पकिस्तानमा ऊर्जा संकटः थार मरुभूमिको १७५ अर्ब टन कोइलाबाट ग्याँस र डिजल उत्पादनको तयारी



एजेन्सी । आर्थिक संकटमा फसेको श्रीलंकामा दैनिक १४ देखि १६ घण्टासम्म लोडसेडिङ छ ।

थर्मल प्लान्टबाट उत्पादन गरिने बिजुली इन्धनको संकटका कारण समस्यामा परेको छ । विदेशी मुद्राको अभावमा पर्याप्त मात्रामा इन्धन खरिद गर्न नसक्दा थर्मल प्लान्ट चल्न सकेको छैन ।

सरकारका अनेकन प्रयास सफल हुन सकेको छैन । श्रीलंकामा आणविक भट्टी छैनन् । ठूला नदी पनि छैनन् । सोही कारण ऊर्जाका अन्य विकल्प तथा स्रोत उपलब्ध हुन सकेको छैन ।

ऊर्जामा परनिर्भर हुनुको पीडा टापु देशले भोगिरहेको छ । यो त भयो, परापूर्वकालको लंका अर्थात् हालको श्रीलंकाको कुरा ।

यता, दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को अर्को सदस्य देश पाकिस्तानको हालत पनि उस्तै छ । लोडसेडिङले जनजीवन प्रभावित छ । दैनिक १० घण्टाभन्दा बढीको लोडसेडिङका कारण उद्योग प्रतिष्ठानको सञ्चालनमा समेत जटिलता पैदा भएको छ ।

पकिस्तानी सरकारका कुनै पनि प्रयासले साथर्कता पाउन सकेको छैन । मानिसका चाहना मुखतिर हुन पाएका छैनन् । औद्योगिक वातावरण बन्न पाएको छैन ।

भारतलाई दक्षिण एशियामा टक्कर दिने हैसियत राख्ने पाकिस्तानको ऊर्जा संटकको पछाडि नेपालको जस्तै अस्तव्यस्त प्रशासन र कमिसनमा टिकेको राजनीतिक नेतृत्व नै प्रमुख जिम्मेवार रहेको तथ्यहरुले पुष्टि गरेको छ ।

बढ्दो जनसंख्या, कमजोर भौतिक पूर्वाधार एवम् स्रोतको कम उपलब्धता जस्ता कारणले गर्दा पाकिस्तानले अन्धकारको भुक्तमान भोग्नु परेको छ । पाकिस्तान र श्रीलंकाको अवस्था ६ वर्षअघिको नेपालको जस्तै छ ।

किनकी, राजनीतिक खिचातानी, राज्यका निकायमा सेनाको अनाधिकृत हस्तक्षेप एवम् भ्रष्टाचार र अनियमितताको जराले ग्रस्त भएको पाकिस्तान आफैमा संकटमा फसेको छ ।

इमरान खानको सरकार गठन भएपछि राजनीतिक स्थिरतामा जान्छ भन्ने अनुमानका विपरीत सेना र विदेश शक्ति सक्रिय हुँदा अस्थिरता मौलाएर गएको छ ।

त्यसो त पाकिस्तानले इन्धनमा आत्मनिर्भर हुन कोइलाबाट तेल र ग्याँस बनाउने परियोजना अगाडि बढाएको छ । रुस र युक्रेनको लडाइका कारण विश्व बजारमा इन्धनको अत्यधिक मूल्यबृद्धि भएको सन्दर्भमा पाकिस्तानको तयारीले कस्तो परिणाम निकाल्ने हो, त्यो भने अहिल्यै भनिहाल्ने अवस्था छैन ।

विश्व बजारमा तेलको बढ्दो मूल्यलाई ख्याल गर्दै पाकिस्तानको केन्द्र सरकारले कोइलाबाट ग्याँस र तेलको उत्पादन गर्ने परियोजना शुरु गर्न लागिएको पाकिस्तानको अखबार डनले जनाएको छ ।

सो अखबारका अनुसार पाकिस्तान अहिले उसको उर्जा आवश्यकताका लागि आयातित तेल र ग्याँसमा निर्भर छ ।

पाकिस्तानको कुल आयातमा २५ प्रतिशत हिस्सा ऊर्जासम्बन्धी स्रोतले ओगट्ने सरकारले तथ्याकंले स्पष्ट पारेको छ ।

पाकिस्तान अब आफैले कोइलाबाट तेल र ग्याँस उत्सर्जन गरेर खनिज इन्धनमा आत्मनिर्भर हुन चाहन्छ । कोइलालाई ग्याँस र पेट्रोलमा बदल्ने परियोजनाबारे जानकार पाकिस्तानी अधिकारीका अनुसार यो परियोजना सन् २०२९–३० सम्म पूरा हुने बताए ।

इन्धनमा आत्मनिर्भर नहुँदासम्म रणनीतिक हिसाबले सुरक्षाको प्रबन्ध बलियो नहुने निष्कर्षका साथ प्रक्रिया अगाडि बढाइएको स्थानीय सरकारका अधिकारीलाई उदृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पाकिस्तानको थार मरुभूमिमा विशाल कोइला भण्डार छ । थार पाकिस्तानको सबैभन्दा विशाल मरुभूमि हो । नेपाललाई अपार जलसम्पदा दिए जस्तै पाकिस्तानलाई मरुभूमिले प्राकृतिक खनिज दिएको छ । ती खनिज मध्येको एक हो, कोइला भण्डार ।

पाकिस्तानको सिन्ध एग्रो कोल माईनिङ कम्पनीले उपलब्ध गराएको एक कार्य प्रस्तुती विवरण अनुसार थार मरुभूमि क्षेत्रमा १७५ अर्ब टन कोइलाको विशाल भण्डार छ ।

यो भनेको ५० अर्ब टन तेल बराबर हो, जुन साउदी अरब र इरानको संयुक्त तेल भण्डारभन्दा बढि हो । कस्तुरीले आफैसँग वीना लिएर हिँडेजस्तै प्राकृतिक स्रोत भएर पनि ऊर्जामा परनिर्भर बनेको पाकिस्तानले के अब लय समात्न खोजेको हो त भन्ने जिज्ञासा पनि सरोकारवालाहरुका बीचमा उत्पन्न भएको छ ।

त्यस्तै थार मरुभूमि मुनीको कोइला भण्डार २० हजार क्युबिक फिट ग्याँस बराबर हो, जुन पाकिस्तानको अहिलेको ग्याँस भण्डारभन्दा ६८ गुणाभन्दा बढी रहेको विवरणहरुमा जनाइएको छ ।

तर पाकिस्तानको विडम्बना के छ भने, थार मरुभूमिमा विशाल परिमाणको प्रमाणित कोइला भण्डार हुदाँहुदै अहिले पाकिस्तानले उपयोग गर्ने अधिकाशं कोइला विदेशबाट आयात हुने गरेको छ । सोही कारण आर्थिक रुमपा बढी जोखिम र भार बेहोर्नु परेको छ ।

पाकिस्तानले अष्ट्रेलिया, दक्षिण अफ्रिकाका अतिरिक्त अफगानिस्तानसँग पनि कोइला आयात गर्छ ।

रुस र युक्रेनबीचको लडाईमा कारण अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्यमा अत्यधिक बृद्धि भएको छ । भारतका अधिकांश थर्मल प्लान्टमा समस्या आउनुको पछाडि पनि सोही कारण रहेको बताइन्छ ।

अब प्रश्न उठ्छ पाकिस्तानमा कसरी हुन्छ कोइलाबाट तेल र ग्याँसको उत्पादन ? । यसको उत्तर पनि हेरौं ।

उर्जा विशेषज्ञ तथा इनर्जी प्लानिङ कमिशन अफ पाकिस्तानका पूर्वसदस्य सैयद अख्तर अलीका अनुसार कोइलालाई उच्च दबाब दिएर आशिंक रुपमा जलाउँदा मिथेन ग्याँस उत्पादन हुन्छ ।

सिन्थेटिक ग्याँस पनि भनिने यो मिथेन ग्याँस झण्डै झण्डै प्राकृतिक ग्याँस हाराहारी हुन्छ । यो ग्याँसलाई वितरण पाइपलाइनमा हाल्नुअघि त्यसबाट सकिने जति कार्बन डाइअक्साइड हटाएर केही सफा गरिन्छ ।

त्यस्तै यही प्रक्रियामा थप प्रशोधन गर्दा कोइलाबाट डिजल पनि बनाउन सकिन्छ । वैज्ञानिक समेत रहेका सैयद अख्तर अलिका अनुसार कोइलाबाट ग्याँस बनाउन हाल बजारमा ग्याँस सिलिण्डरमा बेचिने ‘लिक्युफाइड नेचुरल ग्याँस (एलएनजी)’को मूल्य बराबर खर्च पर्न जान्छ । आफ्नै उत्पादन भएकाले पनि पाकिस्तानलाई त्यो सबैभन्दा उत्तम किवल्प बन्न सक्छ ।

पाकिस्तानले एलएनजीको आयातको लागि १० डलर प्रतिमिटरक्यूब बराबरको रणनीतिक रुपमा दीर्घकालीन सम्झौता गरेको छ ।

तथापि अहिले विश्व बजारमा ग्याँसको मूल्य दस डलरभन्दा कैयौं गुणा बढि छ । त्यसबाट लागतमा समेत अत्यधिक मूल्यबृद्धि भएको छ ।

पाकिस्तानले कोइलाबाट ग्याँस तेल बनाउने कुराका लागि चीनबाट ज्ञान लिने र सोहीबाट पाठ सिक्ने संकेत गरेको छ ।
चीनमा पहिलेदेखि कोइलाबाट तेल र ग्याँसको उत्पादन भइरहेको सैयद अख्तर अलीले बताएका छन् । चीनबाहेक अन्य धेरै मुलुकमा कोइलाबाट तेल र ग्याँस उत्पादन हुने अलीले जानकारी दिए ।

अलीका अनुसार यस परियोजना अन्तर्गत बन्ने पेट्रोकेमिकल संरचनामा तेल र ग्याँस मात्र उत्पादन हुँदैन, कृतिम मल पनि उत्पादन हुनेछ ।

कोइलाबाट उत्पादन हुने तेल र ग्याँसले पाकिस्तानलाई उर्जामा आत्मनिर्भर बनाउला तर यसको निर्माण गर्दा ठूलो परिमाणमा प्रदुषण उत्सर्जन हुन्छ ।

एक अनुसन्धानले एक मेट्रिक टन तेलको उत्पादनका लागि पाँच मेट्रिक टन कोइला प्रयोग हुने देखाएको छ । यस प्रक्रियामा पाँच भागको चार भाग कोइला जलेर कार्बनडाइअक्साइड लगायत अन्य हानिकारक ग्याँसमा बदलिन्छ ।

त्यस अतिरिक्त परम्परागत तेल प्रशोधन केन्द्रको तुलनामा कोइलाबाट तेल प्रशोधन गर्ने केन्द्रमा तीन गुणा बढी पानी आवश्यक पर्छ ।

उत्पादन प्रक्रियामा मात्र यी इन्धनले उच्च प्रदुषण उत्सर्जन गर्ने होइन, कोइलाबाट बन्ने तेल प्रयोग गर्दा यसले अन्य स्रोतबाट बनेको तेलले भन्दा उच्च कार्बनडाइअक्साइड उत्सर्जन गर्ने शोधहरुबाट देखिएको छ ।

अनेकन शोधका अनुसार कोइलाबाट उत्पादन भएको ग्याँसले प्राकृतिक ग्याँसले भन्दा सात गुणा बढी हानिकारक ग्याँस उत्सर्जन गर्ने विवरणहरु विभिन्न जर्नलहरुमा जनाइएको छ ।

वतावरणीय विषयलाई अगाडि बढाउँदा विकास गर्न नसकिने, विकास पनि रोक्न नसकिने अवस्थामा पाकिस्तान अरु देश जस्तै फसेको छ । यो अवस्थामा सन्तुलित र समन्यायिक विकासको अवधारणा अगाडि बढाउनु जरुरी तथा अत्यावश्यक छ । यो द्विविधाकाबीच अब इन्धन तयार पार्ने प्रक्रिया कसरी अगाडि बढ्ला त्यो भने आगामी दिनले नै तय गर्ला ।

पाकिस्तानी सञ्चार माध्यम र बीबीसीको सहयोगमा


क्लिकमान्डु