विद्युतीय सवारी साधनमा किन लाग्छ आगो, के छन् बच्ने उपायहरु ?



ऐजेन्सी । जलवायु परिवर्तन एवम् विश्वभर बढ्दो ऊर्जा संटकका कारण मानिसहरुले विकल्प खोजीरहेका छन् । इन्धनको मूल्यवृद्धिका कारण कमजोर अर्थतन्त्र भएका देशहरु अलिक बढी नै समस्यामा परेका छन् ।

ऊर्जा संटकबाट बाहिर निस्कनका लागि संसारभर नै विकल्पमा विद्युतीय सवारी साधनको प्रयोग, उत्पादन तथा खोज जारी छ ।
विश्वबजारमा सिंगल चार्जमा एक हजार किलोमिटरसम्म गुड्ने विद्युतीय सवारी साधन समेत उपलब्ध भइसकेका छन् । दुई पांग्रेदेखि चार पांग्रे सवारी साधनको निर्माणमा उल्लेख्य प्रगति भएको छ ।


नाम चलेका अटो कम्पनीले आफूलाई अब क्रमशः विद्युतीय सवारी साधन निर्माणका नयाँ नयाँ प्लान्टहरु खडा गरेका छन् । टेस्लादेखि जापानी अटो कम्पनीसँग, कोरियनदेखि यूरोपेली अटो मेकरहरुले आफूलाई विद्युतीय सवारीतर्फको यात्रामा डोर्याएका छन् ।

समयको माग र चाहनालाई सम्बोधन नगर्दा पछि परिने डरका साथ उनीहरुले अगाडि सारेको अभियानले सार्थकता समेत पाउन थालेका छन् । मानिसमा चाहना र लगानी क्षमताका आधारमा तयार पारिएका विद्युतीय सवारी साधन पट्रोलियम सवारी साधन जस्तै आरामदायी र सर्वसुविधा सम्पन्न समेत देखिएका छन् ।

तर, पछिल्ला दिनमा विद्युतीय सवारी साधन प्रयोगकर्तामा एक प्रकारको डरले घर गरेको छ । त्यो हो, बेला न कुबेला विद्युतीय सवारी साधनमा आगलागी हुने गरेको छ । खासगरी पछिल्ला विद्युतीय सवारी साधनमा लिथियम आयन ब्याट्रीको प्रयोग गरिएको छ । अटो मेकरहरुले सुरक्षामा विशेष ध्यान दिइएको बताएपनि अकस्मात लाग्ने आगोका कारण समस्या र जटिलता दुवै थपिएका छन् ।

गत वर्षदेखि भारतीय अटो बजारमा ओला कम्पनीले विद्युतीय सवारी साधन सार्वजनिक गर्यो । त्यसमा दुई पांग्रे स्कुटर ओला सबैभन्दा लोकप्रिय र सबैभन्दा कम समयमा अत्याधिक धेरै दर्ता भएको थियो ।

धेरैको मन जितेको सो स्कुटर नै भारतमा सबैभन्दा बढी आगलागीमा परेको छ । भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार पछिल्ला चार महिनाको बीचमा मात्रै सात वटा ओलाको स्कुटरमा आगलागी भएको छ ।

अन्य कम्पनीका स्कुटरमा समेत आगलागी भएका छन् । यसबाट विद्युतीय सवारी साधन प्रयोग गर्छु भन्ने र गरिरहेकालाई समेत डर थपिदिएको छ । यात्राकै क्रममा कतै आगलागी हुने त होइन भन्ने चिन्ताले सताएको छ ।

अटो मेकरले भने यसमा के भएको हो बुझ्ने र कमजोरी सुधार गर्ने प्रतिवद्धता जनाएपनि खास अर्थमा समस्याको समाधान हुन सकेको छैन । यसका केही उदहारण हेरौ ।

यस वर्षको मार्चमा, नयाँ इभी एस वान प्रो नाम दिइएको इलेक्ट्रिक स्कुटरमा पुणेमा आगलागी भयो । सो घटनाको भिडियो इन्टरनेटमा भाइरल भयो । आगलागीको घटनापछि कम्पनीले गुणस्तरमा पूर्ण ख्याल गर्न कम्पनी प्रतिबद्ध रहेको बतायो । सो घटनालाई गम्भीरताका साथ लिएर अनुसन्धान गरिरहेको पनि बतायो ।

भारतका विभिन्न शहरमा नै विद्युतीय स्कुटरमा आगलागीका धेरै घटना भइसकेपछि सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले त्यस्ता घटनाको छानबिन गर्न विज्ञ समिति गठन गरे । उनले विद्युतीय सवारीको गुणस्तरबारे छिट्टै दिशानिर्देश जारी गरिने पनि उल्लेख गरे ।
गडकरीले सामाजिक सञ्जालमा एकपछि अर्को गर्दै ट्वीट गर्दै भने ‘ पछिल्लो दुई महिनामा विद्युतीय स्कुटरमा आगलागीका धेरै घटनाहरू सार्वजनिक भएका छन् । यी दुर्घटनामा केही व्यक्तिको ज्यान गएको छ भने धेरै घाइते हुनु दुर्भाग्यपूर्ण छ । मुद्दाहरू छानबिन गरी सुधारका लागि सुझाव दिन विज्ञ समिति गठन गरिएको छ ।’

उनले ट्वीटरमा लेखेका छन्, ‘ छानबिन समितिको प्रतिवेदन आएपछि नियम नमान्ने कम्पनीलाई आवश्यक कारवाही गरिनेछ । विद्युतीय सवारी साधनको गुणस्तरका सम्बन्धमा छिट्टै दिशानिर्देश जारी गरिनेछ । यदि कुनै कम्पनीले नियम उल्लंघन गरेमा भारी जरिवाना गरिने छ, साथै, उसलाई बिग्रिएको स्कुटर फिर्ता ल्याउन भनिनेछ । पीडितलाई उल्लेख्य मात्रामा क्षतिपूर्ति दिइनेछ ।’

गडकरीले लेखे कि अटो मेकर कम्पनीले यथाशिघ्र कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्छ र खराब ठानिएका स्कुटरहरू तत्काल फिर्ता गर्न सुरु गर्नुपर्छ ।

नेपाल, भारतलगायत विश्वका धेरै देशमा सरकारले विद्युतीय सवारीसाधन बिक्रीमा सहयोग गरिरहेको छ । भारतका धेरै राज्य सरकारले यसका लागि अनुदान पनि दिएका छन् । केन्द्रीय राजधानी समेत रहेको दिल्ली सरकारले छ विद्युतीय सवारी साधनका लागि उल्लेख्य मात्रामा अनुदान दिएको छ ।

भारतमा भएका केही आगलागीका घटना

गत साता मात्रै भारतको हैदरावादको निजामाबादमा घरमा चार्ज गर्ने क्रममा स्कुटरको ब्याट्री विस्फोट हुँदा एक ८० वर्षीय मानिसको मृत्यु भयो भने थप दुई जना घाइते भए । गत वर्षदेखि पावर युजिङ रिन्युएवल इनर्जी कम्पनीको विद्युतीय स्कुटर प्रयोग गर्दै आएका उनका छोराले ब्याट्री ‘खराब गुणस्तरको’ भएका कारण आफ्ना पीताको निधन भएको बताए ।

त्यसअघि वारङ्गलमा सडक छेउमा पार्किङ गरेको सोही कम्पनीको स्कुटरमा आगलागी भएको थियो ।

यस वर्षकै मार्चमा, अर्को दुर्घटनामा, महाराष्ट्रको पुणेमा ओला इलेक्ट्रिक स्कुटरमा आगो लागेको थियो । सोही दिन नै वेलुरमा विद्युतीय स्कुटरमा आगलागी भएको थियो ।

विद्युतीय स्कुटरमा आगलागीको अर्को ठूलो घटना नासिकमा पनि भयो । जब स्कुटरको पहिलो खेप कारखानाबाट बाहिर निकालिदै थियो । गत जनवरीमा जितेन्द्र इभी कम्पनीको गेट अगाडि विद्युतीय स्कुटरमा आगलागी हुँदा २० वटा स्कुटर जलेर नष्ट भएका थिए ।
अप्रिलमा नै तमिलनाडुको ओकिनावाको एउटा पसलमा आगलागी भएको थियो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार आगलागी सबैभन्दा पहिले पसल भित्र पार्क गरिएको स्कुटरबाट सुरु भएको थियो ।

के भनेका थिए गडकरीले ?

विद्युतीय स्कुटरसँग सम्बन्धित यी दुर्घटनाहरूको बारेमा, ३१ मार्चमा, नितिन गडकरीले भारतीय लोकसभामा भनेका थिए कि यी दुर्घटनाहरू अत्यधिक गर्मीका कारण भएको हुन सक्छ । तर, यस विषयमा विज्ञ समितिको प्रतिवेदन आउन बाँकी रहेका कारण अहिल्यै त्यसै भन्न नसकिने बताएका थिए ।
उनले यो गम्भीर विषय भएको र यस्ता हरेक घटनाको पछाडिको कारण पत्ता लगाउन फरेन्सिक अनुसन्धान गर्न निर्देशन दिइएको बताएका थिए । त्यसको प्राविधिक कारण पत्ता लागेपछि सरकारले यसतर्फ आवश्यक कदम चाल्ने बताएका थिए ।
पछिल्ला दिनमा मोबाइल फोनदेखि ल्यापटप, इलेक्ट्रिक कार र इलेक्ट्रिक स्कुटरहरू, तीमध्ये धेरैजसोमा लिथियम–आयन ब्याट्री प्रयोग गरिएको हुन्छ ।

सरल शब्दमा भन्दा एउटा सामान्य लिथियम–आयन ब्याट्रीको एक छेउमा क्याथोड र अर्कोमा एनोड हुन्छ । तिनीहरूको बीचमा रहेको भागलाई इलेक्ट्रोलाइट भनिन्छ । ब्याट्री चार्ज गर्दा, धातु आयन क्याथोडबाट एनोडमा सर्छन् । जब कुनै उपकरण जडान हुन्छ, तिनीहरू विपरीत दिशामा प्रवाह हुन थाल्छ ।

यस प्रक्रियामा तिनीहरूले मुक्त आयन बनाउँछन् जुन या त क्याथोड वा एनोड तिर जम्मा हुन जान्छन् । स्कुटरमा प्रयोग हुने ब्याट्री वास्तवमा एउटै ब्याट्री होइन त्यहाँ सयौं ब्याट्रीको समूह हुन्छ ।

त्यसैले तिनीहरूलाई ब्याट्री प्याक भनिन्छ, त्यो एउटा ब्याट्री भने होइन ।

भारतको ऊर्जा दक्षता ब्यूरोका अनुसार, यस प्रकारको ब्याट्रीको प्याक बलियो व्यवस्थापन प्रणालीसँग सुसज्जित हुन्छ । जुन ब्याट्री प्याकमा उपस्थित सबै लिथियम–आयन ब्याट्रीसँग जोडिएको हुन्छ । यसले ब्याट्री प्याकको भोल्टेज नाप्छ । ब्याट्री प्याकबाट एक पटकमा कति चार्ज भइरहेको छ भनी देख्न पनि सकिन्छ ।

यसमा तापक्रम पत्ता लगाउन सेन्सरहरू छन्, जसले लगातार ब्याट्रीको तापक्रम मापन गर्दछ । यो प्रणालीले ब्याट्रीमा आगो र विस्फोटको जोखिम कम गर्न जान्छ । यसबाहेक, बजारमा लिड एसिड ब्याट्री पनि प्रयोग गरिन्छ । तर लिथियम–आयन ब्याट्रीको तुलनामा तिनीहरू लामो समयसम्म टिक्दैनन् ।

किन लाग्यो आगो ?

विद्युतीय स्कुटरमा आगलागीको कारण भने खुल्न सकेको छैन । स्थानीय ओकिनावा डिलरसिपमा भएको दुर्घटनापछि कम्पनीले प्रारम्भिक अनुसन्धानमा स्कुटरको ब्याट्री नभई भवनको सर्ट सर्किटले आगलागी भएको बताएको थियो ।

इकोनोमिक टाइम्सको रिपोर्ट अनुसार कम्पनीले घटनापछि ३ हजार २१५ प्रेइस प्रो इलेक्ट्रिक स्कुटर फिर्ता लगेको छ । भारतका विद्युतीय स्कुटर निर्माता कम्पनीले दुर्घटनापछि स्कुटर फिर्ता गरेको यो पहिलो पटक हो ।
कम्पनीले एक विज्ञप्ति जारी गर्दै ब्याट्री लुज कनेक्टर वा कुनै क्षति भए नभएको जाँच गरी कम्पनीले निःशुल्क प्रतिस्थापन गर्ने जनाएको छ ।
अप्रिलको पहिलो हप्तामा, फाइनान्सियल एक्सप्रेसको एक रिपोर्टमा भनिएको थियो कि इलेक्ट्रिक ब्याट्री प्याकमा अनियन्त्रित आगोलाई थर्मल रनअवे भनिन्छ ।

एक विज्ञलाई उद्धृत गर्दै सो अखबारले लेखेको छ कि जब कोशिकाबाट ऊर्जा आउँछ वा जान्छ, त्यो प्रक्रियामा गर्मी उत्पन्न हुन जान्छ । एउटा ब्याट्री प्याकमा सय भन्दा बढी ब्याट्रीहरू सँगै राख्ने हुनाले त्यसमा उत्पन्न हुने ताप यति धेरै हुन्छ कि यसले थर्मल रनअवेको जोखिमलाई निम्त्याउँछ । यद्यपि, निर्माण त्रुटिका कारण थर्मल रनअवेको जोखिम पनि हुन सक्छ ।

सोही समयमा, इन्डियन एक्सप्रेसमा प्रकाशित एक रिपोर्ट अनुसार, लिथियम–आयन ब्याट्रीले कम तापक्रममा राम्रो काम गर्छ, जबकि ब्याट्री प्याकको तापक्रम उच्च तापक्रम क्षेत्रमा बढ्न जान्छ । यो ९० देखि १०० डिग्री सम्म बढ्न सक्छ । यो पानी उम्लने बराबरको तापक्रम हो ।

सोही कारण आगो लाग्ने खतरा बढेर जान्छ । सिएनबीसीमा प्रकाशित एक रिपोर्ट अनुसार अष्टे«लियाको मेलबर्नमा रहेको इभी फायर सेफ परियोजनाका कार्यक्रम निर्देशक अम्मा सटक्लिफ भन्छिन् ‘ यदि लिथियम आयन ब्याट्रीमा आगो लागेमा, यसलाई नियन्त्रण गर्न गाह्रो हुन्छ किन भने तिनीहरू छिटो र अधिक गर्मीमा जल्छन् र यसलाई निभाउन धेरै समय लाग्छ ।’

हिन्दुस्तान टाइम्समा प्रकाशित एक रिपोर्टमा विज्ञले यस्तो ब्याट्री प्याकमा प्लाष्टिकको क्याबिनेट प्रयोग हुने बताएका छन् । जुन गर्मीका कारण पग्लन थाल्छ । जब त्यसो हुन्छ, त्यसमा रहेका सर्किटहरू पग्लन थाल्छन् । आगोको खतरा पैदा हुन्छ ।

कसरी जोगाउन सकिन्छ ?

विद्युतीय सवारी साधनको चार्जिङका लागि सरकारले लागू गरेको नियम अनुसार त्यस्ता सकेट आउटलेट जमिनबाट कम्तिमा ८०० मिमि माथि हुनुपर्छ ।

कनेक्टरलाई गाडीमा जडान गर्न कुनै एडप्टर वा कर्ड एक्सटेन्सन प्रयोग गर्नु हुँदैन ।

लिथियम–आयन ब्याट्रीका सम्बन्धमा ओकिनावा र शुद्ध इभीद्वारा निर्धारित सुरक्षा नियम अनुसार, ती ब्याट्रीलाई कोठाको तापक्रममा राख्नुपर्छ ।

स्कूटर प्रयोग गरेपछि कम्तिमा ४५ मिनेटसम्म चार्ज गर्नु हुँदैन ।

ब्याट्री चार्ज गर्ने ठाउँ हावा चल्ने, सफा र सुक्खा हुनुपर्छ । यो ठाउँ आगो वा तातो स्रोतबाट कम्तिमा दुई मिटर टाढा हुनुपर्छ ।

घाममा ब्याट्री चार्ज नगर्नुहोस् । यसलाई भिजेको कपडा सल्फेट वा क्लिनरले सफा नगर्नुहोस ।

ब्याट्री चार्ज गर्दा चार्जरलाई ब्याट्रीको माथि नराख्नुहोस् ।

यदि तपाइँ स्कुटर धुनुहुन्छ भने, यो सुनिश्चित गर्नुहोस् कि यसमा कुनै ब्याट्री छैन । ब्याट्री पूर्ण रूपमा सुख्खा हुँदा मात्र बदल्नुहोस ्।
ब्याट्रीलाई पाँच घण्टा भन्दा बढी चार्ज नगर्नुहोस्, । ब्याट्रीलाई रातभर वा दिनभर चार्ज नगर्नुहोस् ।

यदि ब्याट्री डिस्चार्ज वा बिग्रिएको छ भने चार्ज नगर्नुहोस् । यसो गरिए आगलागीको घटना हुने सम्भावना कम हुन जान्छ ।
भारतीय सञ्चार माध्यमहरुको सहयोगमा


क्लिकमान्डु