अर्थतन्त्रमा संरचनागत समस्या छ: पूर्वअर्थमन्त्री खतिवडा



काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रमा संरचनागत समस्या रहेको बताएका छन् ।

मंगलबार काठमाडौं भएको नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले आर्थिक वृद्धिदर निरन्तर ६, ७ र ८ प्रतिशत हुँदा व्यापारघाटा भइरहने बताए ।

खतिवडाले निर्यातजन्य वस्तुमा लगानी बढाउनु पर्ने भन्दै त्यसो नगरी
व्यापारघाटा भइरहने बताए ।

उनले नेपालको विद्युत् भारतले नकिन्ने अवस्था आयो भने समस्या आउने बताए ।

उनले बुढीगण्डकी जस्ता चार वटा आयोजना एकै चोटी गर्ने हो र वर्षको डेढदेखि २ खर्ब रुपैयाँका दरले ऋण रिपेमन्ट गर्न थाल्ने हो भने नेपाल श्रीलंकाको बाटोमा जाने बताए ।

उनले नीति बनाउँदा अर्थमन्त्रालय र राष्ट्र बैंकबीच समन्वय नै नभएको बताए ।

‘हाम्रोमा नीति बनाउँदा समन्वय छैन । अर्थमन्त्रालय एउटा गर्छ । राष्ट्र बैंक एउटा गर्छ । दुबै फरक बाटोमा छन्,’ उनले भने ।

उनले आफ्नो पालामा धेरै वस्तुको आयातमा रोक लगाएको भन्दै बीचमा हराएको बताए ।

‘राष्ट्र बैंक यस्तो बस्तुहरु छिटो रोकौं भन्छ । तर अर्थमन्त्रालयले ढिलो चासो दिन्छ । अर्थमन्त्रालय र वाणिज्य मन्त्रालयले गर्ने काम राष्ट्र बैंकले गर्नु पर्ने अवस्था भयो,’ उनले भने ।

त्यस्तै, नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले पछिल्लो समय रुस र युक्रेनको युद्धका कारणले मुलुकको अर्थतन्त्रमा थप चूनौती देखिएको बताए ।

युद्धका कारण पेट्रालियम पदार्थको मूल्य निरन्तर रुपमा बढ्दै गएकाले चूनौती थपिएको उनको भनाइ थियो ।

विश्वमै ३ प्रतिशतले आयात बढ्ने देखिएकाले विश्व अर्थतन्त्रमा नै चुनौती देखिएको भट्टले बताए ।

भट्टले पछिल्लो समय ९० प्रतिशत उद्योगहरु पूर्णरुपमा सञ्चालनमा आएको भन्दै कोरोनापछि अर्थतन्त्र पुरुउत्थान भइरहे पनि वर्तमान चुनौती सामना गर्न बलियो क्षेत्र खोजेर व्यवस्थापन गर्नुर्ने बताए ।

त्यस्तै, बैकर्स संघका उपाध्यक्ष सुनिल केसीले बैंकहरुको लगानीका कारण अर्थतन्त्र चलायमान भएको बताए ।

उनले बजारमा तरलता सहज बनाउनका लागि राष्ट्र बैंकले दिएको निर्देशन अनुसार बैंकले कृषिमा ३० प्रतिशत र माइक्रोफाइनान्समा ३८ प्रतिशत र समग्र उत्पादन उद्योगमा ४५ प्रतिशत लगानी गरिरहको दाबी गरे ।


क्लिकमान्डु