कांग्रेसको सरकार बने १८२५ दिनमा के-के गर्छ ? यस्तो छ गगनको टीमले बनाएको ‘प्रोजेक्ट गभर्मेन्ट’



काठमाडौं । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भने, ‘राजनीतिक दलहरुमा सरकारमा कसरी जाने भन्ने योजना छ, तर सरकारमा गइसकेपछि के काम गर्ने योजना नै छैन ।’

वर्षौंदेखिको यही समस्याले गर्दा पछिल्लो तीन दशकमा बनेका कुनै पनि सरकारले राम्रोसँग काम गर्न नसकेको भन्दै उनले टिप्पणी समेत गरे । थापाले लामो समयदेखि विद्यमान यो प्रवृत्ति हटाउनका लागि कांग्रेसले विकासको योजना बनाएको समेत बताए ।

स्थानीय तहको निर्वाचन सकिएपछि अब संघ र प्रदेशको आवधिक निर्वाचन यही मंसिर महिनामा हुँदैछ । निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वको सरकार बन्ने र उक्त सरकारले गर्ने कामहरुको योजनाको तयारी भइरहेको महामन्त्री थापाले बताए ।

‘चुनावपछि कांग्रेसले सरकार बनाउन पायो भने त्यसको म्यान्डेट ५ वर्षका लागि हुन्छ,’ उनले भने, ‘त्यसलाई आधार बनाएर ५ वर्षे कार्यकालमा गर्ने योजना बनाउन शुरु गरिसकेका छौं ।’

सरकारसँग कानूनी रुपमा केही सीमाहरु हुन्छन् । साथै, साधन तथा स्रोत र समयको पनि सीमालाई ध्यानमा राख्दै ५ वर्ष अर्थात् १८२५ दिनमा गर्ने कामहरुको योजना बनाएको उनले बताए ।

‘यसलाई हामीले मिसनका साथ अघि बढाएका छौं, यसलाई हामीले ‘प्रोजेक्ट गभर्मेन्ट’को नाम दिएका छौं,’ उनले भने ।

के हो प्रोजेक्ट गभर्मेन्ट ?
प्रोजेक्ट गभर्मेन्टमा ३५ वटा क्षेत्र छनोट गरी योजनाको खाका बनाइनेछ । टीममा ६० जना सदस्य छन् । जसमा पूर्वसचिवहरु, विश्वविद्यालयबाट उत्तीर्ण भइसकेका विद्यार्थीदेखि विभिन्न क्षेत्रका विज्ञ समेत सहभागी छन् ।

‘सामान्यतयाः प्रधानमन्त्री र मन्त्री बनेको पहिलो दिन सचिवहरु आएर पहिलो निर्णय यो गर्ने वा नगर्ने भन्छन्,’ उनले भने, ‘तर आफ्नो पार्टी सरकारमा आएपछि प्रधानमन्त्री तथा मन्त्रीहरुले नै आफ्नो कार्ययोजना सुनाउने छन् ।’

उनका अनुसार पहिलो दिन नै मन्त्रीले ५ वर्षमा यी कामहरु हुनेछन् र आज यो निर्णय गर्ने भनेर भन्नेछन् । प्रोजेक्ट गभर्मेन्टका लागि हाल क्षेत्रगतरुपमा तयारी भइरहेको उनको भनाइ छ ।

यसभित्र एकवर्षमा नेपालमा कति नयाँ उद्योग खुल्छन् ? औद्योगिक क्षेत्रमा कति रोजगारी सिर्जना हुन्छ र लक्ष्य कसरी पूरा गर्न सकिन्छ भन्ने खाना तयारी पारिन्छ ।

‘अहिलेको संरचनागत समस्या समाधान गर्नका लागि पनि यो हाम्रो तयारी हो,’ उनले भने, ‘यसको शुरुवात अब बन्ने सरकारबाटै शुरु हुनेछ ।’

थापाले ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग प्रवर्द्धन कार्यक्रम’ ल्याउन समेत प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएको उनले बताए । यस कार्यक्रम अन्तर्गत ७ वटा क्षेत्रहरु छनोट गरिएको छ ।

जसमा टेक्सटायल, फुटवेयर, कृषि तथा खाद्य, वन पैदावार, जडीबुटी र औषधि, निर्माण, हस्तकला र अन्य क्षेत्रहरु समावेश हुनेछन् । उनका अनसार सन्दुक रुइतले उत्पादन गर्ने लेन्स जस्ता नयाँ प्रविधिलाई पनि यसैमा समेटिएको छ ।

‘सातवटा क्षेत्र पहिचान गरेर तयार गरिएको यो कार्यक्रम यसपटकको नीति तथा कार्यक्रममै आउँछ,’ थापाले भने, ‘वार्षिक कार्यक्रम भने उद्योग मन्त्रालयले लिड गर्नेछ ।’

मुलुकको आर्थिक विकास गर्ने हो भने सरकार सञ्चालन गर्न ‘कम्फर्ट जोन’बाट बाहिर निस्किनु पर्ने उनको भनाइ छ ।


क्लिकमान्डु