अर्थशास्त्री डा. स्वर्णीम वाग्ले भन्छन्- श्रीलंकामा शासकीय अंहकार र उन्मादले समस्या आएको हो



काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णीम वाग्लेले श्रीलंकामा पछिल्लो समय देखिएको संकट शासकीय अंहकार र उन्मादका कारण सिर्जित भएका टिप्पणी गरेका छन् ।

नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा डा. वाग्लेले नेपालको समस्या श्रीलंकका जस्तो नभएको बताए ।

‘हामी अतिरञ्जनाबाट बच्नुपर्छ । नेपाल तिर्न नसक्ने ऋण र पूर्न नसक्ने शोधनान्तरघाटाको अवस्थामा छैन,’ वाग्लेले भने, ‘श्रीलंका टाट पल्टेको अवस्थामा छ । आयात शुन्य छ । तर, नेपालको अवस्था त्यस्तो होइन् ।’

उनले नीतिगत समस्याको पाटोमा भने नेपाल श्रीलंकाको बाटोमा जाने खतरा रहेको बताए ।

‘श्रीलंकामा जसरी नेपालमा पनि हँचुवाका भरमा नीति निर्माण गर्ने प्रचलन छ,’ वाग्लेले भने ,‘ नितीगत कच्चापन र कुशासनको मामिलामा हामी पनि श्रीलंकाको अवस्थामा जाने खतरा भने छ ।’

उनले श्रीलंकामा सार्वजनिक ऋण बढेका कारण समस्या देखिएको बताए ।

‘श्रीलंकामा थिंक ट्यांकले काम गर्न सकेको छैन । कुशासन र नीतिगत कच्चापनमा बढ्यो,’ वाग्लेले भने, ‘कर्जामा केन्द्रित पूर्वाधार विकास थियो । तर, कर्जाबाट बनेका पूर्वाधारले आर्थिक बृद्धि भए पनि कर्जा तिर्न सक्ने क्षमता विस्तार भएन् । जसले गर्दा श्रीलंकालाई समस्या भएको हो ।’

पूर्वाधार विकास गर्दा कहाँ लगानी गर्ने भन्ने विषयमा सोच नराख्नु, सनकको आधारमा नीतिगत निर्णय लिनु श्रीलंकाको समस्या भएको वाग्लेको भनाइ छ ।

कर कटौतीको निर्णयले सरकारको राजस्व घट्दा पनि २०१९ देखि श्रीलंका कमजोर हुँदै गएको वाग्लेले बताए ।

‘श्रीलंकामा मूल्य अभिबृद्धि कर १५ प्रतिशतबाट ८ प्रतिशत बनाउने, मूल्य अभिबृद्धि करको सीमा १ करोड २० लाख, ३० करोड पुर्याउने, अर्गानिक फार्मिङमा जाने निर्णय गलत थियो वाग्लेले भने, ‘यी सबै निर्णय सनकका भरमा भएका थिए । जसले गर्दा सार्वजनिक खर्च गर्ने क्षमता घट्यो र श्रीलंका कमजोर बन्दै गएको हो ।


क्लिकमान्डु