राष्ट्रिय जीडीपीमा बागमती प्रदेशको योगदान बढी, कुन प्रदेशको आर्थिक वृद्धि कति ?



काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा सबैभन्दा बढी हिस्सा बागमती प्रदेशको हुने भएको छ ।
आयोगका अनुसार जीडीपी मा बागमती प्रदेशको योगदान ३६.९ प्रतिशत रहने छ । यस्तै जीडीपीमा धेरै योगदान गर्ने अर्को प्रदेशमा प्रदेश १ हुने भएको छ ।

प्रदेश १ को योगदान १५.७ प्रतिशत रहने अपेक्षा गरिएको छ । तेस्रोमा लुम्बिनी प्रदेश रहने देखिएको छ । प्रदेशको योगदान १४.१ प्रतिशत रहने देखिएको छ । यस्तै मधेश प्रदेशको १३.२, गण्डकी प्रदेशको ८.९, सुदुर पश्चिम प्रदेशको ७ र सबैभन्दा कम कर्णाली प्रदेशको ४.१ प्रतिशत योगदान रहने केन्द्रीय तथ्याङक विभागले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७८÷७९ को नौ महिनासम्ममा सबै प्रदेशका गार्हस्थ्य उत्पादनको बृद्धि दर गत आवको आर्थिक बृद्धि दर भन्दा बढ्ने अनुमान गरिएको छ । चालु आवमा राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिव ४८ खर्ब ५२ अर्ब हुने अनुमान गरिएकोमा सबैभन्दा बढि हिस्सा ३६‍.९ प्रतिशत योगदान सहित बागमती प्रदेश रहने अनुमान गरिएको छ ।

प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब १७ खर्ब ९१ अर्ब हुने अनुमान गरिएको छ । सबैभन्दा कम हिस्सा ४‍.१ प्रतिशतको योगदान कायम गरी कर्णली प्रदेशको उपभोक्ताको मूल्यमा करिब १ खर्ब ९८ अर्ब को हाराहारी हुने अनुमान गरिएको छ।

चालु आवमा बागमती प्रदेश पछि कुल गार्हस्थ्य उत्पादनमा बढि योगदान पुर्याउने प्रदेशहरूमा क्रमशः प्रदेश १, लुम्बिनी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश पर्नेछन् ।

कुल गार्हस्थ्य उत्पादनको वृद्धि दर चालु आर्थिक वर्षमा राष्ट्रिय तहमा उपभोक्ता मूल्यमा ५.८ प्रतिशत अनुमान गरिएकोमा बागमती प्रदेशको आर्थिक बृद्धि दर सबै भन्दा बढि ६.७ प्रतिशत र सुदुरपश्चिम प्रदेशको बृद्धि दर सबैभन्दा कम ४.९ प्रतिशत रहने अनुमान गरिएको छ । संशोधित अनुमान अनुसार गत आवमा बागमती प्रदेशको बृद्धि दर सबै भन्दा बढि ४.६ प्रतिशत देखियो भने गण्डकी प्रदेशमा सबैभन्दा कम दर ३.७ प्रतिशत रहने देखिएको छ ।

औद्योगिक वर्गीकरण अनुसारको आर्थिक क्रियाकलापहरूलाई हेर्दा गत आव र यस आवमा बागमती प्रदेश बाहेक सबै प्रदेशहरूमा कृषि क्षेत्रको योगदान हिस्सा सबैभन्दा बढी छ भने बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढि देखिएको छ । यसो हुनुमा उक्त प्रदेशमा बढ्दो शहरीकरण, बढि जनसंख्या, राष्ट्रिय तहका ठुला व्यापारिक कारोबार रहेको छ ।

त्यसैगरी राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्र प्रदेश १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा दोस्रो हिस्सा मै कायम रहेको छ । बागमती प्रदेशमा घरजग्गा सम्बन्धि कारोवार तथा आफ्नै आवासको सेवाको हिस्सा दोस्रोमा छ । गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र सुरक्षा क्षेत्रको योगदान दोस्रो देखिन्छ । बागमती र मधेश प्रदेश बाहेक सबै प्रदेशहरूको कुल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबै भन्दा न्यून देखिएको छ ।

प्रदेश १ मा चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिव ७ खर्ब ६३ अर्ब हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षको संशोधित अनुमान करिब ६ खर्ब ७६ अर्ब रहेको थियो ।

उक्त प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १५.७ प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको छ । यसैगरी गत आवमा कुल गार्हस्थ उत्पादनको बृद्धि दर ४.३ प्रतिशतले थियो भने यस आवमा सुधार आई ५.४ प्रतिशत कायम रहने अनुमान गरिएको छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान ३३.१ प्रतिशत कृषि क्षेत्रको (यहाँ कृषि क्षेत्र भन्नाले कृषि, वन तथा मत्स्यपालन समेतलाई जनाउँछ) रहने छ । सबैभन्दा कम योगदान ०.४ प्रतिशत प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने अनुमान छ ।

मधेश प्रदेशमा कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब ६ खर्ब ४४ अर्ब हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षको संशोधित अनुमान करिब ५ खर्ब ७२ अर्ब रहेको छ । गत आवमा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको १३.४ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले चालु आवमा १३.३ प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको छ ।

गत आवमा कुल गार्हस्थ उत्पादनको बृद्धि दर ३.८ प्रतिशत थियो । चालु आवमा सुधार आई ४.८ प्रतिशत कायम रहने अनुमान गरिएको छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान ३४ ३ प्रतिशत कृषि क्षेत्रको छ । सबैभन्दा कम योगदान ०.२ प्रतिशत खानी तथा उत्खनन् क्षेत्रको रहेको छ ।

बागमती प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब १७ खर्ब ९१ अर्ब हुने अनुमान गरिएको छ । गत आवमा संशोधित अनुमान करिब १५ खर्ब ६८ अर्ब रहेको छ । गत आवमा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ३७.७ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आवमा ३.६९ प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको छ । यसैगरी गत आवमा कुल गार्हस्थ उत्पादनको बृद्धि दर ४.६ प्रतिशत थियो । चालु आवमा सुधार आई ६.७ प्रतिशत पुग्ने अनुमान गरिएको छ । कुलगार्हस्थ्य उत्पादनमा सबैभन्दा बढि योगदान २५.१ प्रतिशतले थोक तथा खुद्रा व्यापार क्षेत्रको छ । सबैभन्दा कम योगदान ०.१ प्रतिशतले कला तथा मनोरन्जन आदि क्षेत्रको रहेको छ ।

गण्डकी प्रदेको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब ४ खर्ब ३२ अर्ब हुने अनुमान गरिएको छ भने गत आर्थिक वर्षका संशोधित अनुमान करिब ३ खर्ब ८० अर्ब  रहेको छ । गत आवमा जस्तै चालु आवमा राष्ट्रिय तहको कुल गार्हस्थ उत्पादनमा ८.९ प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको छ । गत आवमा कुल गार्हस्थ उत्पादनको बृद्धि दर ३.७  प्रतिशत थियो । चालु आवमा सुधार आई ६.२ प्रतिशत हुने अनुमान गरिएको छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान २६.० प्रतिशत कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.४ प्रतिशत प्रशासनिक सहयोगी सेवा  क्षेत्रको रहेको छ ।

लुम्बिनी प्रदेशकाको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब ६ खर्ब ८५ अर्ब हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षका संशोधित अनुमान करिब ६ खर्ब ४१ अर्ब रहेको छ । गत आवमा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको १४.१ प्रतिशत हिस्सा ओगटेको छ । उक्त प्रदेशले चालु आवमा पनि सोहि प्रतिशत नै योगदान पुर्याउने अनुमान गरिएको छ । गत आवमा कुल गार्हस्थ उत्पादनको बृद्धि दर ४.१ प्रतिशत थियो । चालु आवमा सुधार आई ५.४ प्रतिशत हुने अनुमान गरिएको छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान २९.४ प्रतिशतले कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.४ प्रतिशतले प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।

कर्णाली प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब १ खर्ब ९८ अर्ब हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षको संशोधित अनुमान करिव १ खर्ब ७६ अर्ब रहेको छ । गत आ।व।मा जस्तै यस प्रदेशले राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ४.१ प्रतिशत हिस्सा ओगट्ने अनुमान गरिएको छ । यसै गरी गत आवमा कुलगार्हस्थ उत्पादनको बृद्धि दर ४.३ प्रतिशत थियो । चालु आवमा सुधार आई ५.५ प्रतिशत हुने अनुमान गरिएको छ। कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान ३१.५ प्रतिशतले कृषि क्षेत्रको छ । सबैभन्दा कम योगदान ०.२ प्रतिशतले प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।

सुदुरपश्चिम प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब ३ खर्ब ३९ अर्ब हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षका संशोधित अनुमान करिब ३ खर्ब १२ अर्ब रहेको छ । गत आवमा जस्तै चालु आवमा यस प्रदेशले राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ७.० प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको छ ।

गत आवमा कुलगार्हस्थ उत्पादनको बृद्धि दर ४.२ प्रतिशत थियो । चालु आवमा सुधार आई ४.९ प्रतिशत हुने अनुमान गरिएको छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान ३३.५ प्रतिशतले कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.१ प्रतिशतले प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।

विभागका अनुसार चालु आर्थिक बर्षमा कोभिडले विश्वव्यापी आर्थिक र सामाजिक क्रियाकलापमा पारेको नकरात्मक प्रभावका कारण खस्केको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । यस वर्षको राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादनको आर्थिक बृद्धि दरको अनुमान उपभोक्ताको मूल्यमा ५‍।८ प्रतिशत हुनु सन्तोषजनक नै मान्नु पर्ने बताइएको छ । अघिल्लो आवको संशोधित आर्थिक बृद्धि दर ४‍.२ प्रतिशत रहेको थियो ।


क्लिकमान्डु