आइएमएफसँग ४ अर्ब डलर ऋण माग्न श्रीलंकन गभर्नर उडे अमेरिका



एजेन्सी । संकटले समाधानको उपाय पनि खोज्छ । त्यसका लागि अनेकन उपायहरु हुन सक्छन् ।

तर, संकट कुन कारणले कसरी उत्पन्न भयो भन्ने विषय नै सबैभन्दा अहम् विषय हो ।

संकटको कारण पत्ता नलगाइ समाधान गर्न खोजियो भने त्यो केवल टालटुले विषय मात्रै बन्न जान्छ । त्यसले दीर्घकालीन समाधानको उपाय निकाल्न सक्दैन ।

शक्ति राष्ट्रको चंगुलमा विचार नपुर्याइकन फस्दा यतिबेला श्रीलकां आर्थिक संकटको चपेटामा छ । एकातिर तीव्र विकासको भोक, अर्कोतर्फ शर्तै शर्तले भरिएको पण्डोराको बाकस ।

व्यवस्था र अवस्था जे भएपनि आँखा चिम्लेर लिइएको विदेशी दातृ निकायको ऋण, अनि राजनीतिक नेतृत्वको अदूरदर्शीताको परिणाम यतिबेला श्रीलंकाले भोगिरहेको छ ।

मानिसहरुलाई लाग्न सक्छ , सबै कुरा आवश्यकताले निर्धारण गर्न सक्छ । तर, आवश्यकताको नाम दिएर घाटी नै हेर्दै नहेरी हाड मात्रै निल्ने प्रवृत्तिको शिकार भएको छ, दक्षिण एशियाको टापुको देश श्रीलंका ।

शासकको मनोमानीका कारण खान पाउनेहरु पनि यतिबेला खान नपाउनेमा परिणत भएका छन् भने खानै नपाउनेको अवस्था त झन् कसले बुझिदिने ।

रामायणकालको रावणको स्वर्ण लंका यतिबेला भीखमंगा देशमा परिणत भएको छ । किनकी, राजापाक्ष परिवारको पारिवारक सत्ताले गर्न हुने र नहुने सबै काम गर्दा समस्या समाधान नै नसकिने अवस्थामा पुगेको हो ।

स्वर्णपुरी लंका नाम बदलिएर श्रीलंका बन्न पुग्यो । बेलायती साम्राज्यबाट मुक्त भएपछि राजनीतिक स्थिरताको प्रक्रियामा कहिल्यै अगाडि बढ्न नपाएको टापु तमिल टाइगरको विद्रोहका कारण झण्डै दुई दशकसम्म बारुद र बमको धुँवामा नराम्ररी रुमल्लिएको थियो ।

चिनियाँ सहयोगमा तमिलहरुमाथि दमन गरेर नै राजापाक्ष परिवारले शान्ति र अमनचयन कायम गराएका थिए ।
खासमा अमनचयन कायम भयो वा भएन भन्ने कुरा नागरिकको मुहारबाट प्रतित हुन जान्छ ।

तर, श्रीलंकाली बुद्धमार्गी भएपनि सधै हिंसाको बाटो सम्हाल्न बाध्य भएको तथ्य कोही कसैबाट छिपेको छैन । आर्थिक संकटले पनि नजानिदो तरिकाले हिंसाको पक्षपोषण गरिरहेको छ ।

मानवीय आवश्यकता पूरा नहुनु, बिहानदेखि साँझसम्म चरम लोडसेडिङ हुनु, दैनिक गुजारा नै गर्न नसक्ने अवस्थामा पुग्नु पनि हिंसाको अर्को रुप हो । श्रीलंकाका नागरिकले यतिबेला गरिरहेको विद्रोह खान पाउनका लागि हो । दैनिक गुजारा चलाउनका लागि हो ।

सत्ता र शक्ति भन्ने विषय नै सैद्दान्तिक आवरणमा हेर्दा चरम रुपमा स्वार्थी हुन्छ । स्वार्थको घडाले कहिले आफैलाई सक्छ भने कहिले देशलाई नै सक्छ ।

त्यहाँ पनि भयो त्यस्तै । किनकी, मानिसका अजिव खालका स्वार्थले सधै स्वार्थमात्र देख्ने भएकाले समाधानको कसी भने भेट्दैन ।
नेपाली समाजमा हेर्दा कवि भूपी शेरचनले घुम्ने मेचमाथि अन्धो मान्छे शीर्षकको कविता त्यसै लेखेका थिएनन् । थाक खोलाका थकाली भएपनि सत्तामाथिको विद्रोह थियो, त्यो कविता । श्रीलंकाको हकमा पनि भूपीको सोही कविताको भाव सार्थक परिणती भएर खडा भएको छ ।

किनकी, कूल ग्राहस्थ उत्पादन भन्दा बढी ऋण लिने दुस्साहले श्रीलंकालाई नराम्ररी डुबाएको तथ्य कोही कसैबाट छिपेको छैन । भन्नलाई त भारतीय चश्माबाट हेर्दा दोष जति सबै चीनलाई नै गएको छ । तर, अवस्था भने त्यस्तो छैन ।

खासमा श्रीलंकाले चीनबाट ४ हजार मिलियन बराबर ऋण लिएको त्यहाँको विदेश मन्त्रालयले बल्ल मुख खोलेको छ । बजारको उधारो मात्रै १६ हजार मिलियन अमेरिकी डलर बराबर छ । एशियाली विकास बैंकबाट ६ हजार मिलियन बराबरको ऋण लिएको देखिन्छ भने जापानबाट ३५०० मिलियन, विश्व बैंकबाट ३२०० मिलियन, अन्य दातृ निकायबाट ३००० हजार मिलियन र भारतबाट १५०० मिलियन बराबरको ऋण लिएको देखिन्छ ।

यस्तै विश्वव्यापी रुपमा रेटिङ गराएर पनि ठूलो मात्रामा ऋण लिएको देखिन्छ । भारतीय चश्माबाट हेर्दा भने सबै चीनको ऋणका कारण डुबेको भन्ने अर्थ लगाउन सकिन्छ ।

भारतीय मिडियाले पनि चीनलाई दोष लगाउनका लागि हुने नहुने सबै खालको प्रचार गरेको तथ्यहरुले पुष्टि गरेका छन् ।

यस्तो छ आयातको तथ्यांक
अब आयात पनि हेरौ । अमेरिकी डलरमा हुने आयात सबैभन्दा बढी भने चीनबाट भएको देखिन्छ । श्रीलंकाको अर्थ मन्त्रालयको विवरण अनुसार सन् २०२० मा चीनबाट ४ हजार १ मिलियन बराबरको आयात भएको छ ।

त्यस्तै, भारतबाट ३ हजार ३२ मिलियन अमेरिकी डलर, अमेरिकाबाट ९२० मिलियन, पाकिस्तानबाट ३६१ मिलियन, जापानबाट ४५७ मिलियन, ताइवानबाट ३४८ मिलियन, थाइल्याण्डबाट ३६३ मिलियन, मलेसियाबाट ६८५ मिलियन, सिंगापुरबाट ६४८ मिलियन र इण्डोनेसियाबाट ३४२ मिलियन अमेरिकी डलर बराबरको आयात भएको देखिन्छ ।

कोरोनाका कारणले पर्यटन आवागन शुन्यमा झर्न पुग्यो । विप्रेषण आयात नराम्ररी संकुचीत भयो । तर, आयात भने लगातार बढी नै रह््यो । सोही कारण, अमेरिकी डलरको सञ्चिती घटेर न्यून बिन्दुमा पुग्यो । त्यसैको परिणाम संकट मूखर भएर आयो ।

यस्तो छ मूल्यवृद्धिको पछिल्लो विवरण
श्रीलंकाको केन्द्रीय बैंकको विवरण अनुसार सन् २०२१ को अप्रिलमा १२० रुपैयाँमा एक किलो चामल पाइन्थ्यो । त्यो अप्रिल २०२२ मा पुग्दा प्रतिकिलो २०५ मा पुगेको छ । यस्तै, प्याजको मूल्यमा ६३ प्रतिशतको बृद्धि भएको छ । एक वर्ष पहिले प्रतिकिलो २२० रुपैयाँमा पाइने प्याज हाल ३५० मा कारोबार भएको छ ।

माछाको मूल्य शतप्रतिशतले वृद्धि भएको छ । एक वर्ष पहिले प्रतिकिलो ५५ रुपैयाँमा पाइने माछा हाल ११० रुपैयाँ पुगेको छ । सेतो चिनी ११५ रुपैयाँमा पाइन्थ्यो तर हाल २२५ पुगेको छ । चिनीको मूल्य ९५ प्रतिशतले वृद्धि भएको छ । नरिवलको तेल प्रतिलिटर ५२० रुपैयाँमा पाइन्थ्यो एक वर्ष पहिले । हाल त्यसको मूल्य ८२० रुपैयाँ पुगेको छ ।

नरिवलको तेलमा मात्रै ५७ प्रतिशतको मूल्यवृद्धि भएको छ । खुर्सानी प्रतिकिलो ५५० मा पाइन्थो, तर हाल १६०० रुपैयाँ पुगेको छ । श्रीलंकाको केन्द्रीय बैंकको विवरण अनुसार खुर्सानीमा १९० प्रतिशतको वृद्धि भएको छ ।

पेट्रोल पम्पहरुमा इन्धन छैन । थर्मल प्लान्टबाट उत्पादन हुने बिजुली छैन । दैनिक १२ देखि १६ घण्टासम्म लोडसेडिङ भइरहेको छ । यो भन्दा दुरावस्था अरु के हुन सक्ला ।

आक्रोश छ, असन्तुस्टि छ अनि विषम अवस्था छ । सरकार भने तदर्थवादमा नै रमाएको छ । त्यसले समस्याको समाधान गर्न सक्दैन ।

आइएमएफको ऋण होला त वरदान ?
विदेशी ऋणै ऋणका कारण संकटमा फसेको श्रीलंका अझै ऋण लिन लागिपरेको छ । त्यहाँको सरकारले आइतबार ऋणदाताबाट कर्जा स्वीकृत गर्ने थप उपायबारे छलफलका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) मा एक प्रतिनिधिमण्डल पठाएको छ ।

त्यहाँका अर्थमन्त्री अली सबारीको नेतृत्वमा रहेको उक्त प्रतिनिधिमण्डलमा केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासिङ्हे पनि रहेको बताइएको छ । प्रतिनिधिमण्डलले आईएमएफ मुख्यालयको भ्रमण गर्ने र अबको केही दिनमा छलफल गर्नेछ ।

साबेरीले स्थानीय सञ्चार माध्यमलाई बताए अनुसार छलफल सफल भयो भने आर्थिकरूपमा संकटग्रस्त श्रीलंकामा आईएमएफबाट लगभग ४ अर्ब अमेरिकी डलर प्राप्त गर्ने आशा गरिएको छ ।

श्रीलंकाले गम्भीर आर्थिक संकटको सामना गर्दै आएको छ र विदेशी सञ्चिति दुई अर्ब डलरभन्दा तल छ । त्यहाँको अर्थ मन्त्रालयले गत मंगलबार आईएमएफद्वारा समर्थित व्यवस्थित र सहमति पुनर्गठन कार्यक्रम नराख्दासम्म सरकारले प्रभावित सबै कर्जाको सामान्य ऋण सेवालाई अस्थायी अवधिको लागि रोक्ने निर्णय गरेको थियो ।

२ करोड २० लाख मानिसलाई परेको संकट
अर्बपति समेत संकटको पासोमा परेका छन् । कूल २ करोड २० लाख जनसंख्या भएको श्रीलंका आजकल गम्भीर संकटको सामना गरिरहेको छ । अहिले सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको विश्वास गरिन्छ ।

खाद्यान्नबाहेक पेट्रोलियम पदार्थ र ग्यासको मूल्य लगातार बढिरहेको छ । खाद्यान्नको मूल्यवृद्धि पनि उत्तिकै अचाक्ली बढेको भएपनि सेनाको व्यवस्थापनमा वितरण गरिएकाले सीमा भन्दा धेरै बाहिर जान पाएको छैन ।

विगत केही महिनादेखि मुलुकको मुद्रास्फीति दोहोरो अंकमा छ । रुस र युक्रेनबीचको युद्धपछि श्रीलंकाको संकट झनै गहिरिएर गएको हो । देशमा १४ घण्टासम्मको विद्युत् कटौती हुनु आफैमा संकटको एक नमूना हो ।

बैंकका एटीएमहरु खाली छन् । एटिएमले म सँग पैसा छैन भनेको पनि लामै समय भयो । पेट्रोल पम्पहरुमा लामो लामो लाइन देखिएको छ । बन्दुकधारी सेना हरेक पेट्रोल पम्पमा पहरा दिइरहेको देखिन्छ ।

श्रीलंकाले पेट्रोल, डिजेल ग्यासदेखि चिनीसम्मका अधिकांश वस्तु आयात गर्छ । यो सबै अहिले ठप्पप्राय छ । किनकी, कुनै पनि बैंकले अत्यावश्यक वस्तुका लागि पनि एलसी खोल्न छाडेको लामै समय भयो ।

सोही कारण मुद्रास्फीति बढ्दै गएकाले दैनिक उपभोग्य वस्तुका लागि जनताले संघर्ष गर्नुपरेको छ । श्रीलंकाको केन्द्रीय बैंकका अनुसार कोरोना संक्रमण सुरु हुँदा देशमा मुद्रास्फीति दर ५ प्रतिशतभन्दा अलि बढी थियो । जुन सन् २०२२ को फेब्रुअरीसम्ममा १८ प्रतिशत पुगेको थियो ।

यो अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी हो । अत्यावश्यक वस्तुको आपूर्ति सीमित छ । त्यसैले माग बढेसँगै मुद्रास्फीति पनि बढिरहेको छ ।

सुक्खा खुर्सानीको भाउ गत वर्षको तुलनामा १९० प्रतिशतले बढेको तथ्यबाट सर्वसाधारणको खल्तीमा परेको असरको अनुमान लगाउन सकिन्छ । देशको केन्द्रीय बैंकका अनुसार २०२१ अप्रिलमा श्रीलंकामा एक किलो स्याउ ५५ रुपैयाँमा उपलब्ध थियो, अहिले ११० रुपैयाँमा पर्न गएको छ ।

अघिल्लो वर्ष ५ सय २० रुपैयाँमा प्रतिलिटर पाइने नरिवलको तेल अहिले ८ सय २० रुपैयाँमा पाइने भएको छ । श्रीलंकाली मिडिया रिपोर्टका अनुसार मानिसले अत्यावश्यक चीजहरू जम्मा गर्न थालेका छन् । यही कारण धेरै क्षेत्रका सुपरमार्केटहरू पूरै खाली भएका छन् । विश्लेषकहरुका अनुसार आगामी दिनमा संकट बढेमा जनताले एक पटकको खाना त्याग्नु पर्ने हुन्छ ।

श्रीलंका विश्वमा सबैभन्दा बढी आवश्यक वस्तुहरू आयात गर्ने देश हो । अर्गनाइजेसन फर इकोनोमिक कर्पोरेशन एण्ड डेभलपमेन्ट (ओईसीडी) का अनुसार श्रीलंकाले सन् २०२० मा १.२ बिलियन डलरको पेट्रोलियम आयात गरेको थियो ।
श्रीलंकाले कपडा, औषधिको कच्चा पदार्थ र गहुँदेखि चिनीसम्म सबै आयात गर्छ ।

सन् २०२० मा, श्रीलंकाले २१४ मिलियन डलर बराबरको कार आयात गरेको थियो । जबकि ३० करोड ५० लाख डलरको टेट्राप्याक दूध आयात भएको थियो । श्रीलंकाले अधिकांश सामान चीन र भारतबाट आयात गर्छ । अहिलेको संकटमा पनि श्रीलंकाले चीन र भारतसँग सहयोग मागेको छ ।

फेब्रुअरी २०२२ मा श्रीलंका पुगेका ७० प्रतिशत पर्यटक युरोपबाट आएका थिए । सरकारको मासिक पर्यटन प्रतिवेदनअनुसार फेब्रुअरीमा १५ हजार ३ सय ४० रुसी नागरिक श्रीलंका पुगेका थिए । यो कुनै पनि देशबाट आउने पर्यटकको सबैभन्दा ठूलो संख्या थियो ।

तर, युक्रेनमा रुसले आक्रमण गरेपछि रुसी पर्यटकको आगमनमा कमी आएको छ । यसअघि कोभिड संकटका कारण श्रीलंकाको पर्यटन उद्योग ध्वस्त भएको थियो ।रुस र युक्रेनबीचको द्वन्द्वपछि पेट्रोलियमबाहेक गहुँलगायत अन्य खाद्यान्नको मूल्य बढेको छ । बढ्दो व्यापार घाटाका कारण श्रीलंकाली रुपैयाँ डलरको तुलनामा अवमूल्यन भइरहेको छ ।

समाधानका अनेकन उपायहरु खेज्ने क्रममा सरकारले प्राथमिकता निर्धारण गर्न नसकेको विवरण पनि सार्वजनिक भएका छन् । मानिसहरुमा विल्कुल आशा बाँकी छैन । उनीहरु निराश भएका छन् । निराश नागरिक नै विद्रोहमा खास परिचायक हुन् । अब सरकारले कति दिनसम्म थामेर राख्न सक्छ, त्यो नै महत्वपूर्ण भएको छ । राज्य नै सकिने अवस्थामा पुग्दासम्म पनि स्वार्थ टकराइरहेको छ ।

राजापाक्ष परिवार र पूर्व राष्ट्रपति मैत्रीपाल सिरसेनाको पार्टीले अझै पनि समान धारणा देश र जनताको हितका लागि बनाउन सकेका छैनन् । एउटै डुंगामा सयर गरेपछि एउटा पक्ष त्यसैमा प्वाल पार्न लाग्यो भने त्यसले विपक्षीलाई मात्रै डबाउँदैन, सबैलाई डुबाउँछ । यतिबेला पनि भएको त्यही छ ।

तर, समाधानको उपाय खोज्न गम्भीर छलफलमा जुट्नुपर्ने सरोकारवाला निकाय स्वार्थको दंगलमा फसेका छन् । अब इमान्दार भएर निष्कर्ष निकाल्न को अगाडि सर्ला, विषय भने त्यतैतर्फ केन्द्रित भएको छ ।


क्लिकमान्डु