अर्थतन्त्र भएको संरचनागत समस्या नहट्दासम्म ५ वर्षे स्थायी सरकारले पनि काम गर्न सक्दैनः स्वर्णिम वाग्ले



काठमाडौं । योजना अयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले अर्थतन्त्रमा देखिएको संरचनागत समस्या समाधान नगर्दासम्म विकास गर्न नसकिने टिप्पणी गरेका छन् । उनले यो समस्या समाधान नहुँदासम्म पाँच वर्षे स्थायी सरकार भए पनि विकास गर्न नसकिने बताए ।

अहिले उत्पन्न तरलताको अभाव, विकास खर्च कमी, काममा चुस्त नहुने, बढ्दो भ्रष्टचार जस्तासमस्या लामो समयदेखि संरचनागत समस्याका रुपमा रहेको उनको भनाइ छ ।

उनले आइतबार आफ्नै पुस्तक ‘अतृप्त अवसर’को विमोचनमा बौल्दै विकास गर्ने हो भने संरचनामा देखिएको समस्या समाधान हुनुपर्ने बताए ।

अतृप्त अवसर नाम उनको पुस्तक विभिन्न समयमा विभिन्न सञ्चार माध्यममा प्रकाशित लेख तथा अन्तर्वार्ताको संगालो हो । उक्त कार्यक्रममा बोल्दै ‘प्यानल डिसकसन’मा सहभागी सबै वक्ताले नेपालमा संरचनागत समस्या फस्टाउँदै गएको स्वीकार गरे ।

नेपालमा अहिले तरलताको ठूलो अभाव छ । आयात उच्च छ भने निर्यात राम्रो छैन । साथै, विदेशी मुद्रा सञ्चिति घट्दै गएको छ । रेमिट्यान्स वृद्धिदर पनि राम्रो छैन ।

‘यो अस्थायी समस्या हो कि स्थायी हो भन्ने बहस चलिरहेको छ,’ वाग्लेले भने, ‘यो कुरा बुझ्न यी समस्या कहिलेदेखिका हुन् भनेर बुझ्नुपर्छ ।’

यी समस्या संरचनागत रुपमा रहेका ७/८ वर्षदेखि रहेको उनको भनाइ छ ।

‘यो स्ट्रक्चरल फेनोमेनाको रुपमा देखिएको छ,’ वाग्लेले भने, ‘अहिले बाह्य क्षेत्रको असन्तुलन, बैंकिङ क्षेत्रको असन्तुलन र सार्वजनिक क्षेत्रको पनि असन्तुलन भएको छ ।’

अब यो ‘कोर्स करेक्ट’ गर्ने बेला भएको उनले बताए । यो संरचनागत समस्यालाई सुधार नगर्ने हो भने भविष्यमा थप समस्या आउने उनले बताए ।

यसका लागि चालु खर्च, चालु खाता र चालु कर्जामा देखिएका समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ ।

‘चालु खर्च अस्वभाविकरुपमा बढेको छ तर पँुजिगत खर्च ३० प्रतिशतमात्रै छ, यो समस्या अहिलेको नभएर पुरानै हो,’ उनले भने ।

उनले पद्धति र प्रणालीलाई सुधार नगर्दासम्म डेलिभरीमा सुधार नहुने बताए ।

‘एउटै व्यक्ति वा शासन लामो समय चले पनि विकास हुँदैन । त्यहाँ सुुधारको आवश्यकता पर्छ,’ उनले भने ।

उनले भने, ‘जुद्ध शमशेर, चन्द्र शमशेरदेखि राणा, पञ्चाय वा राजाले पनि लामो समय शासन गर्ने अवसर पाउँदा पनि देश विकास किन हुन सकेन भन्ने प्रश्न उठ्छ,’ उनले भने, ‘मुख्य कुरा संरचनागत समस्यामै हो, जुन लामोसमयदेखि नेपालमा छ ।’

अहिले कतिले नेपाल श्रीलंका हुने हो कि भन्ने तर्क पनि गर्छन् तर नेपाल त्यो अवस्थामा नरहेको वाग्लेले बताए ।

कोभिडको बेला १५ महिनासम्मलाई आयात गर्ने विदेशी मुद्रा सञ्चिति थियो भने अहिले ६ महिनालाई आयात गर्न सक्ने अवस्थमा झरेको छ ।

‘नेपाल जस्तो देशमा ५ महिनालाई आयात गर्ने सञ्चिति भयो भने ठीकै मानिन्छ,’ वाग्लेले भने, ‘त्योभन्दा कम हुँदै गएमा भने नराम्रो हो ।’

अहिले देश संकटकै अवस्थामा नपुगेको तर अब पनि सचेत नहुने हो भने खराब अवस्था नआउला भन्न नसकिने उनको भनाइ छ ।

त्यस्तै, ‘प्यानल डिसकसन’मा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले पनि नेपालमा संरचनागत समस्या रहेको दोहोर्याए ।

राजनीतिक पार्टीहरुमा सरकारमा कसरी जाने, चुनाव कसरी जित्ने भन्ने योजना भए पनि सरकारमा गएपछि के गर्ने भन्ने योजना नभएको उनको भनाइ छ ।

‘यी समस्या एक वर्षमा निर्माण भएका होइनन्,’ थापाले भने, ‘यो १०÷१२ वर्षदेखि चल्दै आएको संरचनागत समस्या हो ।’

यही संरचनागत समस्या हटाउनका लागि आफूहरुले ‘प्रोजेक्ट गभर्नमेन्ट’ भनेर योजनाहरु बनाइरहेको बताए । प्रोजेक्ट गभर्नमेन्टमा ३५ वटा क्षेत्र छानेर ५ वर्षको अवधिमा के के गर्ने भनेर योजना बनाएको योजनाको खाका हो ।

जुन योजनाहरु आउँदै गरेको संसदीय चुनावपछि नेपाली कांग्रेस सरकारमा गएको दिनदेखि लागू हुने उनले बताए । त्यस्तै, यी योजना अहिलेको सरकारले पनि लागू गर्न लागेको बताए । जस्तो कि एक दशकलाई नेपाली उत्पादन तथा उपभोग प्रवर्द्धन दशकको रुपमा बनाउन लागेको बताए ।

छलफलमा सहभागी हुँदै योजना आयोग पूर्वसदस्य उषा झाले नेपालमा राम्रो काम गर्नका लागि राम्रो सिस्टम नभएको बताइन । राम्रो पद्धतिको विकास नुहँदा हरेक क्षेत्रमा समस्याहरु उत्पन्न भइरहेको उनले बताए ।

त्यस्तै, योजना बनाउने पनि पाँच वर्षको सरकारका लागि मात्र नभएर १५–२० वर्षको लाागि सोच्नु पर्ने बताइन ।

‘२० वर्षको योजना बनाउँदा दीगो विकास र समावेशीकरण हुन्छ,’ उनले भनिन् ।


क्लिकमान्डु