तीन जीवन बीमा कम्पनी मर्जपछि यस्तो बन्नेछ नयाँ कम्पनी



काठमाडौं । बीमा समितिले पुँजी वृद्धि गर्न निर्देशन दिएसँगै जीवन बीमा कम्पनीहरूले एक आपसमा गाभ्ने/गाभिने विषयमा सम्झौता गर्न थालेका छन् ।

हालसम्म ५ बीमा कम्पनीले मर्जरमा जाने सम्झौता गरिसकेका छन् ।

वैशाख २२ गते दुई निर्जीवन बीमा कम्पनी हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले समितिले तोकिदिएको साढे २ अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्याउन एक आपसमा गाभ्ने/गाभिने सहमति गरेका थिए ।

त्यसको एक हप्ता नबित्दै ३ जीवन बीमा कम्पनीले मर्जरको सम्झौता गरे ।

प्राइम लाइफ, गुँरास लाइफ र यूनियन लाइफले वैशाख २९ गते मर्जरको सम्झौता गरेका थिए ।

एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा सहमति गरी त्यसका लागि सहमति पाउन संयुक्त रूपमा बीमा समितिमा निवेदन दिएका यी कम्पनीहरूलाई बीमा समितिले सैद्दान्तिक सहमति समेत दिइसकेको छ ।

यी ५ वटै कम्पनीले नियामक निकाय बीमा समितिबाट मर्जरसम्बन्धी सैद्दान्तिक सहमति पाएका छन् ।

बीमा समितिले ३ जीवन बीमा कम्पनीलाई जेठ ३ गते मर्जरको सैद्दान्तिक सहमति दिएको हो ।

यस्तै, २ निर्जीवन बीमा कम्पनीले वैशाख २३ गते समितिबाट मर्जरसम्बन्धी सैद्दान्तिक सहमति पाएका हुन् ।

बीमा समितिले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ को दफा ६ बमोजिम मर्जरको सैद्दान्तिक सहमति दिएको हो ।

सोही निर्देशिकाको दफा ७ बमोजिम मूल्याङ्कनकर्ता नियुक्त गरी समितिमा विवरण पेश गर्न समेत निर्देशन दिइएको समितिले जनाएको छ ।

निर्देशिकाको दफा ७ मा सम्पत्ति तथा दायित्व मूल्याङ्कन सम्बन्धि व्यवस्थामा कम्पनीहरूले मर्जरको सैद्दान्तिक सहमति प्राप्त गरेका बीमा कम्पनीले आ–आफ्नो सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न लेखापरीक्षण गर्न योग्य रहेको व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई आपसी सहमतिमा मूल्याङ्कनकर्ता नियुक्त गरी सोको जानकारी समितिलाई दिनुपर्ने उल्लेख छ ।

तर, जीवन बीमा कम्पनीको हकमा भने सम्पत्ति र दायित्वको मूल्याङ्कन गर्नुअघि अनिवार्यरूपमा बीमाङ्कीय मूल्याङ्कन गर्नुपर्ने व्यवस्था छ ।

गुराँस, प्राइम र यूनियन लाइफ इन्स्योरेन्स एक बराबर एकको अनुपातमा गाभिने हो भने यी कम्पनीको संयुक्त चुक्ता पुँजी ७ अर्ब १ करोड ३८ लाख ६६ हजार रूपैयाँ पुग्ने छ ।

तर, कुन अनुपातमा मर्ज हुने लगायतका प्राविधिक विषय अध्ययनपछि मात्रै टुङ्गो लाग्ने कम्पनीहरूको भनाइ छ ।

मर्जरको सम्झौता गरेका यी ३ कम्पनीमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी प्राइम लाइफको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको चुक्ता पुँजी २ अर्ब ७७ करोड ९६ लाख १६ हजार रूपैयाँ छ ।

सोही अवधिसम्ममा गुँरास लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ८ करोड ४२ लाख ५० हजार रूपैयाँ छ भने सबैभन्दा थोरै चुक्ता पुँजी यूनियन लाइफको छ ।

चालु आवको चैत मसान्तसम्ममा इन्स्योरेन्सको चुत्त mा पुँजी २ अर्ब १५ करोड रूपैयाँ छ । मर्जरपछि यी कम्पनीको जीवन बीमा कोषको आकार ४० अर्ब ३ करोड ८० लाख ५६ हजार रूपैयाँ पुग्नेछ ।

३ कम्पनीमध्ये ठुलो बीमा कोष भएको कम्पनी पनि प्राइम लाइफ नै हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको अवधिमा आइपुग्दा प्राइम लाइफ इन्स्योरेन्सकोे जीवन बीमा कोषमा १७ अर्ब ६३ करोड ११ लाख ३७ हजार रूपैयाँ रहेको छ ।

यूनियन लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा १० अर्ब ३४ करोड २९ लाख ५४ हजार रूपैयाँ रहेको छ ।

यस्तै, चालु आवको चैत मसान्तसम्ममा गुँरास लाइफ इन्स्योरेन्सले जीवन बीमा कोषमा १२ अर्ब ६ करोड ३९ लाख ६५ हजार रूपैयाँ छ । जगेडा कोषको आकार २ अर्ब १४ करोड ६४ लाख ८२ हजार रूपैयाँ पुग्ने छ ।

तेस्रो त्रैमाससम्मको अवधिमा प्राइम लाइफको जगेडा कोषमा ५० करोड ५४ लाख ८८ हजार रूपैयाँ, गुराँस लाइफको ५४ करोड ८२ लाख ६६ हजार रूपैयाँ र यूनियन लाइफको जगेडा कोषमा १ अर्ब ९ करोड २७ लाख २७ हजार रूपैयाँ छ ।

चालु आवको ९ महिनामा प्राइम लाइफले १८ करोड ९५ लाख ४३ हजार रूपैयाँ खुद नाफा कमाएको छ । चैत मसान्तसम्ममा गुराँस लाइफले १३ करोड १६ लाख ४ हजार रूपैयाँ खुद नाफा कमाएको छ ।

यूनियन लाइफले २ करोड ७२ लाख ७४ हजार रूपैयाँ खुद नाफा कमाएको छ ।

चैत मसान्तसम्ममा यूनियन लाइफले ५ अर्ब ९९ करोड ८२ लाख ९४ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

प्राइम लाइफले ३ अर्ब ४९ करोड ४६ लाख ६२ हजार रूपैयाँ र गुराँस लाइफ इन्स्योरेन्सले २ अर्ब ३५ करोड ४९ लाख ७३ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन् ।


बिजया बास्कोटा