देहातमा बैंकिङ कारोबार सिकाउँदै सुनिता खवास, एटीएमले जस्तै २४सै घण्टा दिन्छिन् सेवा



मोरङ । वैशाख महिनाको विहानी । चर्को गर्मीमा पूर्वका केही आर्थिक गतिविधि नियाल्दै बिराटनगर पुगेका थियौं ।

विशाल फाँटमा आँपका बोटहरु परसम्म देखिन्थे । लटरम्म फलेका आँपका हाँगाहरु निहुरिरहेका थिए । यत्तिकैमा हामी लिलादेवी यादवको गाई गोठमा पुग्यौं । गाईपालन गरिरहेकी लिलदेवीको कथामा तराईको समस्या देखिन्छ ।

तराई समाजमा अझै पनि दाइजो प्रथा व्याप्त छ । तीन जना छोरीलाई दाइजो दिने रकम उनले गाईपालनबाटै पूरा गरिन अरे ।

लिलादेवीको गोठमा पहिले १२ भैंसी थिए । भैंसी हटाएर लिलादेवीले गाई भित्र्याएकी थिइन् । गाईपालनबाट आफ्नो जीवनमा सहजता थपिएको उनी बताउँथिन् ।

लिलादेवीसँगको सानो भलाकुसारीपछि हाम्रो टोली गाार्मेन्ट फ्याक्ट्री, ऊखुबारी, मकैबारी हुँदै सुन्दर हरैचा नगरपालिकाको पचाम पुग्यौं । त्यहाँ जीवन विकास लघुवित्त, बेलवारी शाखाका शाखा प्रमुख हामीलाई कुरिरहेका रहेछन् ।

हामी सुनिता खवासको अनुभव सुन्न त्यहाँ पुगेका थियौं । जहाँ ‘हमाल कस्मेटिक स्टोर’ थियो । यो सुनिताको कस्मेटिक पसल हो ।

चर्को गर्मीमा पुगेका हामीलाई सुनिताले पानीलाई स्वागत गरिन् । चिसो पानीले तिर्खा मेटेपछि शितल महशुस भयो । उनको किराना पसलमा फोटोकपी सेवा पनि थियो ।

खवासको घर अगाडि राखिएको थियो जीवन विकास लघुवित्त ‘अधिकृत टेलर सदस्य, एटीएम’ । सुनिता जीवन विकासकी अधिकृत टेलर हुन् ।

सुनिताले एटीएमले जस्तै सेवा दिन्छिन् । अर्थात् एटीएमले जस्तै पैसा दिन्छिन् ।

पसलबाहेक उनको यो पार्ट टाइम जागिर हो । पैसा झिक्ने, डिपोजिट गर्ने लगायतका सुविधा उनी आफैले गरिदिन्छिन् । बैंकले जस्तै ।

हामी भने अलमलमा पर्यौ, अनि सोध्यौं, ‘एटीएम मेसिन खै त ?’

‘जीवन विकास लघुत्तिको मोबाइल एप्लिकेसन छ, त्यहीबाट एटीएम मेसिनले दिने जस्तो सबै काम हुन्छ,’ उनले भनिन् ।

तराईको देहातमा वित्तीय ज्ञान निकै कम छ । सामान्य बैंकिङ कारोबार गर्ने अभ्यास पनि निकै कम छ । ग्रामीण क्षेत्रका ती व्यक्तिलाई बैंकिङ सेवा उपलब्ध गराउँछिन् सुनिता । बैंकिङ कारोबार गर्न पनि सिकाउँछिन् । एटीएमको जस्तै सुविधा उनले उपलब्ध गराउँछिन् ।

सुनिताका श्रीमान शिक्षक हुन् । सुनिताले आफ्नो कस्मेटिक पसलबाटै सदस्यहरूलाई एटीएममार्फत ्उपलब्ध हुने सेवा प्रदान गर्दै आएकी छिन् ।

जीवन विकास लघुवित्तवाहेक अन्य बैंक तथा वित्तीय संस्थामा खाता भएका व्यक्तिहरूलाई पनि उनले एटीएम सेवा दिन्छिन् ।

गाउँघरमा सहजै बैंकिङ पहुँच नभएको अवस्थामा लघुवित्तले शुरू गरेको अधिकृत टेलरका कारण उक्त क्षेत्रका बासिन्दाले बैंकिङ सेवा पाएको बेलवारी शाखा प्रमुख राजकुमार मण्डल बताउँछन् ।

यसले आर्थिक कारोबारसँगै सदस्यहरूमा प्रविधिको प्रयोग गर्ने क्षमताको समेत विकास भएको मण्डलको भनाइ छ । मण्डलका अनुसार अधिकृत टेलर सदस्यले यो सेवा प्रदान गरे वापत कारोबारको आधारमा इन्सेन्टिभ समेत पाउँछन् । बेलबारी शाखा अन्र्तगत ६७ जना अधिकृत टेलर सदस्य छन् ।

गाउँघरमै अधिकृत टेलर सञ्चालन भएपछि बिजुलीको बिल, इन्टरनेटको बिललगायतको सुविधाले गाउँवासी खुसी भएको सुनिता बताउँछिन् ।

‘बैंकिङ सेवाका बारेमा जानकार नभएका व्यक्तिलाई बैंकिङ कारोबार सिकाउन पाउँदा खुसी छु,’ उनी भन्छिन् ।

सो क्षेत्रमा राति बैंक तथा वित्तीय संस्थाका एटीएम बुथ बन्द हुन्छन् । बैंक तथा वित्तीय क्षेत्रको एटीएम बुथ बन्द हुने गरेपनि अधिकृत टेलरबाट भने २४सै घण्टा सेवा प्रवाह हुन्छ । अर्थात, जीवन विकासका अधिकृत टेलर सदस्यले २४सै घण्टा एटीएमले दिने सबैखाले सुविधा दिन्छन् ।

अधिकृत टेलर सदस्यले पैसा डिपोजिट गर्ने र दिने मात्र नभई अन्य थुप्रै सेवा पनि उपलब्ध गराउँछन् ।

‘एटीएमबाट पैसा निकाल्ने मात्रै काम हुँदैन । बिजुलीको बिल भुक्तानी, इन्टरनेटको बिल लगायतका थुप्रै बिलहरु भुक्तानी गर्न मिल्छ,’ सुनिताले आफ्नो अनुभव साटिन्, ‘यस एटीएममा रेमिट्यान्सको पनि काम हुन्छ ।’

उनका अनुसार एकपटकमा एउटा सदस्यले एक दिनमा ५० हजारसम्म रकम जम्मा गर्न पाउँछन् भने ३० हजारसम्म रकम झिक्न पाउँछन् ।

एटीएम भनेकै के हो भन्ने थाहा नभएको ठाउँमा बैंकिङ सेवा दिन अधिकृत टेलर सदस्यको सुविधा ल्याएको बेलवारीका शाखा प्रवन्धक राजकुमार मण्डल बताउँछन् ।

यसभन्दा अघि पैसाको कारोबार गर्न जटिल थियो । लघुवित्तको समूहमा पैसा उठाउँदा र किस्ता तिर्दा घण्टौ लाग्थ्यो । फेरि लामो समय झोलामा पैसा बोक्दै हिँड्दा जोखिम पनि हुन्थ्यो ।

तर, सुनिताले चलाएको जस्तो एटीएमको विकास भइसकेपछि ती समस्या समाधान भएका छन् ।

आजकल समूहका सदस्यले जुन दिन किस्ता तिर्दा पनि हुन्छ । जुन दिन पैसा बचत गरेको हो त्यही दिनदेखि ब्याज पनि पाउँछन् । पैसाको सुरक्षा पनि हुन्छ । बैंकिङ सेवा लिन बैंक तथा वित्तीय संस्थामा घण्टौं लाइन पनि बस्नु पर्दैन ।

अधिकृत टेलर सदस्यले यो सेवा प्रदान गरे वापत मासिकरुपमा कुल कारोबारको ०.५ प्रतिशत ‘इन्सेन्टिभ’ पाउँछन् । सदस्य खवासले एक महिनामा ७ हजार रूपैयाँसम्म ‘इन्सेन्टिभ’ पाएको लघुवित्तसँग रेकर्ड छ ।

संस्थाका डिजिटल प्रमुख विजयकुमार मण्डल लकडाउनको अवस्थालाई ध्यानमा राख्दै यस्तो एटीएम सञ्चालनमा ल्याएको बताउँछन् । जीवन विकास लघुवित्तको आफ्नै एप्लिकेशन छ । सोही एप्लिकेशनमार्फत् कारोबार गरिन्छ ।

अधिकृत टेलर सदस्यको व्यवस्थाले गाउँमा बिजुलीको बिल भुक्तानीमा सहज पुगेको उनीहरू बताउँछन् ।

‘३० रुपैयाँ बिजुलीको बिल भुक्तानी गर्न सहर जाँदा बस भाडा र खाजा खर्च मै २०० रुपैयाँभन्दा बढी खर्च हुन्छ,’ मण्डलले भने, ‘हाम्रो अधिकृत टेलर सदस्यको प्रयोग गर्दा त्यहाँ लाग्ने खर्च बच्छ ।’

बिराटनगर आसपासमा रातिको समयमा कतिपय बैंक तथा वित्तीय क्षेत्रको एटीएम बुथ बन्द हुने गरे पनि अधिकृत टेलरबाट भने २४सै घण्टा सेवा प्रवाह हुने उनको भनाइ छ ।


बिजया बास्कोटा