निर्जीवन बीमा व्यवसायमा अनिवार्य बीमाको भर



काठमाडौं । निर्जीवन बीमा कम्पनीको व्यवसायमा सरकारले अनिवार्य गरेको बीमाको हिस्सा मात्रै बढी देखिएको छ ।

तथ्यांकअनुसार सरकारले अनिवार्य गरेको बीमा योजना मात्रै बढी जारी हुने गरेको देखिएको हो । हाल सरकारले मोटर बीमालाई अनिवार्य गरेको छ । जसकारणले कम्पनीहरूमा मोटर बीमाको हिस्सा बढी देखिन्छ ।

बीमा व्यवसाय शुरूवात भएको लामो समय हुँदा पनि मानिसले बाध्यताले मात्रै बीमा गर्ने प्रवृत्ति अझै हट्न नसकेको देखिन्छ ।

चालु आवको चैत महिनामा निर्जीवन बीमा कम्पनीहरूमा २१ लाख ७५ हजार ४१४ वटा बीमालेख जारी भएका छन् । जसमा १४ लाख २५ हजार ७६८ वटा मोटर बीमालेख जारी भएका छन् ।

जुन कुल निर्जीवन बीमालेखमा ६५.५४ प्रतिशत हुन आउँछ ।

यस्तै, तथ्यांकअनुसार चैत महिनामा निर्जीवन बीमा कम्पनीहरूले ३ अर्ब ४० करोड १२ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा कम्पनीहरूले मोटर कम्पनीहरूले बीमावापत १ अर्ब ४ करोड ७५ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

जुन कुल निर्जीवन बीमा व्यवसायको ३०.८० प्रतिशत हो ।

१ महिनामा ३ अर्बको व्यवसाय गरेका निर्जीवन बीमा कम्पनीहरूले मोटर बीमा बाहेकका अन्य बीमा योजनाहरू बेचेर २ अर्ब २५ करोड ३६ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

आवश्यकताअनुसार बजारमा सवारी साधन किन्नेको संख्या बढ्दै गएको र ती साधनको बीमा अनिवार्य गर्नुपर्ने भएकाले मोटर बीमाको हिस्सा बढी देखिन गएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन् ।

अन्य बीमाको तुलनामा सबै निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा मोटर बीमाको हिस्सा बढी देखिएको पौडेलले बताए ।

‘कसैले अलिकति पैसा कमायो । उसलाई मोटरको आवश्यकता पर्छ । गाडी, मोटरसाइकल किन्छन्,’ उनले भने,‘जसले गर्दा बीमा गर्नुपरि हाल्यो । यो अनिवार्य पनि छ,।’

तर, सरकारले अनुदानको व्यवस्था समेत गरेको कृषि तथा बाली बीमामा कम्पनीहरूको आकर्षण बढ्न नसकेको उनको भनाइ छ ।

कृषि तथा लघु बीमाको व्यवसाय र दायरा बढाउनका लागि निर्जीवन बीमा कम्पनीलाई जिल्ला तोकेर पठाए पनि ती बीमाको व्यवसाय भने फस्टाउन नसकेको उनले बताए ।

कृषि तथा बाली बीमा फस्ट्याउन नसकेको उनी स्वीकर गर्छन् । कृषि बीमामा कृषि प्राविधिकको अभावको कारणले सो बीमा अगाडि बढ्न नसकेको पौडेल बताउँछन् ।

उनले कृषि तथा बाली बीमाको ज्ञान बढाउनका लागि स्थानीय तहमा गएर समेत सचेतनाका कार्यक्रम समेत चलाउँदै आएको उनले बताए ।

सरकारले कृषि बीमालाई प्रवद्र्धन गर्नका लागि अनुदानको व्यवस्था गर्दै आएता पनि कम्पनीहरूले चाँसो नदिदा सफल हुन नसकेको सरोकारवालाहरू बताउँछन् ।

बीमा कम्पनीहरू शहर केन्द्रित मात्रै हुँदा कृषि तथा बाली बीमाको पहुँच बढ्न नसकेको उनीहरूको भनाइ छ ।

अनिवार्य गरिएको बीमाले नै व्यवसाय पुग्ने भएपछि निर्जीवन बीमा कम्पनीहरूले अन्य बीमा योजनामा आकर्षण नदेखाएको सरोकारवालहरू बताउँछन् ।

निर्जीवन बीमा कम्पनीहरूले सम्पत्ति, सामून्द्रिक, हवाई, मोटर, इञ्जिनियरिङ तथा ठेग्गा जोखिम, विविध, कृषि तथा बाली र लघु बीमाको व्यवसाय गर्दै आएका छन् ।

निर्जीवन बीमा व्यवसायमा सम्पत्तिको बीमाको हिस्सा १९.३२ प्रतिशत, सामून्द्रिक बीमाको हिस्सा ९.९३ प्रतिशत, हवाई बीमाको हिस्सा ३.१७ प्रतिशत, इञ्जिनियरिङ तथा जेग्गा जोखिम बीमाको हिस्सा २२.१७ प्रतिशत, विविध बीमाको हिस्सा१२.१६ प्रतिशत, कृषि तथा बाली बीमाको हिस्सा ७.२९ प्रतिशत र लघु बीमाको हिस्सा ०.१७ प्रतिशत छ ।


क्लिकमान्डु