राष्ट्र बैंकको नीतिले मंसिरबाट आयात कर्जा निरन्तर घट्दो, फागुनमा २२% ले घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको शुरुदेखि नै उच्च रुपमा आयात हुँदा विदेशी मुद्रा सञ्चिति घट्दै गएको छ ।

गत असार मसान्तसम्ममा १३ खर्ब ९९ अर्ब ३ करोड विदेशी मुद्रा सञ्चिति रहेकोमा फागुन मसान्तसम्म आइपुग्दा १६.३ प्रतिशतले घटेर ११ खर्ब ७१ अर्ब रुपैयाँ मात्रै छ ।

विलासिताको वस्तुको उच्च आयात हुँदा विदेशी मुद्रा सञ्चिति घट्दै गएको र तरलता अभाव देखिएको भन्दै राष्ट्र बैंकले विभिन्न चरणमा आयातमा कडाइ गर्दै आएको छ ।

राष्ट्र बैंकले शुरुमा आवश्यकभन्दा बढी आयात भएको भन्दै चाँदी आयातमा कडाइ गरेको थियो । त्यसपछि पुसमा ५ गते २० वटा वस्तुमा प्रतितपत्र (एलसी) मा ५० र १०० प्रतिशत नगद मार्जिनको व्यवस्था गरेको थियो ।

उक्त निर्णयपछि पनि आयात नघटेपछि माघ २८ गते फेरि थप २७ वटा वस्तुमा ५० र शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरिएको थियो ।

४७ वस्तुको आयातमा नगद मार्जिनको कडाइले पनि आयात कम नभएपछि अहिले राष्ट्र बैंकको निर्देशनमा नेपाल बैंकर्स संघले मौखिक रुपमा एलसी नखोल्ने निर्णय गरेको छ । साथै, संघले थप मोबाइल फोनको आयातमा पनि एलसी नखोल्ने गरिसकेको छ ।

गत कात्तिकदेखि बैंकिङ प्रणालीमा तरलता अभाव देखिन थालेपछि राष्ट्र बैंकले आयातमा कडाइ गर्दै आएको हो । जसले गर्दा मंसिरदेखि आयातित कर्जा प्रवाहमा निरन्तर गिरावट आएको छ ।

चालु आर्थिक वर्षको शुरुमा उच्च रुपमा आयात कर्जा प्रवाह भएकोमा राष्ट्र बैंकको नीतिले खुम्चिँदै गएको देखिन्छ । जसमा साउनको तुलनामा फागुनसम्म आइपुग्दा ४१ प्रतिशतले कर्जा प्रवाहमा कमी आएको छ ।चालु आर्थिक वर्षको साउन महिनामा

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयातका लागि ४८.६७ प्रतिशत बढी कर्जा प्रवाह भएको थियो ।

आर्थिक वर्ष २०७७/७८ को साउनमा बैंक तथा वित्तीय संस्थाबाट आयातका लागि १ खर्ब ३८ अर्ब ३१ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह भएकोमा चालु आवको साउन महिनामा आयातका लागि २ खर्ब ४ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

त्यसैगरी साउनको तुलनामा भदौ महिनामा कर्जा प्रवाह १.१९ प्रतिशतले बढेर २ खर्ब ७ अर्ब १९ करोड पुगेको थियो ।

भदौको तुलनामा असोज महिनामा यस्तो कर्जा ३.८९ प्रतिशतले बढेर २ खर्ब १५ अर्ब २५ करोड ५० लाख रुपैयाँ पुगेको थियो ।

साथै, असोजको तुलनामा कात्तिक महिनामा कर्जा प्रवाह ३.५७ प्रतिशतले बढेर २ खर्ब २२ अर्ब ९३ करोड २० लाख रुपैयाँ पुगेको थियो ।

राष्ट्र बैंककाअनुसार मंसिरदेखि भने यस्तो कर्जा प्रवाहमा कमी आएको देखिएको छ । केन्द्रीय बैंकले आयातमा कडाइ गर्न शुरु भएसँगै कर्जा प्रवाहमा पनि कमी आएको देखिन्छ ।

कात्तिकको तुलनामा मंसिर महिनामा यस्तो कर्जा ०.१७ प्रतिशतले घटेर २ खर्ब २२ अर्ब ५६ करोड रुपैयाँमा सीमित भएको थियो । त्यसैगरी मंसिर महिनाको तुलनामा पुसमा आयातका लागि हुने कर्जा प्रवाह २०.७० प्रतिशत घटेको थियो ।

कन्द्रीय बैंकले गत पुस ५ गते २० वटा वस्तुमा मार्जिनको व्यवस्था गरेको थियो । पुस महिनामा मात्रै १ खर्ब ७६ अर्ब ५० करोड रुपैयाँ मात्रै आयात कर्जा प्रवाह भएको छ ।

पुसको तुलनामा माघमा १३.१९ प्रतिशतले कर्जा प्रवाहमा कमी आइ १ खर्ब ५३ अर्ब २१ करोड ५० लाख रुपैयाँमा सीमित भएको थियो । साथै, फागुन महिनामा माघ महिनाको तुलनामा यस्तो कर्जा प्रवाह २२.०२ प्रतिशतले घटेर १ खर्ब १९ अर्ब ४८ करोड ३० लाख रुपैयाँमा सीमित भएको थियो ।

कर्जा प्रवाह कम भएपनि आयात घटेन
माघ महिनाको तुलनामा फागुन महिनामा आयातमा हुने कर्जा प्रवाह २२ प्रतिशतले घटे पनि आयात भने बढेको छ । माघ महिनामा १ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँको वस्तु आयात भएकोमा फागुन महिनामा भने १ खर्ब ६१ अर्ब २७ करोड रुपैयाँको वस्तु आयात भएको छ ।

तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनमा २ खर्ब ४ अर्ब बढी रकम कर्जा प्रवाह हुँदा १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख रुपैयाँ वस्तु आयात भएको थियो ।

साउनपछि कर्जा प्रवाह बढ्दै गएसँगै आयात पनि बढेको थियो । साउनदेखि मंसिरसम्म हरेक महिना कर्जा र आयात बढे पनि त्यसपछि कर्जा र आयात दुबै घट्न शुरु भएको थियो ।

भन्सार विभागको तथ्याङक अनुसार भदौमा १ खर्ब ६३ अर्ब ७८ करोड रुपैयाँ, असोजमा १ खर्ब ६४ अर्ब रुपैयाँ, कात्तिकमा १ खर्ब ७१ अर्ब ७७ करोड रुपैयाँ र मंसिरमा १ खर्ब ८८ अर्ब ११ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

मंसिरदेखि भने कर्जा प्रवाहसँगै आयातपनि घटेको देखिन्छ । मंसिरमा कर्जा प्रवाह कम भएसँगै पुसमा १ खर्ब ६० अर्ब ९३ करोडको रुपैयाँको वस्तु आयात भएको थियो ।


क्लिकमान्डु