आत्मनिर्भर अर्थतन्त्र बनाउन ७ वस्तुको उत्पादन लागत घटाउन बजेटले प्राथमिकता दिने



काठमाडौं । आत्मनिर्भर अर्थतन्त्र बनाउनका लागि बजेटले ७ वटा वस्तुको उत्पादन लागत घटाउने नीति लिने भएको छ ।

नेपालमा उत्पादन सम्भव भएका र विदेशमा निर्यात गर्न सकिने वस्तुहरु जुत्ता चप्पल, कपडा तथा निर्माण सामग्रीमा सिमेन्ट तथा डण्डी, कृषि खाद्यान्य, वन पैदावार, जडिबुटी, हस्तकलाको उत्पादनमा बजेटले प्राथमिकता दिने भएको हो ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आयात प्रतिस्थापन गर्न आत्मनिर्भर अर्थतन्त्रका लागि ७ वटा वस्तुले प्राथमिकता पाउने जानकारी दिए ।

सोमवाद् अर्थविद् डा. स्वर्णिम वाग्लेको पुस्तक ‘अतृप्त अवसर’को बिमोचन कार्यक्रममा कांग्रेस महामन्त्री थापाले ७ वटा वस्तुलाई प्राथमिकता दिनका लागि आफूले उद्योगमन्त्री र प्रधानमन्त्रीलाई भनेको बजेटमा सो अनुसारको कार्यक्रम आउने जानकारी दिए ।

‘केही दिनअघि मैले यो विषयमा संसदमा समेत बोलिसकेको छु, पहिलो चरणमा ७ वटा वस्तुलाई प्राथमिकता दिन खोजिएको छ,’ उनले भने ।

नेपालमा अहिले जुत्ता चप्पल उद्योगमा ५० हजार रोजगारी सिर्जना भएको छ । वार्षिक ९ करोड जोर जुत्ता चप्पलको बजार रहेकोमा हाल ६ करोड जुत्ता चप्पलको उत्पादन नेपालमा हुन्छ ।

जुत्ता चप्पल व्यवसायीले नेपालमा चीन तथा भारतबाट चोरी निकासी तथा कम भन्सार शुल्कमा आउने जुत्ता चप्पलले प्रतिस्पर्धा गर्न कठिन हुने गरेको बताएका छन् ।

भारतलगायत तेस्रो मुलकमा निर्यात गर्दै आएको गोल्ड स्टार सुजकी कार्यकारी निर्देशक बिदुषी राणाले उपभोक्ताले रुचाएपनि लागतको कारण प्रतिस्पर्धा गर्न कठिन भएको बताउछिन् ।

‘लागत घटाउनका लागि सहुलियत मुल्यमा विजुली तथा ब्याजदर र आयात हुने जुत्ता चप्पलको भन्सार बढाउने र कच्चा पदार्थको घटाउने गर्नुपर्छ,’ राणाले भनिन् ।

यसबाहेक नेपालमा अर्को सम्भावना भएको कपडा उद्योग हो । कपडामा चोरी पैठारीका कपडाले उद्योगलाई समस्या हुने गरेको छ ।

निर्माण सामग्रीको उद्योगमा सिमेन्टमा नेपाल आत्मनिर्भर भएको छ भने डण्डीमा बिलेटको उत्पादन नै नेपालमा हुन थालेको छ । केही समयअघि नेपालको ठूलो डण्डी उद्योग जगदम्बा स्टिलले तेस्रो मुलकमा निर्यात गरिसकेको छ ।

सरकारले विजुलीमा दिने सहुलियत दिएमा उत्पादन लागत घट्ने हुँदा फलामे डण्डी उद्योग विदेशमा निर्यात गर्न सम्भव देखिएको छ । सिमेन्ट नेपालमा करिब आत्मनिर्भर भएको क्षेत्र हो ।

भारतमा निर्यातको पर्याप्त सम्भावना भएपनि लागतको कारणले निर्यात हुन सकेको छैन । भारतको उत्तर प्रदेश र बिहारमा सिमेन्ट निर्यातको सम्भावना छ । सरकारले यसको लागि सिमेन्ट उद्योगीलाई विजुलीमा सहुलियत दिएमा निर्यात हुने देखिएको छ ।

यसबाहेक हस्तकला तथा जडिबुटी नेपालमो निर्यातका लागि ठूलो सम्भावना भएको क्षेत्र हो । वन पैदावारको प्रयोग नभएको कारण नेपालले तेस्रो मुलकबाट काठ ल्याउनुपर्ने बाध्यता रहेको छ ।

नेपालको बनमा रहेको काठ कुहिएर जाने तथा तेस्रो मुलकबाट आयात गर्नुपर्ने अहिले बाध्यता छ । केही दिन अगाडि अर्थमन्त्री जनार्दन शर्माले तेस्रो मुलुकबाट हुने आयातलाई निरुत्साहन गर्ने बताएका थिए ।


क्लिकमान्डु