राष्ट्र बैंकमा १ अर्बको डलर काण्डः गभर्नरले राजीनामा दिए, डेपुटी गभर्नरले गरे आत्महत्या



काठमाडौं । २०३६ सालमा नेपाली चलचित्र रिजिल भयो, ‘सिन्दुर’ । सिन्दुरकी नायिका थिइन्, भारतीय अभिनेत्री मिनाक्षी आनन्द ।

नेपालमा ५२ दिनसम्म चलेर सुपरहिट भएको उक्त चलचित्रकि नायिका मिनाक्षीको विवाह नेपाली नागरिक किराँतनरसिंह राणासँग भएको थियो ।

उनले सिन्दुर बाहेक जीवनरेखा र जुनीजस्ता नेपाली चलचित्रमा समेत काम गरिसकेकी थिइन् ।

२०४० सालतिर उनै मिनाक्षी आनन्द भारतीय व्यवसायीको एउटा समूह बोकेर राष्ट्र बैंक पुगिन् ।

उनलाई त्यहाँसम्म पुर्याउन सहयोग गर्ने राष्ट्र बैंककै कर्मचारी नै थिए । उक्त समूहमा भारतीय नागरिकहरु पीजी देसाइ, विजय देसाइ, एम प्रधानलगायतका व्यक्तिहरु थिए ।

त्यो समूहले राष्ट्र बैंक समक्ष एउटा प्रस्ताव अघि सार्यो, ‘नेपालमा विदेशबाट १ अर्ब अमेरिकी डलर ऋण ल्याउने त्यो पनि ४ प्रतिशतमा ब्याजदरमा । र, ८ प्रतिशत ब्याजदरमा लगानी गरेर कुल ४२ करोड नाफा कमाउने ।’

देसार्ईहरुका समूहलाई नेपालका उच्च पदस्त अधिकारीहरुसँग परिचित गराउनका लागि मध्यस्तकर्ताको भूमिकामा मिनाक्षी आन्नदले गरेकी थिइन् ।

अभिनेत्रीका रुपमा नेपालमा परिचित मिनाक्षीको प्रयोग सहजताका लागि गरिएको प्रष्ट थियो ।

उक्त समूहले शुरुमा ३ अर्ब अमेरिकी डलर ल्याउने प्रस्ताव गरेको थियो । त्यो बेला प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र अर्थमन्त्रीमा डा. प्रकाशचन्द्र लोहनी थिए ।

राष्ट्र बैंकको गभर्नर कल्याणबिक्रम अधिकारी थिए । गभर्नर अधिकारी राजा विरेन्द्रका विश्वास पात्र समेत थिए । उसो त अधिकारीको सम्बन्ध दरवारसँग राजा महेन्द्रकै पालादेखि थियो । कल्याणबिक्रम अधिकारीका बुवा बोधबिक्रम अधिकारीले महेन्द्रलाई नेपाली भाषा पढाएका थिए । राजा विरेन्द्रको विश्वास पात्र भएपनि कल्याणबिक्रम अधिकारीलाई दरवारको भूमिगत गिरोहले पदबाट हटाइएको थियो ।

पञ्चायतको समयमा प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरलाई भेटेर मात्रै काम हुँदैन भन्ने राणा परिवारसँग विवाह गरेकी मिनाक्षी आनन्दलाई राम्रोसँग थाहा थियो ।

त्यसैले मिनाक्षी र देसाईको समूह अधिराजकुमार ज्ञानेन्द्रलाई भेट्न पुग्यो ।

राजा महेन्द्र हुँदासम्म दरबारमा गुट थिएन । तर, विरेन्द्रको पालामा गुट थियो । भाईहरु ज्ञानेन्द्र र धिरेन्द्रका साथै रानी एश्वर्यको छुट्टाछुट्टै गुट थियो ।

गुट मातहत राजाका स्वकीय सचिवहरु थिए । जसलाई पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले ‘भूमिगत गिरोह’को नाम दिएका थिए ।

उक्त समूह अधिराजकुमार ज्ञानेन्द्र हुँदै रानी ऐश्वर्यसम्म पुग्यो । रानी ऐश्वर्यले प्रस्तावमा सहमति जनाएपछि १ अर्ब डलर ल्याउने प्रक्रिया मन्त्रिपरिषद्ले पारित गर्ने नै भयो ।

त्यो समयमा १ अर्ब डलर विदेशी मुद्रा सञ्चितिका लागि निकै ठूलो रकम थियो । उक्त रकमले विकासका कैयन कामहरु एकै साथ हुन सक्दथे ।

कार्यकालसकिन लागेका गभर्नर अधिकारीको पदावधि डलरको कुरा आएपछि थप गरियो ।

देसाई समूहले त्यो बेला नेपालले लिएभन्दा सस्तो ब्याजदरमा पैसा उपलब्ध गराउने प्रस्ताव गरेको थियो । देसाईको समूहले नेपाल सरकारलाई १ अर्ब ऋण ४ प्रतिशत ब्याजदरमा ल्याइदिने र ८ प्रतिशत ब्याजदरमा लगानी गरेर ४२ करोड फाइदा पुग्ने महत्वाकांक्षी योजना सुनाएको थियो ।

तर देसाई समूहको भने नेपालमा पैसा ल्याउने कुनै योजना नै थिएन । उसको योजना राष्ट्र बैंकबाट पैसा पाउनको लागि अख्तियारी लिने र विदेशी कुनै संस्थाबाट पैसा लिएर ठग्ने योजना थियो ।

गभर्नर कल्याणबिक्रम अधिकारीले देसाई समूहको योजनामा शंका लागेर तत्काल सहयोग नगर्ने नीति लिए । राजा विरेन्द्रको विश्वास पात्रका रुपमा त्यसलाई रोक्न सक्ने हैसियत अधिकारीमा थियो ।

राष्ट्र बैंकका पूर्वगभर्नर हरिशकंर त्रिपाठी त्यो बेला कार्यकारी निर्देशक पदमा कार्यरत थिए ।

उनी सो घटनाको बारेमा स्मरण गर्दै नेपाल म्यागेजिनमा भनेका छन्, ‘गभर्नरसाबले मलाई मिनाक्षीसँग भेटेर कुरा गर्न अह्राउनुभयो । मैले राष्ट्र बैंकका लागि एउटा डकुमेन्ट्री विज्ञापन बनाउने बहाना झिकेर कुराकानी गरेँ । उनी अलि अलमलिइन् । त्यस क्रममा मिनाक्षी देसाई समूहबाट प्रयोग भई आएको अनुमान लगाउन मलाई गाह्रो भएन । मैले सबै कुरा गभर्नरलाई सुनाउँदा उहाँ अलि झस्किनुभयो ।’

राष्ट्र बैंकले अमेरिका र बेलायतबाट प्रकाशित हुने आर्थिक पत्रिकाहरु गभर्नरसहित बरिष्ठ कर्मचारीलाई पढ्न व्यवस्था गरेको थियो । त्यो बेला गभर्नर अधिकारी समक्ष अविकसित देशहरुमा ठगहरुले ऋण वापत विदेशी मुद्रा ल्याइदिने काम गरेर ठगी गरेको समाचार देखाएका थिए । जुन काम नेपालमा मिनाक्षी आनन्द र देसाईको समूहले गर्ने प्रयास गरिरहेको थियो ।

उक्त ठगीको योजना थाहा पाएर सफल हुन नदिएका गभर्नर अधिकारी भने त्यसपछि पदमा बस्न सकेनन् । राजीनामा दिनुपर्ने भयो ।

वरिष्ठ पत्रकार भैरव रिसाल त्यो बेला राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत थिए । उक्त घटना स्मरण गर्दै रिसालले हिमाल म्यागेजिनमा लेखेका छन्, ‘राससको कार्यालयमा कार्यरत रहेको बेला टेलिफोनको घण्टी आयो । हत्त न पत्त टेलिफोन उठाउने मेरो बानी, ‘नमस्कार ! म भैरव रिसाल’ भनें । फोन रहेछ राजदरबार प्रमुख संवाद सचिवालयको । ‘एउटा समाचार छ, टिपौं न’ भने ।

‘कल्याणविक्रम अधिकारीले नेपाल राष्ट्र बैंकको गभर्नर पदबाट राजीनामा दिएको छोटो समाचार रहेछ, मैले टिपें,’ उनले भनेका छन्, ‘फोन राखेपछि समाचार पढ्छु त भाषा मिल्दैन, कल्याणविक्रम जस्तो विशिष्ट मान्छेले दिएको राजीनामाको भाषा मिल्दैन । यो त भएन, एकपल्ट सोध्नु पर्यो, पर्यो । सोधेर के बिग्रिन्छ र ! छेमकुशलको शिष्टाचार पश्चात्, ‘तपाईंले दिएको राजीनामाको भाषा मिलेन’ भन्दा कल्याणविक्रमले कत्ति पनि नहड्बडाई धैर्य साथ भने, ‘पढ्नोस् त कहाँ के मिलेन ?’

मैले त्यो खबर विस्तारै पढें । उनले उस्तै धैर्यसाथ सुनेर एकपल्ट फेरि पढ्न लगाए । मैले फेरि विस्तारै पढें । तत्पश्चात कल्याणविक्रमजीले ‘यस्तै हो, जस्तो छ त्यस्तै दिनुहोला,’ भने । राजीनामा उनको, राससको मात्र किन टाउको दुखाइ ! सरोकारवालाले नै मिलेको छ भनेपछि त्यस्तै समाचार दियौं ।

पछि थाहा भो, कल्याणविक्रम अधिकारीले गभर्नर पदबाट राजीनामा दिएको होइन रहेछ । बिचरा उनलाई मैले फोन गर्दासम्म पनि राजीनामाबारे थाहै रहेनछ ।

पदबाट राजीनामा गरेपछि उनले प्रेसको सहयोगमा डलर काण्डको बारेमा जानकारी गराएका थिए । गभर्नर अधिकारीले तत्कालिन विदेशी विनिमय विभागका प्रमुख मुकुन्दप्रसाद घिमिरे र उनका तत्कालीन सहायक कृष्णबहादुर मानन्धरलाई मुम्बई पठाएर देसाई समूहको बारेमा अध्ययन गर्न पठाएका थिए ।

राष्ट्र बैंकका कामू गभर्नर समेत रहेका मानन्धर त्यो घटना स्मरण गर्दै भन्छन्, ‘हामीहरु मुम्बई गएर देसाईको घर हेरेपछि मात्र उनीहरु ठग रहेको पुष्टी भयो, १ अर्ब डलर नेपालमा ल्याउने भन्दै शक्तिकेन्द्रका नजिकका देसाई, ट्याक्सी समेत छिर्न नसक्ने घरमा बसेका थिए ।’

पूर्वसूचना बिना मुम्बई पुगेकोमा देसाई मानन्धर र घिमिरेसँग रिसाएका थिए ।

‘१ अर्ब डलर ल्याइदिनसक्छु भन्ने व्यक्तिलाई मेल खाने बसाइँ पनि दिएन, मात्र नेपालमा शक्तिकेन्द्र प्रयोग गरेर ठग्न सकिने दिमाग मात्र लगाएका थिए,’ मानन्धरले घटना स्मरण गर्दै भने ।

मानन्धरको टोली मुम्बईमा भएको घटनाको विस्तृत विवरण बनाएको थियो ।

विवरण बनाउनुअघि नै डेपुटी गभर्नर केशवनाथ शर्माले राष्ट्र बैंकको लेटरप्याडमा देसाईको समूहलाई ऋण ल्याउने अधिकारपत्र र विश्व भ्रमण गर्न १५ हजार अमेरिकी डलर निकासा गरेका गरेका थिए । वाणिज्य बैंकका सञ्चालक समेत रहेका शर्माले थप १० हजार डलर समेत लिएका थिए ।

देसाईको समूह पत्र लिएर स्वीजरल्यान्ड समेत पुगेको थियो । तर, रकम निकासाका लागि स्वीस बैंकले कन्र्फम पत्र मागेको थियो । नेपालमा रहेका गभर्नर अधिकारीले देसाईको समूहलाई रकम निकासा नदिनका लागि पत्र लेखे । यस्तै पत्र विश्वका अन्य केन्द्रीय बैंकलाई लेखेपछि देशाई समूहले १ अर्ब डलर लिएर भाग्ने काम गर्न भने सकेन ।

गभर्नर अधिकारीले पद गएपनि तत्कालिन पत्रिकामा सूचना दिएर १ अर्ब डलर काण्डकको बारेमा जनतालाई अवगत गराएका थिए । देसाई समूह ठग भएको पुष्टी भएपछि कारवाही भने गभर्नर अधिकारीले पदबाट राजीनामा गर्नुपर्ने भयो ।

देसाईको समूहले २५ हजार अमेरिकी डलर भने विदेशबाट पैसा ल्याउने भनेर पचाएको थियो । जुन पैसा देसाई समूहले फिर्ता गरेन ।

डलरकाण्ड घटना घटेको केही समयपछि केशवनाथ शर्माले आत्महत्या गरे । उनले आत्महत्या के कारणले गरे भन्ने विषय भने रहस्यमै रह्यो । डलर काण्डकै कारण शर्माले आत्महत्या गरेको त्यो बेला राष्ट्र बैंकमा काम गर्नेहरु बताउँछन् ।

मिनाक्षी आनन्द जोडिएको घटना नेपालको इतिहासमा १ अर्ब डलर काण्डको रुपले चिनिन्छ ।


क्लिकमाण्डू