एनआइसी एशियाको प्राथमिक पुँजीकोष अनुपात साढे ८ प्रतिशत पुग्यो, ऋण विस्तार कम गर्दा पूरा भयो लक्ष्य



काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट १५.७८ प्रतिशत लाभांश बाँड्ने घोषणा नियामक निकाय राष्ट्र बैंकले कार्यान्वयन गर्न दिएन । एनआइसी एशियाले लाभांश बाँड्न नपाउनुको कारण थियो पर्याप्त पुँजीकोष अनुपात नहुनू ।

एनआइसी एशिया बैंकले पुँजीकोष अनुपात ११ प्रतिशतभन्दा बढी राखे पनि प्राथमिक पुँजीकोष अनुपात कम भएको हुँदा राष्ट्र बैंकले लाभांश बाँड्न रोक लगाएको थियो । चैत महिनाको वित्तीय विवरणपछि एनआइसी एशियाको प्राथमिक पुँजीकोष अनुपात ८.५४ प्रतिशत पुगेको छ । पुस महिनामा एनआइसी एशिया बैंकको प्राथमिक पुँजीकोष अनुपात ७.८० प्रतिशत थियो ।

आक्रामक व्यवसाय विस्तार गर्ने परिचय बनाएको एनआइसी एशिया बैंक चालु आर्थिक वर्षदेखि नै व्यवसाय विस्तारमा सुस्त छ । चालु आर्थिक वर्षको ९ महिनामा बैंकहरुले १ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ४ खर्ब ७६ अर्ब रुपैयाँ ऋण दिएका छन् ।

विगतमा निक्षेप र कर्जा विस्तारमा एनआईसी एशिया सबैभन्दा अगाडि हुने गरेको थियो । लाभांश बाँड्नको लागि प्राथमिक पुँजीकोष अनुपात बासेल ३ अनुसार राख्नको लागि एनआईसी एशिया बैंकले व्यवसाय नबढाउने नीति लिएको थियो । एनआईसीले कर्जा बढाएको भए जोखिम भार बढ्ने र यसले पुँजीकोष अनुपात साढे ८ प्रतिशत पुर्याउन एनआइसी एशियालाई कठिन हुने थियो ।

साउनदेखि चैतसम्म एनआइसी एशिया बैंकले निक्षेप २ अर्ब ५६ करोडले निक्षेपको आकार ३ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ । यस्तै कर्जातर्फ ९ अर्ब ९० करोडले बढेर २ खर्ब ७४ अर्ब पुगेको छ । यो वर्ष १० अर्बभन्दा कम कर्जा बढाउने बैंकमा एनआईसी एशिया समेत पर्छ । जुन एनआइसीको नीति विगतमा थिएन ।

एनआइसी एशिया बैंकले चैत मसान्तमा नै प्राथमिक पुँजीकोष अनुपातलाई साढे ८ प्रतिशत पुर्याउने नीतिमा काम गरेको थियो । पुस मसान्तको बासेल डिक्लोजर अनुसार बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको बासेल डिस्क्लोजर अनुसार प्राथमिक पुँजी २० अर्ब ४३ करोड रुपैयाँ छ । जसमा बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड छ । यसबाहेक बाँड्न लागिएको लाभांश, सेयर प्रिमियम, रिजर्भ, रिटेन्ड अर्निङ, चालु वर्षको अडिट नभएको नाफा जोडेर घटाउनुपर्ने सूचक घटाएपछि २० अर्ब ४३ करोड आउँछ ।

बैंकले पुस मसान्तसम्म २ खर्ब ६१ अर्बको जोखिम भार सम्पत्ति लिएको थियो । बैंकले लिने जोखिम सम्पत्तिमा ऋण प्रमुख हुन्छ । यसबाहेक बैंक सञ्चालन गर्दा हुने जोखिम, बजारबाट आउने जोखिम, नियामकले लगाएको क्यापिटल चार्जलगायत हुन्छन् । २ खर्ब ६१ जोखिम भार सम्पत्तिमा २ खर्ब ३२ अर्ब ऋणको रहेको छ ।

चैत मसान्तमा आइपुग्दा प्राथमिक पुँजी २१ अर्ब ६७ अर्ब पुग्यो भने जोखिम भार २ अर्ब ५३ अर्बमा पुग्यो । प्राथमिक पुँजीकोष अनुपात ३ महिनामा १ अर्ब २४ करोडले बढायो भने जोखिम भार ८ अर्बले घटायो । पुँजीकोष बढाउनको लागि बैंकले गरेको नाफा नै प्रमुख कारण थियो ।

बैंकले पुसदेखि चैतमा मात्र ३ मात्र १ अर्ब २५ करोड नाफा गरेको थियो । जुन रकम प्राथमिक पुँजीकोषमा जोड्न मिल्ने थियो । यस्तै कर्जा विस्तार आक्रमक नगर्ने नीतिले कर्जाको जोखिम भार २ अर्ब तथा बजारको जोखिम भार ३४ करोडले घट्यो । जसले गर्दा बैंकको प्राथमिक पुँजीकोष अनुपात राष्ट्र बैंकले तोकेको भन्दा केही बढी ८.५३ प्रतिशत भयो ।

एनआइसी एशिया बैंकका नायब प्रमुख सूचना अधिकारी अर्जुन खनिया चालु आर्थिक वर्षदेखि आक्रामक व्यवसाय विस्तार नगर्ने नीति लिएको कारण राष्ट्र बैंकले भनेको सबै सूचकहरु पुरा गर्न सकिएको बताए ।

‘व्यवसायको आकारले निकै ठूलो भएपछि केही समय स्लो गर्नुपरेको हो,’ खनियाले क्लिकमाण्डूसँग भने ।

एनआइसी एशिया बैंक अन्य सूचकमा निकै अगाडि रहेपनि प्राथमिक पुँजीकोष अनुपात पुर्याउन नसक्ने बैंकमा चिनिएको थियो । जसलाई बैंकले चैत मसान्तको वित्तीय विवरणपछि पूरा गरेको छ ।

प्राथमिक पुँजीकोष अनुपात साढे ८ प्रतिशतभन्दा माथि पुर्याउन सफल भएपछि बैंकलाई लाभांश वितरण गर्नको लागि समेत बाटो खुलेको छ । बैंकले आगामी वर्ष २ वर्षको एकैपटक लाभांश दिने छ ।


क्लिकमान्डु