर्न नसक्ने बताउँदै आएका छन् । तर, काठमाडौंं महानगरमा निर्देशक रहेका एक अधिकारी मेयरले नियत सफा राखेर काम गर्दा नगरभित्रका कैयौँ काम गर्न सक्ने बताउँछन् ।

‘नगर प्रमुख मात्रै नभई उहाँको टीम कस्तो छ भन्नेमा काम हुने वा नहुने निर्भर रहन्छ,’ ती कर्मचारीले भने, ‘कर्मचारीले जसलाई पनि सहयोग गरिहाल्छन् । निस्वार्थ भएर मेयर योजना बनाउनु भयो भने वडा अध्यक्षले पनि असहयोग गर्न सक्दैन् । नगरकार्यपालिका वा नगरसभामा मेयरको प्रस्ताव फेल गर्न पनि कारण त दिनु पर्ला नी !’

महानगरमा कार्यरत अर्का कर्मचारी मेयरको नियत सफा हुँदैमा काम हुन नसक्ने बताउँछन् ।

‘सरकारी पैसा खर्च गर्न संयोजनकारी भूमिका खेल्न सक्ने क्षमता चाहिन्छ । नेतामा लोभ होलान् तर काम नै नगरौं भन्ने सोच हुँदैन् । राजनीतिक नेतृत्वले चाहदा पनि काम हुँदैनन्,’ ती कर्मचारीले भने, ‘नीतिगत निर्णय राजनीतिक नेतृत्वले गर्ने हो ।

कार्यान्वयनको विषयमा फेरि कर्मचारीतन्त्र सक्रिय हुनु पर्छ । एउटा कुरा के साँचो हो भने राजनीतिक नेतृत्वमा लोभ भएन् भने केही काम त हुन्छ । कर्मचारी पनि काम गर्न बाध्य हुन्छन् ।’

कर्मचारीले काम नगर्दा आफैं कर्मचारी नियुक्त गर्न सक्ने अधिकार कानूनले स्थानीय तहलाई दिएको छैन । यस्तै कर्मचारीलाई कारबाही गर्न सक्ने पनि अधिकार स्थानीय तहमा छैन । त्यसो भन्दैमा के कर्मचारीले कानून विपरीत काम गर्न पाउँछन् त ?
पक्कै पाउँदैन् ।

कानून विपरीत काम गर्दा सजाय हुने व्यवस्था तर कानून बमोजिम काम नगर्दा भने केही बारबाही हुने व्यवस्था छैन । पूर्वमुख्य सचिव राजेन्द्र किशोर क्षेत्री गलत काम गर्दा मात्रै होइन काम नगर्दा पनि सजाय हुने कानून व्यवस्था नगर्दा पनि नेपालका सरकारी कर्मचारीमा सुधार नहुने बताउँछन् ।

देखिने गरी भ्रष्टाचार नगर्दासम्म जागिरबाट हटाउन नसकिने व्यवस्था भएका सरकारी कर्मचारीबाट काम लिनु तीनै स्वतन्त्र मेयरको ठूलो चूनौती हो ।

केही व्यक्तिले स्थानीय सरकारले सबै काम गर्न सक्ने ठानेका छन् । त्यस्तो होइन् । नेपालको संविधानले तीन तहको सरकारको व्यवस्था गरेको छ ।

संविधान, स्थानीय सरकार सञ्चालन ऐन र विभिन्न तहका सरकारको कार्यविस्तृतिकरण अनुसार स्थानीय सरकारले ४ मिटर चौडाइसम्मको बाटो निर्माण गर्न सक्छ । १० कक्षासम्मका विद्यालयका विषयमा निर्णय गर्न सम्पूर्ण अधिकार स्थानीय सरकारलाई छ । आधारभूत स्वास्थ्यको विषयमा पनि स्थानीय सरकारले काम गर्न सक्छ ।

फोहरमैला व्यवस्थापन पनि स्थानीय सरकारको एकल अधिकारभित्र पर्छ । स्थानीय सरकारमा जनता पुग्नै पर्ने बाध्यताको कारणको हो विभिन्न सिफारिस । घर जग्गा खरिद बिक्री गर्दा, नागरिकता बनाउँदा, जन्मदर्ता गर्दा, बृद्धभत्ता लिँदा स्थानीय सरकारको सिफारिस अनिवार्य हुन्छ । स्थानीय सरकारबाट घरको नक्सा पास गर्दा झण्झट नबेहोर्ने व्यक्ति सायदै होलान् । व्यवसाय दर्ता गर्न पनि स्थानीय तहमा पुग्नै पर्छ ।

यी सबै सेवा लिन स्थानीय सरकारमा पुगेका कैयौँ व्यक्तिले यसपटक विद्रोह गरेर देशका तीन ठूला सहरमा स्वतन्त्रलाई जिताएका छन् । जनताको अपेक्षा छ, स्वतन्त्रले केही परिवर्तन गर्ने छन् ।

मेयरले नियत सफा राखेर काम गर्दा विद्यालयमा सुधार गर्न सक्छ, आधारभूत स्वास्थ्य सेवा सबल बनाउन सक्छ । ४ मिटरभन्दा कम चौडा सडक राम्रो बनाउन सक्छ । फोहरमैला व्यवस्थापन गर्न सक्छ । झण्झट बिना सिफारिस मिल्ने व्यवस्था गर्न सक्छ । तर, मेयर वा मेयरका टीमका सदस्यले स्वार्थ राख्दै काम गरे कर्मचारीबाट सहयोग सकारात्मक काममा सहयोग लिन कठिन हुने महानगरका एक निर्देशक बताउँछन् ।

‘साना–साना विषय मेयरलाई थाहा नै हुँदैन्, यहाँ त मेयरसापले यस्तो भन्नु भएको छ भनेर लाभ लिन खोज्ने स्वार्थ समूह हाबी हुन्छ,’ महानगरका एक निर्देशक भन्छन्, ‘त्यसलाई स्वतन्त्र मेयरले कसरी व्यवस्थापन गर्नु हुन्छ त्यसमा उहाँहरु सफल हुने वा नहुने निर्भर गर्छ ।’

दलविहीन सम्भव छ ?

भारतमा केजरीवालको उदयपछि प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिमा नयाँ नयाँ अनुहार प्रवेश गराउनुको साथैं कैयौँ युवालाई अवसर दिएका थिए । पुराना र पार्टीप्रति कटिवद्ध व्यक्तिभन्दा नजिता निकाल्न सक्ने व्यक्तिलाई दबाब दिन सत्तारुढ दल बाध्य भएको थियो ।

कामभन्दा पनि हिन्दु मुस्लमानको नारामा चुनाव लड्दै आइरहेको भारतीय जनता पार्टीलाई केजरीवालको आम आदमी पार्टीले कामको नारामा निर्वाचन लड्न बाध्य बनाइदिएको छ । केजरीवालले कामको राजनीति नारा दिएर विभिन्न प्रदेशमा पार्टी विस्तार गरिरहेका छन् ।

नेपालमा पनि स्वतन्त्र उम्मेदवारको उदय कामको राजनीतिलाई लिएर भएको देखिन्छ । तीनै जना स्वतन्त्र उम्मेदवारले जनअपेक्षा अनुसार काम गर्न सक्दा नेपालको राजनीति कुन ट्रयाकमा जान्छ होला ? यदि स्वतन्त्र उम्मेदवार काम गर्न असफल हुँदा के होला ?

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा तीन जना स्वतन्त्र उम्मेदवारको जितले पार्टीहरु सुधार हुनु पर्ने सन्देश दिएको बताउँछन् ।

‘पुराना पार्टी मतदातासँग जोडिन नसक्दा नयाँ र स्वतन्त्रले अवसर पाएका हुन्,’ थापाले गत आइतबार आयोजित एक कार्यक्रममा भनेका थिए, ‘विगतदेखि हामीले राजनीतिक दलमा सुधार हुनुपर्ने आवाज उठाउँदै आएका थियौँ । जनताले सुधारको आवश्यकतालाई अनुमोदन गरेका छन् ।’

हुन पनि पछिल्लो समय जनताभन्दा दलको नेतृत्वलाई रिझाएर पदमा पुग्ने क्रम बढेको छ । नेताको वरीपरी रहनुलाई नै राजनीति गरेको मान्ने क्रम सबै दलमा बढेको छ ।

यो स्थानीय निर्वाचनमार्फत् मतदाताभन्दा ठूलो कोही नरहेको सन्देश जनताले दिएका छन् । ग्राउण्डसँग सम्बन्ध नबनाउँदा राजनीति पार्टी नै पतनको बाटोमा जान सक्ने सन्देश पनि स्थानीय निर्वाचनले दिएको छ ।

जसरी फ्रान्समा ६५ वर्ष सत्तामा रहेका दल जनतासँगको सम्बन्धबाट टाढा पुग्दा सत्ताबाट पनि टाढिएका छन् । भारतमा ६५ वर्ष शासन गरेको कांग्रेस आई दुई प्रदेशमा मात्रै सीमित भएको छ, नेपालमा पनि स्थापित राजनीतिक दलको विकल्प आउने सम्भावना नभएको होइन् ।

तर, स्वतन्त्रले नै देशभर शासन गर्ने अवस्था भने आउने छैन् । किनभने प्रतिनिधिसभा स्वतन्त्र व्यक्तिले मात्रै भरिँदा राम्रा नीति बन्न सक्छन् भन्ने उदाहरण देखिएका छैनन् । राजनीतिक दलको विकल्प स्वतन्त्र हुन सक्दैनन् । राजनीति दलको विकल्प सुधारिका र जनतासँग जोडिएका राजनीतिक दल नै हुन् ।

जसले देशमा देखिएका कयौँ समस्या समाधान गर्न सक्छन् । दलीय कार्टेलिङ र कर्मचारीको मनोमानीमा चलिरहेको देशलाई प्रणाली र पद्धतीमा चलाउन सक्छन् ।

सहरी क्षेत्रमा स्वतन्त्रको प्रभाव जसरी देखिएको छ, ग्रामीण क्षेत्रमा पनि त्यसैगरी पर्छ भनेर मान्न सकिन्न । आज पनि ग्रामीण क्षेत्रमा जात, धर्म, निकटता र केही व्यक्तिगत लाभ हानीका आधारमा मतदान गर्ने प्रवृत्ति छ । तर, तीन मुख्य सहरमा केही सुधारका काम हुँदा कामका आधारमा मतदान गर्ने लहर बढ्दै जानेछ ।

उक्त लहरले नेपालमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ल्याउन योगदान गरेका दललाई सफाई गरेर फ्रान्समा एन माश र भारतमा आम आदमी पार्टी जस्तै कामको राजनीति गर्ने नयाँ दल स्थापना गर्न सक्नेछ ।


शरद ओझा